
काठमाडौं । इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडको व्यापार ७.७ प्रतिशत बढेको छ ।
गत वर्ष कम्पनीले ११ अर्ब १२ करोड ८० लाख रुपैयाँ व्यापार गरेको छ । अघिल्लो वर्ष सन् २०२३ मा वर्ल्डलिंकको इन्टरनेट व्यापार १० अर्ब ३३ करोड २० लाख रुपैयाँ थियो ।
एक वर्षको अवधिमा कम्पनीको इन्टरनेट व्यापार ७९ करोड ६० लाख रुपैयाँ बढेको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ । सन् २०२२ मा कम्पनीले नौ अर्ब ३९ करोड रुपैयाँको व्यापार गरेको थियो ।
पछिल्लो तीन वर्षको वित्तीय विवरण हेर्दा वर्ल्डलिंकको इन्टरनेट व्यापार बढ्दै गएको छ । यो वर्षको नौ महिनामा कम्पनीले आठ अर्ब ७२ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको जनाइएको छ ।
गत वर्ष गरेको कुल व्यापारमध्ये आईएसपी सेवाको बिक्रीबाट ५०, अनुगमन तथा प्राविधिक सहयोगबाट ४२ र बाँकी ८ प्रतिशत सेवा, उपकरण र अरू बिक्रीबाट आम्दानी भएको कम्पनीले जनाएको छ ।
कम्पनीले तीन अर्ब ९४ करोड ६० लाख रुपैयाँ ऋणको रेटिङ गराएको छ । नेपालको इन्टरनेट बजारमा वर्ल्डलिंकको हिस्सा ३२ प्रतिशत पुगेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले प्रकाशित गरेको प्रतिवेदनानुसार कुल इन्टरनेट ग्राहक आधार ३१ लाख ३० हजार ६५५ पुगेको छ ।
कम्पनीले विगत केही वर्षदेखि बजार विस्तारका निम्ति नयाँ स्थानमा नेटवर्क पूर्वाधार स्थापना गर्न उल्लेखनीय पुँजीगत खर्च गरेको छ । कम्पनीले हाल देशभरि डाटा सेन्टर परियोजना विकास गर्न छुट्टै कम्पनी स्थापना गरेको छ ।
वर्ल्डलिंकमा तीन अर्ब विदेशी लगानी
हालसम्म कम्पनीमा कुल विदेशी लगानी दुई अर्ब ९८ करोड रुपैयाँ पुगेको छ । सन् २०२३ जनवरी र २०२३ मार्चमा क्रमशः ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्ट (बीआइआई)बाट एक अर्ब आठ करोड र डोल्मा इम्प्याक्ट फन्डबाट ९० करोड रुपैयाँको ‘सिरिज बी’ लगानी प्राप्त गरेको छ । यो समेत गरी वर्ल्डलिंकमा विदेशी लगानी झन्डै तीन अर्ब रुपैयाँ पुगेको हो ।
यस्तै, कम्पनीले फिनफन्डसँग एक करोड युरोबराबरको प्रत्यक्ष विदेशी लगानीका निम्ति सम्झौता गरेको छ । वैदेशिक लगानीबाट प्राप्त रकम नेटवर्क पूर्वाधार विस्तार गर्न प्रयोग भइरहेको कम्पनीले जनाएको छ ।
बीआइआई बेलायत सरकारको विकास वित्त संस्था हो । डोल्मा इम्प्याक्ट फन्ड एक संस्थागत लगानीकर्ता छ । बलियो उद्यमशीलता र व्यवस्थापन क्षमता भएका साना तथा मझौला उद्यमलाई लगानी सहयोग गर्न स्थापित पहिलो व्यावसायिक इम्प्याक्ट फन्ड हो ।
सन् २०१८ मा कम्पनीले फिनिस बहुराष्ट्रिय आईटी पूर्वाधार फर्म नोकियासँग साझेदारी गरेको थियो । साझेदारीबाट १० लाख नेपाली घरपरिवारसम्म पुग्न ‘फाइबर टु होम’ नेटवर्क विस्तार गरिएको थियो ।
सन् १९९६ मा स्थापित वर्ल्डलिंक साधारण सेयर (आईपीओ) निष्कासन गर्न पब्लिक लिमिटेडमा परिणत भएको छ ।