काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले १५औँ महाधिवेशन समयमै हुने भएकाले अहिले चिन्ता नलिन कार्यकर्तालाई अनुरोध गरेका छन् ।
मकवानपुरमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले बीपी कोइरालाले मेलमिलापको प्रस्ताव लिएर भारतबाट आएको दिनलाई स्मरण गर्दै पार्टीभित्र त्यसलाई साँघुरो बनाउन नहुने थापाको धारणा थियो ।
उनले पार्टीभित्रको मेलमिलाप र एकतालाई मात्रै लिएर बीपीलाई सम्झिने हो भने अन्याय हुने उनको धारणा थियो ।
“पार्टीभित्रकै केही कटु अनुभव छन्,” थापाको भनाइ थियो, “मेलमिलाप भनेपछि कटुता हटाउँदै जाने प्रक्रिया हो । मेलमिलाप दिवस भनेको दिनको परिभाषा र महत्वलाई हाम्रो घरभित्रको होइन । घरभित्र सीमित पार्ने हो भने बीपीप्रति अन्याय हो ।”
उनले १५औँ महाधिवेशन पनि समयमै हुने भएकाले महाधिवेशन र ०८४ को भन्दा अहिले गर्ने कामलाई बढी प्राथमिकतामा राख्न कार्यकर्तालाई निर्देशन दिए ।
“महाधिवेशन हुन्छ कि हुँदैन भनेर किन रुवाबासी हुन्छ ? आनन्दले हुन्छ,” उनले भने, “महाधिवेशन समयमै हुन्छ । महाधिवेशनका बारेमा धेरै चर्चा पनि नगरौँ । नेतृत्वको चर्चा पनि नगरौँ । ०८४ पनि अहिलेलाई बिर्सौँ । जनताको अघि समस्या छन् । समाधानका उपाय छन् । पहिले त्यहाँ काम गरौँ ।”