काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सले पोखरा एभेन्जर्ससामु १४० रनको लक्ष्य प्रस्तुत गरेको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको विराटनगरले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १३९ रन बनाएको हो ।
विराटनगरका स्कट एड्वार्ड्सले सर्वाधिक ४५ रन जोडे । उनले ३५ बलमा पाँच चौका प्रहार गरे ।
त्यसअघि, विराटनगरले ओपनरद्वय मार्टिन गप्टिल र लोकेश बमसँगै नरेन भट्टलाई गुमाएको थियो । लोकेश २६, गप्टिल पाँच र नरेन चार रनमा पभेलियन फर्किए । क्रिस सोलले सात रन थपे । दीपक बोहराले चार रन जोडे । अविजित रहेका बसिर अहमेदले २१ र प्रतिश जिसीले समान चार रन बनाए ।
पोखराका सागर ढकाल र रेमोन रेफरले समान दुई विकेट लिए । कप्तान कुशल भुर्तेल र दिनेश खरेलले एक/एक विकेट लिए ।
विराटनगरका गप्टिललाई पाँचौँ ओभरको तेस्रो बलमा सागर ढकालले बोल्ड गरे । छैटौँ ओभरको अन्तिम बलमा रेमोन रेफरले लोकेशलाई ‘कट एन्ड बोल्ड’ गरे ।
आठौँ ओभरको पहिलो बलमा विराटनरले तेस्रो क्रमका ब्याटर नरेन भट्टलाई गुमायो । नरेनलाई दिनेश खरेलले सागर ढकालबाट क्याच गराए ।
यस्तै, १३औँ ओभरको पहिलो बलमा विराटनगरका निकोलस किर्टोनलाई सागर ढकालले माइकल लियस्कबाट क्याच गराउँदै पभेलियनको दिशा देखाए ।
विराटनरले १९औँ ओभरको दोस्रो बलमा एड्वार्ड्सलाई गुमायो । एडवार्ड्सलाई पोखराका कप्तान कुशल भुर्तेलले ‘एलबीडब्ल्यू’को धरापमा पारे ।
२०औँ ओभरको पहिलो बलमा क्रिस सोललाई रेमोन रेफरले विपीन खत्रीबाट क्याच गराए । सोही ओभरको तेस्रो बलमा दीपक बोहरा रनआउट भए । रेफरको बल ‘वाइड’ हुँदा पनि रनका निम्ति दौडिएका दीपकलाई रेफरले नै रनआउट गराए ।