site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सरकारी निकायको काम– ‘सूर्य फ्युजन’ बजारबाट उठाएको एक महिनापछि अनुगमन !

काठमाडौं । सूचना पाएको एक महिनापछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूर्य नेपालको आधिकारिक डिलर एबीसी मार्केटिङमा अनुगमन गरेको छ । 

अनामनगरको एबीसी मार्केटिङमा सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलसहितको टोलीले बिहीबार अनुगमन गरेको हो । 

‘कानुन लत्याउने’ सूर्य नेपालमाथि कारबाही गर्न जनस्वास्थ्यलाई जिल्ला प्रशासनको पत्र 

Argakhachi Cement Island Ad

‘सूर्य फ्युजन’ चुरोट बेच्न बजारमा उपाहारस्वरूप ‘फ्रि फ्लो’ छुट्टै बट्टा बाँडेको समाचार बाह्रखरीमा प्रकाशित भएपछि प्रशासन र जनस्वास्थ्य कार्यालय काठमाडौंले चासो राखेको थियो । चासो राखेको एक महिनापछि मात्रै ती निकायले अनुगमन गरेका हुन् ।

समाचार प्रकाशितलगत्तै सूर्य नेपालले बजारमा पठाएका गैरकानुनी चुरोटका बट्टा उठाइसकेको थियो ।

जिल्ला प्रशासनले जिल्ला जनस्वास्थ्य कार्यालयसँग समन्वय गर्दागर्दै एक महिना लागेको बताउँदै अनुगमनमा त्यसपछिमात्रै पुगेको जानकारी दिएको छ ।

सूर्य नेपालको गैरकानुनी क्रियाकलापप्रति के गर्दैछ प्रशासन र कर कार्यालय ?

अनुगमनमा सहायक प्रमुख जिल्ला अधिकारी पौडेल, जनस्वास्थ्य कार्यालय काठमाडौंकी जनस्वास्थ्य अधिकृत अनिता खनाल, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत दिपेन्द्र पौडेल लगायत थिए । 

उनीहरूले सूर्य नेपालबाट उत्पादन हुने चुरोट तथा कम्पनीका कागजातबारे जानकारी लिएका थिए । सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले आफूहरूले सूर्य फ्युजन चुरोट बिक्री गर्न उपहारस्वरूप स्वास्थ्यसम्बन्धी मापदण्ड पूरा नगरेको ‘फ्री फ्लो’ बट्टा बजारमा वितरण गरिएको जानकारी पाएकाले त्यसबारे सोधपुछ र अनुगमन गर्न आएको बताए । 

सूर्य नेपालका डिलरबाट ल्यापटप र कागजपत्र राजस्व कार्यालयले नियन्त्रणमा लियो, उपाध्यक्ष केसी विभाग धाउँदै

त्यही क्रममा एबीसी मार्केटिङका जनरल मेनेजर गोविन्द श्रेष्ठले सूर्य फ्यूजनमा उपहार दिएको विषय ठूलो बनेको बताए । आफूहरूले सूर्य नेपालका उत्पादन बजारमा पठाउने भए पनि मार्केटिङको लागि ऐन विपरीतका काम नगरेको श्रेष्ठले बताए । तर, कम्पनीहरूले नयाँ उत्पादन बजारमा ल्याउनुपूर्व सेम्पलिङको रूपमा बजारमा वितरण गर्ने गरेको श्रेष्ठको भनाइ छ ।

“हामी सूर्य नेपालको आधिकारीक डिलर हौं । कम्पनीले हामीलाई केही सटेन एरिया दिएको हुन्छ,” श्रेष्ठले सरकारी अधिकारीहरूसित भने, “काठमाडौंमा हामी जस्तै ६–७ वटा डिस्टिब्युटर छन् । सूर्य फ्युजन नयाँ ब्राण्ड हो । यस्ता ब्राण्ड प्रमोसन गर्ने काम कम्पनीले नै गर्छ । ती ब्रान्ड प्रमोसन गर्न कम्पनीले चाख्नुहोस् त भनेर बजारमा दिएको हुन सक्छ ।” 

कम्पनीले नै ब्रान्डिङको लागि नमूना बजारमा पठाउने श्रेष्ठले बताए । तर, सूर्य फ्युजन किन्दा उपहारै भनेर बजारमा अहिले यस्ता बट्टा नपाइने उनी बताउँछन् । 

सूर्य नेपालको करछली आशंकामा अनुसन्धान, कर अधिकृत गोदाममै पुगे  

“पाँच खिलीको ‘फ्री फ्लो’ बट्टा पाइयो भनेर मैले बाह्रखरीको समाचारबाट थाहा पाएको हुँ । त्यसैसम्बन्धी ट्याक्स अफिसबाट पनि अनुगमन आयो,” उनले अधिकारीहरुसित भने, “हामीले राजस्व कार्यालयमा गएर बयान पनि दिएर आइसक्यौंं । बजारमा यस्ता गतिविधि भएका हुन्छन् । तर, कानुनले दिँदैन । अरू कम्पनीले पनि गरिरहेका छन् ।”  

श्रेष्ठकै भनाइले पनि नयाँ ब्रान्डलाई सूर्य नेपालकै पहलमा प्रमोसन गर्न स्वास्थ्य सम्बन्धी मापदण्ड पुरा नगरी छुट्टै बट्टामा चुरोट वितरण गरेको स्पष्ट देखिन्छ । किराना पसलका सञ्चालक पनि सूर्य नेपालबाट चुरोट ल्याइदिनेहरूले नै उपहार स्वरूप ‘फ्री फ्लो’ बट्टा दिएको बताउँछन् । 

तर, यसरी स्वास्थ्य सम्बन्धी ऐन र नियमावलीले नै बन्देज गरेको कुरालाई कम्पनी प्रमोसनको रूपमा गर्न नपाउने जनस्वास्थ्य अधिकृत खनालले बताइन् ।

कानुन लत्याउँदै सूर्य नेपाल : ‘सूर्य फ्युजन’ चुरोट बेच्न गैरकानुनी हतकण्डा 

सूर्य नेपालको उत्पादन ‘सूर्य फ्युजन’को विषयमा प्रशासनमा उजुरी आएकाले कम्पनीको आधिकारिक डिलर एबीसी मार्केटिङमा जनस्वास्थ्य कार्यालयका अधिकृतसहितको टोलीले अनुगमन गरेको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । अन्य स्थान र कम्पनीका उत्पादनमा भने निगरानी राख्ने पौडेल बताउँछन् । 

सूचना पाउने वित्तिकै अनुगमन गर्न नसक्दा कम्पनीले उठाएर लगिसकेको पाइएको उनको भनाइ छ ।  यसअघि आन्तरिक राजस्व विभागले राजस्व छली गरेको आशंकामा काठमाडौं उपत्यकाभरिका सूर्य नेपालका डिलरमा छापा मारेको थियो । 
 

प्रकाशित मिति: शुक्रबार, पुस १९, २०८१  ०९:३२
प्रतिक्रिया दिनुहोस्