site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
दबाबमा कर्णाली, सुखद अन्त्यको लक्ष्यमा लुम्बिनी

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ को आफ्नो अन्तिम खेलमा मैदान उत्रिँदा लुम्बिनी लायन्स जितसहित प्रतियोगिताको सुखद अन्त्य गर्ने लक्ष्यमा हुनेछ ।

लिगमा ६ खेल खेलिसकेको लुम्बिनीको प्लेअफ पुग्ने सम्भावना समाप्त भइसकेको छ । तालिकाको सातौँ स्थानमा रहे पनि लुम्बिनीको खातामा दुई अंक मात्र छ । आजको खेलमा जित निकाले लुम्बिनीले चार अंकसहित प्रतियोगिताको अन्त्य गर्नेछ ।

लुम्बिनीले प्रतियोगिताको सुरुआती चार खेलमा लगातार हार व्यहोरेको थियो । रोहितकुमार पौडेलको कप्तानीमा रहेको टोलीले पहिलो खेलमा विराटनगर किंग्सविरुद्ध दुई विकेट, दोस्रो खेलमा पोखरा एभेन्जर्सविरुद्ध १० विकेट, तेस्रो खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध ४५ रन र चौथो खेलमा जनकपुर बोल्ट्ससँग एक रनको हार व्यहोरेको थियो ।

पाँचौँ खेलमा चितवन राइनोजविरुद्ध ३३ रनको जित निकाले पनि छैटौँ खेलमा लुम्बिनीले काठमाडौं गुर्खाजसँग १८ रनको हार व्यहोरेको थियो ।

यता, लुम्बिनीविरुद्ध मैदान उत्रिँदा कर्णाली भने जितसहित प्लेअफ सम्भावनालाई बलियो बनाउने लक्ष्यमा हुनेछ ।

पाँच खेलबाट ६ अंक जोडेको कर्णाली तालिकाको चौथो स्थानमा छ । प्रतियोगितामा कर्णालीले तीन खेलमा जित र दुई खेलमा हारको नतिजा आत्मसात गरेको छ ।

लिगका सुरुआती दुई खेलमा हार व्यहोरे पनि कर्णालीले त्यसपछिका तीन खेलमा भने लगातार जित निकालेको छ । कर्णाली पहिलो खेलमा जनकपुर बोल्ट्ससँग आठ विकेट र दोस्रो खेलमा काठमाडौं गुर्खाजविरुद्ध तीन विकेटले पराजित भएको थियो ।

त्यसपछि भने कर्णालीले तेस्रो खेलमा चितवन राइनोजविरुद्ध ६ विकेट, चौथो खेलमा विराटनगर किंग्सविरुद्ध सात रन र पाँचौँ खेलमा पोखरा एभेन्जर्सविरुद्ध सात विकेटको जित निकालेको थियो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल बिहान ९ बजेदेखि सुरु हुनेछ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २८, २०८१  ०६:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro