site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
सिउँडीका झ्याङ सम्झाउने दुःख

नेपाली किसान माटोमै जन्मन्छ, माटोमै हुर्कन्छ र माटोमै मर्छ भने झैँ प्रायः ९५ प्रतिशत नेपालीहरू दुःख र अभावमा जन्मन्छन्, त्यसैमा हुर्कन्छन् र मर्छन् । कहिलेकाहीँ लाग्छ, तिनै नेपालीमध्येमा पर्ने मैले आफ्नो मात्रै दुःखलाई त्यत्ति महत्त्व किन दिऊँ ? फेरि मेरा सुखका दिन कहिले आयो र आफ्ना दुःखहरू सम्झेर रोऊँ ?!

तैपनि कहिलेकाहीँ जीवनमा धेरै निराश हुइँदो रहेछ । आँखै वरिपरि अन्धकार छाउँदो रहेछ र आफूले आफैंलाई सान्त्वना दिनुपर्दो रहेछ । मनभरि आँसु लिएर पनि बाहिर मुस्काउनु पर्दो रहेछ । काँडाहरूका बीच उभिएर पनि फूल फूल्ने सपना देख्न बाध्य हुनुपर्दो रहेछ । तिनै दुःखदायी प्रसङ्गलाई फेरि म सम्झन खोजिरहेछु ।

तर यी प्रसङ्ग पाठकहरूको सहानुभूति पाऊँ भनेर लेखिएका होइनन्, मात्र मेरो आत्मसन्तोषका लागि हुन् । कसैको आखाँमा आँसु देख्नका लागि भन्दा, आफ्नै आँसु सिध्याउनका लागि, रित्ताउनका लागि हो ।

यौटा निम्नमध्यम वर्गीय परिवारमा जन्मेको रहेछु भन्ने कुरा ८–९ वर्षको भएपछि मात्र मैले थाहा पाएँ । परिवार धेरै ठूलो थियो । आम्दानीका स्रोतहरू साह्रै कम थिए । यद्यपि पहाडको एउटा कुनामा पर्ने भोजपुर बजारमा २००७ सालको क्रान्तिलगत्तै हाइस्कुल खुलेकोले सानैदेखि पढ्ने मौका भने प्राप्त भएको थियो ।

पढ्नमा म चलाख थिएँ र शिक्षकका कुराहरू साह्रै छिटो टिप्थेँ । तर घरको वातावरण एउटा रहस्यमय, अप्ठेरो र ननिको जस्तो सधैँ लागिरहन्थ्यो । त्यसो हुनाको प्रमुख कारण मेरै पिताजी रहेछन्, जो हरेक वर्ष नानी जन्माइ दिएर घरमा भार थप्न मात्र जान्दा रहेछन् । म जन्मेदेखि नै कुनै काम नगरी एक किसिमले बेकार रहेछन् ।

केही वर्षसम्म बाको बेकारीका बारेमा मलाई थाहा भएन । बा र आमा राति गुनगुन कुरा गर्थे हजुरबाहरूको विरोधमा । म सुन्थेँ र एउटा सपना बुन्थेँ– हजुरबाले हामीलाई अन्याय गर्नु भएको छ । हजुरबाले सारा घरजग्गा बेच्दै खाइरहनु भएको छ ।

त्यस सपनाको अरू सत्यता त्यसबेला उमार्‍यो जब एक दिन मैले देखेँ, मेरी आमालाई हजुरबाले लठ्ठीले टाउकोमा बजारिरहेको ! आमा विनाप्रतिवाद खालि रोइरहनु भएको, खालि कहालिइरहनु भएको थियो । म चूपचाप हेरिरहेको थिएँ । आफ्नो यस असमर्थता र विवशताप्रति शायद त्यसै समय विद्रोह ममा उठेथ्यो ।

यौटा असन्तोष र पीडाले सायद म छटपटाएको थिएँ । तर मेरी आमाले पिटाई खानुको कारण मलाई अझसम्म थाहा छैन । मैले त्यसको कारण त सायद त्यसबेला सोधेँ हुँला तर बालमस्तिष्कले स्मरणमा टिप्न सकेन ।

