काठमाडौं । यही पुस १० गते क्रिसमसको रौनक । मानिस क्रिसमसको माहोलमा रमाइरहेका थिए । तर, क्रिसमसको रमाइलो सकिँदा नसकिँदै सामाजिक सञ्जाल फेसबुक र टिकटकमा एउटा भिडियो सार्वजनिक भयो । जुन भिडियोले अहिले सामाजिक सञ्जाल तातेको छ ।
एक मिनेट लामो उक्त भिडियोमा सेतो सुरुवाल लगाएका दुई बालिका मञ्चमा देखिन्छन् । मञ्चअगाडि दर्शक खचाखच भरिएका छन् । ती दुई बालिका मञ्चमा लजाएको जस्तो देखिन्छन् । उनीहरूले आफ्नो हातले छाती छोप्दै गरेको देखिन्छ । तर, उनीहरू कम्मर माथि निर्वस्त्र हुन्छन् । सयौं दर्शकका अगाडि उनीहरूको शरीरको माथिल्लो भागमा लुगा देखिँदैन ।
बालिका अर्धनग्न देखिएको उक्त भिडियो धरानको चर्चमा क्रिसमसका दिन प्रस्तुत गरिएको नाटकको ‘क्लिप’ भन्दै सामाजिक सञ्जालमा अझै पोस्ट भइरहेको छ ।
बालिकाहरू अर्धनग्न अवस्थामा मञ्चमा उभिएर अभिनय गरिरहेको भिडियो पहिलोपटक "kalpanakhadka09gmallll" नाम टिकटक आईडीबाट पोस्ट गरिएको थियो । टिकटकमा खोज्दा हाल यो नामको प्रोफाइल भेटिँदैन ।
त्यही भिडियो टिकटकबाट तानेर नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायले आफ्नो फेसबुकमा राखे । उपाध्यायले फेसबुकमा राखेपछि भिडियो ‘भाइरल’ भयो ।
भिडियो राखेको पाँच दिनपछि पुस १५ गते उनै उपाध्यायले फेसबुकमा लेखे, “धरानमा गत ख्रीष्टमस (क्रिसमस)को उपलक्ष्यमा बाइबलीय नाटक मञ्चन गर्ने क्रममा किशोरीहरूलाई स्टेजमै नंग्याएर प्रस्तुत गर्ने, स्टेज पछाडि अनैतिक क्रियाकलाप गर्ने चर्च र पास्टरको विरुद्धमा पीडित किशोरीहरूले सुनसरी जिल्ला प्रशासन कार्यालयमा कार्यवाहीका लागि उजुरी दिएका छन् ।”
योसँगै उनले उजुरीको व्यहोरा लेखिएको एउटा फोटो पनि पोस्ट गरेका छन् । उक्त फोटोमा निवेदकको नाम छोपिएको छ । चर्चको नाम ‘होसना बापिटस’ लेखिएको छ । र, बालिकामाथि दुर्व्यहार गर्ने पास्टरको नाम परिवर्तित भन्दै ‘डेभिड लिम्बु’ लेखिएको छ ।
हामीले सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीलाई ‘तपाईंको कार्यालयमा उजुरी परेको हो ?’ भनेर सोध्यौँ । उनले त्यसबारे जिल्ला प्रशासन कार्यालयमा कुनै उजुरी नपरेको बताए । उनले भने, “हामीकहाँ त्यस्तो कुनै उजुरी परेको छैन ।”
त्यस्तो उजुरी गरिएको भन्दै फेसबुकमा पोस्ट हुन थालेपछि आफूले जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय धरानमा समेत बुझेको उनले बताए । प्रजिअ तिवारीले भने, “उजुरी परेको भनेर फेसबुकमा फोटो आउन थालेपछि मैले इलाका प्रहरी, जिल्ला प्रहरी सबैतिर बुझेँ । तर, कतै उजुरी परेको छैन ।”
कहाँबाट आयो उजुरी ?
जिल्ला प्रशासन कार्यालयले त्यसबारे उजुरी नै नपरेको जानकारी गराएपछि हामीले उक्त फोटो फेसबुकमा राख्ने भीम उपाध्यलाई सोध्यौँ । उनले आफूले पनि त्यो फोटो रामचन्द्र ढकाल नाम गरेका व्यक्तिबाट प्राप्त गरेको बताए । त्यसपछि हामीले रामचन्द्र ढकाललाई फोन गरेर उजुरीका बारेमा सोध्यौँ । ढकालले पनि उक्त फोटो आफूले सामाजिक सञ्जालमा गोपाल पाल्पाली आचार्य नाम गरेका व्यक्तिको पोस्टबाट लिएको बताए ।
अनि, हामीले गोपाल पाल्पाली आचार्यलाई सोध्यौँ । उनले पनि उजुरीको व्यहोरा लेखिएको फोटो ‘ईसाइकरणविरुद्ध जनजागृति अभियान (People's Awareness Campaign Against Jhole) नामक फेसबुक ग्रुपबाट डाउनलोड गरेको बताए । उक्त ग्रुपमा ‘अहम् ब्रहाश्मि’ नामक आईडीबाट उजुरीको व्यहोरा लेखिएको फोटो पोस्ट भएको उनले बताए ।
उक्त ग्रुपमा ‘अहम् ब्रहाश्मि’ नामक आईडीबाट पुस १५ गते बिहान ८ बजेर २९ मिनेटमा उजुरीको व्यहोरा लेखिएको फोटो पोस्ट भएको देखिन्छ । सोही आईडीलाई हामीले त्यसबारे प्रश्न गर्यौँ । अहम् ब्रहाश्मिले जवाफ दियो, “मैले पनि सामाजिक सञ्जालमै भेटेको हो ।”
बालिका अर्धनग्न भएको भिडियो के हो ?
