काठमाडौं । प्रथम नीता स्मृति राष्ट्रिय उसु (सान्दा) प्रतियोगिता–२०८१ कैलालीमा सुरु भएको छ । सुदूरपश्चिम प्रदेश उसु संघको आयोजनामा तथा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को प्रवर्धनमा सुरु भएको प्रतियोगिताको उद्घाटन सुदूरपश्चिम प्रदेश सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले गरेकी थिइन् ।
नैनादेवी रोड खुल्लामञ्च धनगढीमा सुरु प्रतियोगितामा पहिलो दिन चार वटा खेल भएका छन् ।
४८केजी पुरुष समूहमा लुम्बिनी प्रदेशलाई हराउँदै सुदूरपश्चिम प्रदेशका दीपक चौधरी फाइनल प्रवेश गरेका छन् । यसैगरी महिला ७० केजी तौल समूहमा गण्डकीलाई हराउँदै नेपाल प्रहरीका आयुसा महर्जन अर्को चरणमा प्रवेश गरेकी छन् । विभागीय नेपाल प्रहरी टिमसहित सात प्रदेशका १५० खेलाडीको सहभागिता रहेको छ ।
सो अवसरमा स्व. राष्ट्रिय उसु खेलाडी नीता खड्काको परिवारलाई आयोजक सुदूरपश्चिम प्रदेश उसु संघद्वारा एक लाखसहित सम्मान गरिएको छ ।
यस्तै, उद्घाटन सत्रमा विभिन्न खेलाडी र प्रशिक्षकलाई सम्मान गरिएको छ । अन्तर्राष्ट्रिय खेलाडी एलिसा खाती, राष्ट्रपति रडिङ शिल्डमा लगातार तीनपटक स्वण पदक विजेता सम्झना चौधरी, स्व. नीता खड्काका प्रशिक्षक प्रेमबहादुर विकलाई ११ हजार नगदसहित सम्मान गरिएको छ ।