काठमाडौं । सर्वाधिक धनराशिको पुरस्कार राखिएको गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिर्भस’ र नृत्यतर्फको ‘मेरो डान्स युनिर्भस’को दोस्रो संस्करणको कार्यक्रम प्रस्तोता र निर्णायक मण्डल घोषणा गरिएको छ ।
आयोजक संस्था इन्ट्रा नेपाल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाका अध्यक्ष डिल्ली अधिकारीले विश्वभर छरिएर रहेका नेपालीबीचको आपसी सद्भावलाई कायमै राख्न र नेपाली भाषा र संस्कृतिलाई उनीहरूमाझ जीवन्त राख्न सघाउने उद्देश्यले यो गायन र नृत्य प्रतियोगिताको आयोजना गरिएको बताएका छन् ।
दुवै प्रतियोगिताका विजेताले जनही एक करोड, उपविजेताले २० लाख र दोस्रोले १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
आयोजित कार्यक्रममा ‘मेरो भ्वाइस युनिर्भस’मा गायक दीप श्रेष्ठ, संगीतकार सुरेश अधिकारी, गायिका अन्जु पन्त, तृष्णा गुरुङ, गायक पुष्पन प्रधानले निर्णायकको भूमिका निर्वाह गर्नेछन् ।
‘मेरो डान्स युनिर्भस’ मा निर्णायकको रूपमा अभिनेत्री मिथिला शर्मा, अभिनेता दीलिप रायमाझी, नृत्य निर्देशक शङकर विसी, किरण थापा र अभिनेत्री शिल्पा मास्के निर्णायक रहेका छन् ।
कार्यक्रम सञ्चालकको रुपमा सञ्चारकर्मी नरेश भट्टराई, अभिनेत्री रीमा विश्वकर्मा, कमेडियन राजा राजेन्द्र पोखरेल, पूर्व मिस नेपाल नम्रता श्रेष्ठ छिन् । आयोजित पत्रकार सम्मेलनमा ‘मेरो भ्वाइस युनिर्भस’लाई सुरेश पौडेल र ‘मेरो डान्स युनिर्भस’लाई मौसमी गुरुङले निर्देशन गर्ने आयोजकले जनाएको छ ।
नेपाल टेलिभिजनमार्फत प्रशारण हुने दुवै प्रतियोगिताको अडिसन आउँदो वर्ष सन् २०२५ को जनवरी २५ बाट सुरू हुनेछ ।