उजुरीको व्यहोरा लेखिएको फोटोमा बालिकालाई अर्धनग्न बनाइएको चर्चको नाम ‘होसना बापिटस’ उल्लेख छ । तर, बालिका अर्धनग्न भएर अभिनय गरेको भिडियो धरान उपमहानगरपालिका–११ स्थित हिसप चर्चको हो । सोही चर्चका एक सदस्य रामबहादुर सुनुवार (रुबेन सुनुवार)का अनुसार, बालिका अर्धनग्न भएर नृत्य गरेको भिडियो क्रिसमसको दिनको होइन ।
उनले बाह्रखरीसँग भने, “त्यो भिडियो क्रिसमसको दिनको होइन । त्यो भिडियो २९ मंसिरको हो ।”
हिसप चर्चमा मंसिर २९ गते अभिभावक दिवस कार्यक्रम आयोजना गरिएको थियो । सुनुवारका अनुसार, चर्चमा हरेक वर्ष अभिभावक दिवस कार्यक्रम आयोजना गरिन्छ । चर्चमा आबद्ध अभिभावकका बालबालिका सम्मिलित बालमण्डली हुन्छ । “बालमण्डलीले हरेक वर्ष अभिभावक दिवस मनाउँछ,” सुनुवारले भने, “बालिकाहरूको भिडियो सोही दिनको हो ।”
सुनुवारका अनुसार, भिडियोमा देखिएका बालिकामध्ये एक सात र अर्की आठ वर्षीया हुन् । बाइबलको कथाअनुसार मान्छेको उत्पत्ति देखाउने नाटक मञ्चन गर्ने क्रममा बालिकाहरू अर्धनग्न भएको उनले सुनाए ।
टिकटकमा भिडियो सार्वजनिक गर्ने कल्पना खड्का पनि हिसप चर्चकै सदस्य भएको उनले बताए । सुनुवारले भने, “उहाँ (कल्पना खड्का)ले पनि भिडियो राम्रो लागेर टिकटकमा हाल्नुभएको हो ।”
बालिका अर्धनग्न भएको भिडियो सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भएपछि आफूहरू पनि तनावमा रहेको उनले बताए । “हामी धरानमा भएका सबै चर्चका मान्छेहरू बसेर यस विषयमा माफी पनि मागिसकेका छौँ,” सुनुवार भन्छन्, “हाम्रो उद्देश्य नराम्रो होइन । तर, बालिबालिकालाई त्यसरी मञ्चमा प्रस्तुत गर्न हुन्थेन । यसका लागि हामी क्षमा माग्छौँ ।”
फेसबुकमा उजुरी भनिएको फोटो सार्वजनिक भएपछि आफूहरू बालिकाका अभिभावकसहित जिल्ला प्रशासन कार्यालय सुनसरी पुगेको पनि उनले बताए । “ती नानीहरूका अभिभावकसहित हामी आज (पुस १६) सीडीओ अफिस पनि पुग्यौँ,” उनले भने, “सीडीओ सरले उजुरी परेको छैन भन्नुभएको छ ।”
अभिभावक र बालिकाले उजुरी नदिएको उनले जिकिर गरे । कसैले नक्कली अभिभावक बनेर उजुरीको व्यहोरा लेखेर फेसबुकमा फोटो राखेको उनको अनुमान छ ।
बालबालिकासम्बन्धी ऐन, २०७५’ मा बालबालिकाको यौनांग देखिने गरी वा काल्पनिक यौन क्रियाकलापमा संलग्न गराई भिडियो वा तस्बिर सार्वजनिक गर्नुलाई ‘बाल अश्लीलता’ भनिएको छ । बालबालिकाको चरित्रमा आघात पार्ने, निजलाई लाज, ग्लानि वा अवहेलना हुने किसिमको अनुभव, सूचना र विवरणसँगै फोटो, भिडियो सार्वजनिक गर्न नपाइने उक्त ऐनमा व्यवस्था छ ।