रुकुम पूर्व । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले वर्तमान केपी ओली नेतृत्वको सरकारसँग नेपाली कांग्रेस र एमालेकै नेताहरु वाक्क हुन थालेको बताएका छन् । रुकुम पूर्वको भूमे गाउँपालिकामा भएको माओवादीको अधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले वर्तमान सरकारप्रति जनतामा पनि घृणा बढ्दै गएकाले कांग्रेसका नेताहरुले विकल्पमा छलफल गर्ने प्रस्ताव ल्याएको बताए ।
"एमालेका नेताहरु आएर बीआरआई पनि भयो अब कम्युनिष्टहरु मिलौं भन्नेजस्तो कुरा गरेर कांग्रेस तर्साउन खोज्नुहुन्छ । कांग्रेसका नेताहरु आएर कतिन्जेल बोक्ने हो ? एमालेको, ओलीजीका हप्तैपिच्छे एउटा–एउटा काण्ड आउँछ, हामी कति दिन बोक्ने हो ? भन्नुहुन्छ । उहाँहरु विकल्पमा छलफल गरौं भन्न खोज्नुहुन्छ । हामी रहर गर्नुभएको छ बोक्नुस, भनिरहेका छौं," उनले भने, "तर हामी कांग्रेसको विकल्प एमाले र एमालेको विकल्प कांग्रेस भनेर पात्र फेर्ने र विचौलियाहरुको स्वार्थमा काम गर्ने सरकार बनाउन चाहदैनौं । यो हाम्रो प्रतिवद्धता हो ।"
पूर्व अर्थमन्त्रीसमेत रहेका उपमहासचिव पुनले माओवादी आगामी २०८४ सालमा हुने चुनावसम्म सरकारमा नजाने बताए ।
"हामी अब सरकारमा जाने होइन । ०८४ सम्म जादैनौं भनेका छौं । सडक र सदनबाट जनताका मुद्दा उठाउँछौं । अव हामी समाजवादी गणतन्त्रको विकल्पसहित हामी सरकारमा भएका स्थानीय तहहरुमा काम गर्छौं । हिजो हामी क्रान्तिकारी शक्ति थियौं । कांग्रेस एमालेसँग मिल्दा उनीहरुजस्तै हो कि भनेजस्तो देखियो । तर होइन । हामी समाजवादी गणतन्त्रका लागि काम गर्छौं," उनले भने ।