मेरो जिन्दगी बडो विचित्र र गजबको थियो । कहिले त्यस बेला (२००८– २००९ सालतिर) रु. ५ जाने ठूलो जेरी बोकेर घर ल्याउँथे, कहिले कोठामै मासु र भात पाक्थ्यो । कहिले आमाका बाकसभरि सुनका गहना र रूपैयाँका पोका हुन्थे । त्यसबेला मलाई लाग्थ्यो हामी धनी छौँ, सम्पन्न छौँ ।

तर कहिले महिनौँ दिन एक कप चियालाई पैसा हुँदैनथ्यो, पेन्सिल कापी किन्न र फिस तिर्नलाई रुपियाँ हुँदैनथ्यो । राति कहिलेकाहीँ आमा र बाका बीचमा गहनाका लागि लुछाचुँडी हुन्थ्यो, रुवाबासी र मारामार हुन्थ्यो ।

बा “मैले कमाएँ, म उडाउँछु” भनेर गर्जनु हुन्थ्यो र आमा हामी नाबालकको भविष्य देखाएर रुनु हुन्थ्यो । तर धेरैजसो बाको फस्ल्याङ फुस्लुङले काम गथ्र्यो र फलतः यौटा कापी किन्ने पैसा पाउन हामीले रोइकराइ गर्नु पर्थ्यो ।

मेरा बाको गलत लतकै कारण मलाई बजारमा कुनै पर्चा वा पोष्टर बाँडिएको दिन दंग पर्नुपर्ने बनाएको थियो । बाँडिएका पर्चाहरू सकभर बढी बटुल्ने र रात परेपछि भित्तामा टाँगिएका पोष्टरहरू च्यात्ने मेरो दैनिकी बनेको थियो । ती सबलाई ल्याएर म कापी बनाउँथेँ । अनि तिनका पछाडिका खाली भागहरूमा अंकगणितका सूत्रहरू हल गर्थे ।

निकैपछि यी सबको कारण मैले थाहा पाएँ– बाले जुवामा जित्नु र हार्नुसँग मेरो भाग्य सम्बद्ध थियो । जुवाको अनिश्चयता हुन्न भन्ने कुरा त छँदैछ, त्यसमाथि बा स्थानीय ठर्राहरू पनि मन पराउनु हुन्थ्यो । त्यति भएपछि परिवारको बिचल्ली हुन अरू थप कारण के चाहियो !

चर्को आर्थिक समस्या टार्न मैले स्थानीय पुस्तकालयमा साथी कृष्ण जोशीसँगै काम गर्न थालेँ । त्यसवापत् म महिनाको दुई रूपैयाँ पचास पैसा पाउँथेँ । स्कूलबाट छुट्टी भएपछि भोकले रन्थनिएर पुस्तकालय पुगी भोक मार्नु मेरो उद्देश्य हुन्थ्यो । यो काम मलाई शिक्षासेवी कर्मठ प्रजातान्त्रिक योद्धा इन्द्रप्रसाद श्रेष्ठले दिलाउनु भएको थियो ।

महिनादिनभरिको कमाई रु. २.५० पनि आमालाई लगेर बुझाइएको छ, तैपनि सधैँ झगडा र कलह छ । अब के गर्ने हो ? कसरी समाजमा टाउको ठाडो गरेर हिँड्ने ? मलाई थाहा थिएन । यसरी मैले तीन–चार वर्ष चर्को मानसिक पीडामा काटेँ ।

हरेक चाडपर्व आउँथ्यो र घरलाई जगैदेखि हल्लाएर जान्थ्यो । वर्षादकालमा चामल नपाइनु र पाइए पनि बढी मोल तिर्नु पर्ने हुँदा २–४ छाक मकै, भटमास र चिउरामा बस्नु अथवा आमाका “आज सबैले होटेलहरूमा खान जानू, घरमा स–साना भाइबहिनीका लागि थोरै चामल पैंचो मागेर पकाएकी छु” भन्ने शब्दहरू सुन्नु परिहाल्थ्यो ।

त्यसबेला आफ्ना सारा इतिहासले धोका दिएको छ भन्ने लाग्थ्यो । अनि आफैंसित प्रश्न गर्थे, तँ किन बाँचिरहेछस् ? तँ किन मर्न सकिनस् ? एक कप चियाको प्राप्तिलाई महानतम् ठान्ने यो स्थिति कहिले अन्त्य होला भन्ने लागि रहन्थ्यो ।

