काठमाडौं । साइबर सुरक्षाको ठूलो जोखिम बनेको एक प्रकारको मालवेयर रेनसमवेयरको प्रयोग भएको ३५ वर्ष पुगेको छ । कुनै पीडितको कम्प्युटर उपकरणलाई इन्क्रिप्ट गरेर फिरौती रकम माग्न रेनसमवेयरको प्रयोग हुन्छ ।
रेनसमवेयरमार्फत ह्याकर वा साइबर ठगले प्रयोगकर्तालाई आफ्नै उपकरणमा रहेको डाटामा पहुँच पाउनबाट रोकिदिन्छ । प्रयोगकर्ताले फिरौती रकम तिरेपछि मात्रै आक्रमणकारीले पहुँच उपलब्ध गराइदिन्छ ।
सन् १९८० को दशमा साइबर अपराधीहरूले कुनै पनि व्यक्तिको कम्प्युटर डिभाइसमा फाइल लक र अनलक गर्न यसको प्रयोग गर्थे ।
यसै डिसेम्बर १२ मा यो टेक्नोलोजी ३५ वर्ष पूरा भएको छ । अहिले आक्रमणकारीहरूले सजिलै र ठूलो दायरामा रेनसमवेयर आक्रमण गर्छन् र अर्बाैं रुपैयाँ फिरौती माग्छन् ।
ब्लकचेनको विश्लेषण गर्ने फर्म चेनालाइसिसका अनुसार, साइबर अपराधीहरूले सन् २०२३ मा रेनसमवेयर आक्रमण गर्दै पीडिकहरूबाट एक अर्ब रुपैयाँ फिरौती उठाएका छन् ।
अत्याधुनिक इन्क्रिप्सन, आईपी एड्रेस लुकाउन ब्लकेचनजस्ता एनोनोमस नेटवर्क प्रयोग हुने, हरेक आक्रमणमा नयाँ भेरियन्ट निक्लिनेदेखि विभिन्न किसिमका फाइल तथा एक्सटेन्सनमार्फत प्रयोगकर्ताको डिभाइसमा पहुँच बनाउँने हुँदा यो डिटेक्ट गर्न जटिल हुन्छ ।
कसरी भयो उत्पत्ति ?
रेनसमवेयरको आक्रमण पहिलोपटक सन् १९८९ मा भएको मानिन्छ । त्यतिबेला एक ह्याकरले फ्लपी डिस्क भौतिकरूपमा एक घरमा पठाएको थियो ।
उक्त डिस्कमा सफ्टवेयर रहेको र त्यसले एड्स लाग्ने जोखिम भए/नभएको पत्ता लगाउन मद्दत गर्ने भनेर लेखिएको थियो । तर, उक्त सफ्टवेयर इन्स्टल गर्दा ९० पटक रिबुट भएर कम्प्युटरमा रहेका फाइल तथा डाइरेक्टरी नै हराएका थिए ।
त्यसपछि कम्प्युटरमा फाइल र डाइरेक्टरी पुनर्स्थापित गर्न पानामाको एक ठेगाना दिँदै चेक पठाउन फिरौती सन्देश देखिएको थियो ।
उक्त प्रोग्राम वा घटनालाई साइबर सुरक्षा क्षेत्रमा एड्स ट्रोजन भनेर चिनिएको थियो ।
यसलाई नै पहिलो रेनसमवेयर आक्रमणको उदाहरण मानिएको छ । यो घटनामा हार्वड विश्वविद्यालय पढेका जीववैज्ञानिक जोसेफ पप पक्राउ परेका थिए । सन् २००६ मा मृत्यु भएका उनले एड्सबारे अनुसन्धानको खर्च जुटाउन यस्तो गरेको भनिएको थियो ।
त्यसपछि सन् २००४ मा केही रुसी नागरिक रेनसमवेयरको सिकार भएका थिए । सन् २०१० यता आक्रमणकारीले क्रिप्टोकरेन्सीमार्फत फिरौती माग्न थालेका थिए ।
पछिल्ला वर्षमा निकै धेरै रेनसमवेयर आक्रमण हुन थालेका छन् । साइबर सेक्युरिटी भेन्चर्सले रेनसमवेयर आक्रमणबाट सन् २०३१ सम्म वार्षिक २६५ अर्ब अमेरिकी डलरसम्मको ठगी हुने अनुमान गरेको छ ।