site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
विचौलियाले अर्थतन्त्र ‘कब्जा’मा पारिसके, गभर्नर नियुक्तिमा खेलाँची नगरौँ

नेपालको अर्थतन्त्र चुनौतिपूर्ण स्थितिबाट गुज्रिइरहेको छ । अर्थतन्त्र शिथिल बनेको छ । यो अवस्था बैंक तथा वित्तीय क्षेत्रबाट शुरुआत भएको छ । 

यतिखेर बैंक, वित्तीय क्षेत्र होस् या सहकारीमा जुन विकृति–विसंगति तथा असंगति देखिएका छन्, त्यस्ता कर्ममा नेपाल राष्ट्र बैंकले अनुगमन गरी बेलैमा ‘ट्रयाक’मा राख्न नसक्दाको परिणति हो । उसले समयमै निगरानी गर्न सकेको भए, वित्तीय वा सहकारी क्षेत्र यसरी विश्रृंखल भए जाने थिएन । त्यसरी जोखिममा पर्ने स्थिति हुँदैनथ्यो ।

हामी यस्तो मोडमा आइपुगेका छौं कि नयाँ गभर्नरको खोजी केही समयपछि हुँदैछ । अब नयाँ गभर्नर चयनमा नेपाल सरकार चुक्यो भने वित्तीय संकट झन् लामो समय बेहोर्नुपर्ने स्थिति आउँछ ।

Dabur Nepal
NIC Asia

निजी क्षेत्रमा कार्यरत पदाधिकारी हुन् या कार्यकारी अधिकृत (सीईओ)लाई गभर्नर बनाइयो भने स्वार्थको द्वन्द्व हुनेछ । 

तिनले आफू सरोकार राख्ने बैंकिङ क्षेत्रलाई बढी सुविधा दिनेछन् र पोषण गर्नेछन् ।  त्यस्ता पात्रलाई स्वीकार गरियो भने अर्थतन्त्र झन् दुर्घटनायुक्त र खतरनाक केही हुँदैन ।  त्यसले वित्तीय क्षेत्रमा झन् किसिमको जोखिम निम्त्याउँछ । त्यो दिशातिर सरकार सचेत हुनुपर्छ । 

हामी यस्तो किसिमको चौबाटोमा छौँ कि अलिकति मात्रै पनि गल्ती भयो भने धारिलो ‘ब्लेड’ जस्तै हुनेछ, जाने कपाल काट्छ, नजाने गाला काट्छ । सरकार त कार्यवधि पूरा गरेपछि बाहिरिन्छ । तर, गर्भनर नियुक्तिमा सरकारले अलिकति खेलाँची ग¥यो भने अर्थतन्त्रमा देखिएको विकृति–विसंगति लामो समयसम्म रहन्छ ।

सरकारले कानुनतः छनौटको नाटक मञ्चन गर्छ नै । त्यो कमिटि बनाउँदा इमान्दार र व्यवसायिक पृष्ठभूमिका मानिसलाई राख्न सकिन्छ । 

तिनले दागरहित अर्थतन्त्र बुझेको व्यवसायिक मानिस खोज्न सक्यो भने अर्थतन्त्रले फरक मोड लिन सक्छ । हामी कहाँ त्यस्ता मानिसहरु नभएका होइनन् । तर, बजारमा जस्ता नाम चर्चामा आएका छन्, तिनीहरुबाट राष्ट्र बैंकको गर्भनरको व्यावसायिक भूमिका निर्वाह हुने र वित्तीय संकट समाधानतिर लैजान सक्दैनन् ।
 
पुँजी पलायन रोक्नेदेखि बजार अर्थतन्त्रलाई चलायमान गराउन गभर्नरकै भूमिकाले काम गर्छ ।  उसले स्वीकृति नदिएसम्म पुँजी पलायन हुन सक्दैन । यद्यपि हुन्डी र कालो बजारमार्फत् पलायन हुनु फरक कुरा हो ।