पछि घर छेउको पोखरेको साधारण प्राइमरी स्कुलमा माष्टरी पाइए पनि तलब साह्रै थोरै थियो । एक किसिमले खाजासम्म खान पुग्थ्यो । तर त्यही पर ५० रुपैयाँ पनि घर व्यवहारमा खर्च गर्नु पर्थ्यो ।

कहिलेकाहीँ धेरै निराश हुन्थेँ कहिले आशावादी । कलेजको अनुहारसम्म देख्न पाइने कुनै लक्षण थिएन । नभन्दै एम.ए. (द्वय) सम्म प्राइभेट परीक्षार्थीकै हैसियतले पास गरेँ, जसलाई मेरो भाग्य रहेछ भनेर चित्त बुझाउँछु ।

ती सारा विसंगत र कष्टप्रद स्थितिमा पनि म कविता र कथाहरू लेख्थेँ । अझ ०१६ सालमा (१६ वर्षको उमेरमा) भोजपुर जिल्ला एक परिचय पुस्तक लेखी छपाएपछि जिल्लाका एक जना राजनैतिक कार्यकर्ता राति मेरो घरमा आएर कराएको अहिले जस्तो लाग्छ– “परशे गधा पनि किताब लेख्ने ? त्यसले के किताब लेख्यो होला ? राम ! राम !! यस्तो अनर्थ हुनैसक्तैन । यो माझकिरात हो ! माझ– किरात...!”

तर मलाई त्यस्ता उपहास र धम्कीले केही काम गरेन । मैले आफ्नै दुःख र आँसुलाई लेखनको साथी बनाएको थिएँ । जब जब मूडअफ हुन्थ्यो– मेरा अनुभूतिहरू अनायसै कागतमा उत्रन्थे ।

स्थानीय हाइस्कुलमा काम गर्दा स्थानीय राजनीतिले काम गर्‍यो । स्कुलमा ठूलो गुटबन्दी थियो । त्यसको परिणाम स्कुलबाट मेरो जागीर खोसियो । त्यसपछि मेरा झन् कष्टकर दिन शुरु भए । जहिले पनि बेकारी मुख बाएर आउँथ्यो । जहिले पनि संघर्ष नै गर्नु पर्थ्यो ।

अझ कठोर संघर्षको क्षण त्यस बेला आयो– जब आफू नेवार भएर उपाध्याय ब्राह्मणकी छोरीलाई प्रेम गर्ने अपराध गरेँ । त्यो प्रेम सफल हुनसक्तैन भनेर एक दिन मुसा मार्ने औषधि पनि खोजेँ । भाग्यले त्यो औषधि मेरो मुखमा परेन । तर बिहेपछि आफ्नै घरसँगको संघर्ष झन् तीव्रतर भयो । घरबाट निकाला भयो । सामाजसितको संघर्ष त छँदैथियो । सबका अनुहारमा एक प्रकारको रहस्य, एक प्रकारको अनौठो उत्सुकता र जिज्ञासा म पढ्थेँ ।

जेनतेन दिनहरू बित्दै गए । त्यसो त कुनै पनि केटाकेटी जन्मँदा मसँग २० रुपियाँभन्दा बढी कहिल्यै गोजीमा भएन । तर एक दिनको कुराले अझ पनि मेरो मन भारी भएर आउँछ ।

ठूली छोरी प्रतिमा ६–७ महिनाकी थिई । आमाको दूधले पुग्दैनथ्यो । रातभरि दिनभरि रोइरहन्थी । बिचरीको पेट भरिदैनथ्यो, के गरोस् ? घरमा गाई थियो र त्यसले २–३ माना दूध पनि दिन्थ्यो तर दूध मेरी छोरीका लागि हुँदैनथ्यो । दूध होटेलमा बेचिन्थ्यो । भोजपुरमा कुनै होटेलमा पनि पैसा तिरे पनि चियाका लागि चाहिन्छ भनेर दूध बेच्दैनथे । दूधको ठेक्का गर्ने हिम्मत आफूसँग थिएन ।

