
काठमाडौं । चीनले सन् २०२५ मे २८ मा प्रक्षेपण गरेको तियानवेन २ अन्तरिक्षयानले अन्तरिक्षबाट पहिलोपटक तस्बिर पठाएको छ । यसलाई ‘कामोओआलेवा’ नामक रहस्यमय क्षुद्रग्रह अध्ययन गर्ने मिसनमा एक महत्त्वपूर्ण क्षण मानिएको छ ।
उक्त अन्तरिक्षयानको यात्रा हालसम्म सफलतापूर्वक अगाडि बढेको छ । यसले पहिलो वास्तविक तस्बिर यही जुन ७ मा पृथ्वीमा पठाइएको डेलीग्यालेक्सी डटकमले जनाएको छ ।
अन्तरिक्षयानको एक सौर्य प्यानल देखाउने यो तस्बिरले त्यहाँको पहिलो आधिकारिक झलक प्रदान गरेको चिनियाँ राष्ट्रिय अन्तरिक्ष प्रशासनले जनाएको छ ।
यो कार्यले अन्तरिक्षयानको सञ्चालन सफलता र यसको युगान्तकारी मिसनका बारेमा थप जानकारी दिने जनाइएको छ ।
चीनको बढ्दो अन्तरिक्ष महत्त्वाकांक्षाको एक भाग तियानवेन २ ले पृथ्वीका सात क्वासि–मुनमध्ये एक कामोओआलेवाको अध्ययन गर्ने लक्ष्य राखेको छ । यी वस्तु पृथ्वी वरिपरि कक्षामा छन्, तर वास्तविक चन्द्रमा होइनन् ।
कामोओआलेवाले वर्षौंदेखि वैज्ञानिकलाई आश्चर्यमा पारेको छ । यसको कारण के हो भने, पृथ्वी वरिपरि घुम्ने त्यसको मार्ग अनौठो छ । र, धेरै पहिले भएको ठक्करका कारण बनेको चन्द्रमाको एक टुक्रा हो भन्ने दाबी धेरैले गर्छन् ।
लोङ मार्च ३ बी रकेटमा प्रक्षेपण गरिएको उक्त अन्तरिक्षयानमा क्षुद्रग्रहको संरचना, आकार र विशेषता अध्ययन गर्न विभिन्न वैज्ञानिक उपकरण समावेश छन् । तियानवेन २ ले सन् २०२७ को अन्त्यमा नमुना संकलन गरी पृथ्वीमा फर्कनुअघि कामोओआलेवा वरिपरि धेरै महिनासम्म डेटा संकलन गर्नेछ ।