सहकारीकै कुरा गर्ने हो भने सामान्य र मध्यम वर्गीय मानिसका बचत डुब्नुमा राष्ट्र बैंकको हेलचेक्र्याइ पनि कारण हो ।  अर्काे त, सहकारीमा करोडौं करोड बचत हुनु भनेको सामान्य वा मध्यमवर्गीय मानिसको धन त होइन । त्यो भनेको कालोधन नै हो । 

कालो धनलाई सेतोमा परिणत गर्न सहकारीमा थुपारिएका हुन् । राष्ट्र बैंकले समयमै अनुगमन गर्न सकेन, अधिकार जति राष्ट्र बैंकले लिने कर्तब्य पूरा नगरेको देखियो । 

बैंकिङ क्षेत्रका कतिपय लाभांस विदेश पलायन भइरहेको छ, त्यो नियन्त्रण गर्न राष्ट्र बैंक चुकिरहेको छ ।  निजी क्षेत्र बैंकहरुको लबिङ्ग या खेल शुरु भइसकेको छ, ‘अनुकूलको गभर्नर नियुक्त गराउने ।’ त्यसो हुँदा मुलुकको अर्थतन्त्रलाई डरलाग्दो खाडलमा पार्ने काम हुँदैन ।

गर्भनर त्यस्तो पद हो कि वित्तीय अर्थतन्त्रका लागि महत्वपूर्ण पद मानिन्छ । जहाँ निजी क्षेत्रका बैंक, लघु वित्त, सहकारी छ्याप्तछ्याप्ती भएको हुँदा यस्तोमा अनुगमन गर्न गभर्नरकै सक्रियता चाहिन्छ । अर्थतन्त्र गतिशील तुल्याउन अर्थतन्त्र संकटबाट मुक्त गराउन अर्थमन्त्रीभन्दा पनि गभर्नरकै भूमिका रहन्छ ।

मलाई शंका के लागेको छ भने गभर्नर नियुक्तिका विषय सरकारले हल्का ढंगले लिइरहेको छ र भागबण्डाका हिसाबले हेरेको देखिन्छ । 

सेबोन (नेपाल धितोपत्र बोड) को अध्यक्ष एउटा पक्षलाई बनाइयो भने गभर्नर हाम्रो पक्षको हुनुपर्छ भन्ने जुन चलखेल भइरहेको छ । त्यसमा बिचौलियाहरुले पनि दिलोज्यानले लबिइङ गरिरहेका छन् ।  हामीकहाँ बिचौलियाले अर्थतन्त्रदेखि राजनीति हुँदै शासनतन्त्र पनि ‘क्याप्चर’ गरिसकेका छन् । मुलुकको स्थिति यस्तो बन्दैछ कि कुनै पार्टीका नेताहरु बिचौलिया वृत्तभन्दा बाहिर छैनन् ।
 
हाल बहाल गर्भनर महाप्रसाद अधिकारी पहिला लगानी बोर्डमा हुनुुहुन्थ्यो, जतिबेला म पनि मन्त्रिपरिषदकै सदस्य थिए । हालका प्रधानमन्त्री केपी शर्मा ओलीकै पालामा गभर्नर नियुक्ति भएको हो ।  त्यतिबेला लगानी बोर्डमा नियुक्त भएको केही समय मात्र भएको थियो । उहाँले त्यो पद छाड्दै गभर्नर बन्न खोज्नुभयो र लगियो । 

यतिखेर जसरी बैंकिङ, वित्तीय र सहकारीमा अवैज्ञानिक र अव्यवहारिक विकृति देखिएका छन्, त्यस्ता विकृति रोक्न नसक्नुमा उहाँ दोषी हुनुहुुन्छ ।  उहाँ कुनै बिल्कुल सफल गभर्नर होइन । अर्थतन्त्रमा जुन ढंगको चुनौति थिए, त्यो न्युनीकरण गर्नेतिर भन्दा पनि नयाँ नयाँ समस्या उत्पादन गर्नेतिर लाग्नुभयो । 