दिनभरि छोरी पेट नभरिएर रोइरहन्थी । उसलाई दूध आवश्यक थियो । मसँग साथमा २५ पैसा पनि थिएन । यौटा गिलास बोकेर बजारमा २–३ होटेल नै चहारेँ । कसैले पनि दूध दिन चाहेनन् । म पराजित भएर फर्के र रोएँ । 

त्यो समस्या पछि कसरी समाधान भयो श्रीमतीलाई थाहा छ । मलाई थाहा छैन ।

यसरी जीवनमा थुप्रै दुःखका दिनहरू आए । आँसुका दिनहरू आए । सुत्केरी श्रीमतीको हेरचाह र स्याहारसुसार कहिल्यै राम्ररी गर्न सकिएन । अतः आजीवन न उसको स्वास्थ्य बलियो हुन सकेन ।

जागीर खान उस्तै झन्झट आइलाग्यो । लेखकीय रूपमा माथि उक्लन उस्तै संकट पर्‍यो । पहाडको एक्लो गुराँसजस्तो लाग्छ आफूलाई यसो छोयो कि पिटिक्क भाँचिइ जाने । आफ्ना दुःखका दिनहरूलाई सम्झन र भोग्नमा धेरै फरक हुन्छ भन्ने कुरा मलाई थाहा छ । भोगिसकेको यथार्थ र भोग्दै गरेको यथार्थ पनि मलाई थाहा छ ।

तर जसले ती स्थितिहरूसँग संघर्ष गरेको हुन्छ, उसैलाई दुःखका काँडाहरू कति बिझ्ने र घोच्ने हुन्छन् भन्ने कुरा थाहा हुन्छ । टुथपेष्ट नभएर महिनौँसम्म खाली मुख धुनु, साबुन नभएर नुहाउन नपाउनु, ब्रेसियर किन्ने पैसा नभएर स्वास्नीको झोलिएको छाती हेर्नुपर्नेजस्ता कुरा यसो हेर्दा सामान्य र अपत्यारिलो हुन्छन्, तर ती बाहिर हेर्दा सामान्य कुराहरूले पनि कहिलेकाहीँ निक्कैबेरसम्म घोरिएर सोच्न बाध्य गराउँदो रहेछ ।

यिनै बाध्यता, विवशता, अपुग, हाहाकार र अभावहरूका बीच जन्मेको हो, परशु प्रधान । अहिले जीवनको उत्तरार्द्धमा शायद जीवन त्यति पीडादायक छैन, तर शरीरले बेला बेलामा उमेर ढल्केको याद गराउँछ ।

अहिले काठमाडौँमा घर छ, जागीरको पेन्सन पनि छ र बिहान बेलुकीको मुख जोर्न त्यति संकट छैन । चारै छोराछोरी आआफ्नो ठाउँमा सफल छन् । तर पनि कहिलेकाहीँ डाक्टरका लामालामा ‘प्रेस्क्रिप्सन’ व्यावहारिक अभाव र अपूगलाई मैले जीवनको नजिकको साथी ठानेको छु, जसले मलाई अगाडि बढ्न सधैँ प्रेरणा दिन्छ । तिनै अभावहरूका बीच मेरो संघर्ष भइरहोस् भन्ने मलाई लाग्छ, तिनै विवशता र बाध्यता हुन्– मेरा टाढाटाढासम्मका साथी, प्रेरणा र अनुभूतिका मेरा अन्तरङ्ग मित्र ।

म तिनलाई प्रेम गर्छु, पूजा गर्दा आफ्ना दुःखका दिनहरूलाई म धेरैधेरै माया गर्छु किनभने तिनले मलाई आजको स्थितिमा ल्याइ पुर्‍याउन ठूलो सहयोग गरेका छन् । यसैले कहिलेकाहीँ लाग्छ मेरा दुःखका दिनको अन्त्य नहोस् तिनलाई, त्यो दुःखको यथार्थलाई, सत्यलाई मेरो कोठाको गमलामा रोपेको सिउँडीको झ्याङमा झैँ सधैँ अँगालो हाल्न सकूँ, स्वीकार्न सकूँ ।

(परशु प्रधानको संस्मरणात्मक कृति ‘जिन्दगीका मोडहरू’बाट ।)
 

प्रकाशित मिति: शनिबार, पुस १३, २०८१  ०६:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro