काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलले कानुनअनुसार नै 'मार्सल ल' लागु गरेको बताएका छन् । बिहीबार टेलिभिजन सम्बोधनमार्फत उनले आफ्नो निर्णयको बचाउ गरेका हुन् । उनले आफूले राजीनामा नदिने र अन्तिमसम्म महाभियोगविरुद्ध लड्ने बताएका छन् ।
उनले संसद्मा सेना पठाउनु विद्रोह नभएको पनि बताएका छन् । लोकतन्त्रको अन्त्य हुन नदिन र संसद्मा प्रतिपक्षको अधिनायकवादको विरोध गर्न मार्सल ल लगाउने निर्णय गरेको उनको भनाइ छ ।
"ममाथि छानबिन होस् वा महाभियोग लगाइयोस् । म निष्पक्षरूपमा सामना गर्नेछु । अन्तिम सम्म लडिरहनेछु," उनले भनेका छन् ।
यसअघि, डिसेम्बर ७ मा राष्ट्रपति युनले 'मार्सल ल' लागु गरेकोमा देशसँग माफी मागेका थिए । उनले 'मार्सल ल' निर्णय कानुनी वा राजनीतिक कारणले नभएर निराशाका कारण लिएको बताएका थिए । युनले विपक्षीले सरकारको काम कारबाही रोकेको आरोप लगाएका छन् ।
दक्षिण कोरियामा विपक्षी दलको बहुमत छ । संसद्को ३०० सिटमध्ये प्रमुख विपक्षी डेमोक्र्याटिक पार्टी अफ कोरिया (डीपीके) को १७१ सिट छ । दक्षिण कोरियामा राष्ट्रपतिलाई हटाउन शनिबार महाभियोग प्रस्ताव ल्याइएको थियो । तर, त्यो असफल भयो । यसका लागि २०० मत आवश्यक परे पनि विपक्षीले १९५ मतमात्रै जुटाउन सकेका छन् ।
दक्षिण कोरियामा राष्ट्रपति युनले डिसेम्बर ३ को रातमा देशमा मार्सल ल लागु गरेका थिए । तर, चर्को विरोधपछि उनले ६ घण्टामै आफ्नो निर्णय फिर्ता लिएका थिए । युनको कदमपछि दक्षिण कोरियामा उनको चर्को विरोध भइरहेको छ ।
सीएनएनबाट ।