उहाँले अर्थतन्त्रमा जटिल चुनौति खपेर जाँदै हुनुहुन्छ । अब पनि गभर्नर नियुक्तिमा त्यस्तै खेलाँची भयो भने भयावह स्थितितिर जानेछौं । त्यो अपूरणीय क्षति हुनेछ ।

त्यस अतिरिक्त राज्य संयन्त्रमा नियुक्ति र काम गरिरहेकाहरुलाई दुःख दिने मामलामा सरकार लागिरहेको सन्देश छाएको छ ।  हो, सरकारसँग संसद्मा जुन मत छ, त्यसले सरकार बलियो वैधतामा छ । तर, सरकारको जुन ‘अथोरिटी’ (प्राधिकार) छ, त्यो चाहिँ कमजोर हुँदै गएको छ ।

कांग्रेस र एमालेकै बलियो सरकार बन्नुपर्छ भन्ने वकालत गरेर हिँडेको मानिस हुँ । किनभने मुलुकमा जुन भाष्य सिर्जना भएको छ कि पार्टीहरु खराब छन्, नेताहरु भ्रष्ट छन् । त्यो भाष्य चिर्न यो सरकार सफल हुनेछ र आशावाद जगाउनेछ । 

तर, सरकारले झन् निराशा बढाउँदै लगेको देखियो ।  सरकारको ‘अथोरिटी’ कमजोर भएको कहाँनेर देखिन्छ भने दुर्गा प्रसाईं, रवि लामिछाने, कुलमान घिसिङसँग निहुँ खोज्नुले देखाउँछ ।

संसारमा कहीँ पनि त्यस्तो दृश्य मञ्चन हुँदै होला, जहाँ मन्त्री एउटा विभागमा कार्यकक्ष खडा गरी बस्छ ।  नेपाल विद्युत् प्राधिकरणमा मन्त्रीको कार्यकक्ष खडा गरिनु भनेको त्यो पदको गरिमा नबुझ्नु हो । यस्तो अनुचित काम मैले देखेको या स सुनेको छैन । 

हरेक मन्त्री कुनै पनि मातहत संस्थानको पदेन अध्यक्ष हुन्छ नै । मन्त्रीले हरेक संस्थामा कार्यकक्ष खडा गरी बस्दैनन् । यसमा के दुर्नियत हाबी भयो भने कुलमान घिसिङलाई जसरी पनि विफल पार्ने भन्ने हो । यसमा प्राधिकरणलाई बलियो बनाउने असल नियत देखिँदैन । 

विभागीय मन्त्रीलाई असल नीतिगत निर्णय त केहीले छेक्दैन । यस्ता उदेक लाग्दो दृश्यले सरकारको ‘अथोरिटी’लाई झन् कमजोर बनाउँछ ।
 
जसरी धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिकै विवादले माओवादी–एमाले सरकारको गठबन्धन तोडियो, त्यही शैली नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्तिमा पनि देखापर्ने सम्भावना छ । संसारमा कहीँ पनि बैंकरहरु लगानीकर्ता हुँदैनन्, हामी कहाँ मात्र गाईजात्रा छ । जो बैंकका प्रवर्द्धक हुन्, तिनै लगानीकर्ता बनेका छन् । 

तिनले अझ बिमा पनि ‘क्याप्चर’ गरेका छन् । यो विकृतिको जालो एकै दिन बनेको होइन ।  यस्तो जालो बनिरहँदा कसैले प्रश्न नउठाएकै कारण तिनीहरु हाबी हुँदै गएका हुन् ।  हामीकहाँ डेढ दर्जन जतिको हाराहारीमा भएका बिचौलियाहरुले अर्थतन्त्रलाई कब्जामा लिइसकेका छन् । तिनले राजनीतिलाई मुठ्ठीमै पारिसकेको अवस्था छ । 

(पूर्वमन्त्री त्रिपाठीले बाह्रखरीसँग गरेको कुराकानीमा आधारित)
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २६, २०८१  १३:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro