काठमाडौं । “गिसले पेलिकोटलाई युवा, वृद्ध, अधबैँसे, दुब्ला, मोटा, काला, गोरा सबैले बलात्कार गरेका थिए,” बीबीसी लेख्छ, “फायरफाइटर, सैनिक, सुरक्षा गार्ड, ड्राइभर, पत्रकार, डिजे र खेलकुदका कोच थिए, गिसलेलाई बलात्कार गर्नेहरू ।”
फ्रान्सको अदालतमा चलिरहेको एउटा मुद्दा अहिले संसारभर चर्चामा छ । ७० वर्षे गिसले पेलिकोटलाई १० वर्षसम्म बलात्कार गरेको अभियोगमा उनका श्रीमानसहित ५१ जनामाथि मुद्दा चलिरहेको छ । यो साताको अन्त्यसम्म यो मुद्दाको फैसला आउने सम्भावना छ ।
एक दशकसम्म बलात्कार !
गिसले पेलिकोट र गोमिनो पेलिकोटले सन् १९७३ मा विवाह गरेका थिए । उनीहरूका तीन सन्तान छन् । गिसले फ्रान्सकै एउटा कम्पनीमा म्यानेजरका रूपमा काम गर्थिन् । उनका श्रीमान् घरजग्गाको कारोबार गर्थे । अवकाश पाएपछि उनीहरू दुवैजना आनन्दले जीवन बिताउने भन्दै दक्षिणी फ्रान्समा बस्न आए । उनीहरूले दक्षिणी फ्रान्सको माजान गाउँमा घर किने ।
अवकाशप्राप्त जीवन आन्दले जिउने सोच बनाएकी गिसलाई टाउको दुख्ने रोग लाग्न थाल्यो । उनको स्मरणशक्ति हराउन थाल्यो । उनलाई लाग्यो– ‘मलाई कि अल्जाइमर भयो कि ब्रेन ट्युमर ।’ उनले अनेकौँ जाँच गराइन् । तर, केही रोग पत्ता लागेन । त्यसपछि उनलाई लाग्यो, अब यस्तै हो ।
उनलाई थाहै थिएन, उनीमाथि उनकै श्रीमानले गरिरहेको भयानक अपराधको कुरा ।
सन् २०२० को सेप्टेम्बरमा गिसलेका श्रीमान् एउटा सुपरमार्केटबाट पक्राउ परे । सुपरमार्केटमा सामान खरिद गरिरहेकी एक महिलाको स्कर्टमुनिको भिडियो खिचेको आरोपमा उनलाई सुपरमार्केटका गार्डले पक्राउ गरेर प्रहरीकोमा बुझाए ।
प्रहरीले उनको मोबाइल खानतलासी गर्यो । उनले स्काइपमा गरेका केही शंकास्पद च्याट फेला परे । उनको मोबाइलमा अचेत महिलासँग यौन सम्बन्ध बनाइरहेका हजारौँ भिडियो फेला परे ।
अचेत महिलासँग फरक–फरक पुरुषले यौन सम्बन्ध बनाइरहेका भिडियो फेला परेपछि प्रहरीले ती अचेत महिलाको खोजी गर्यो । खोजी गर्दा थाहा भयो, ती महिला अरू कोही नभएर स्वयं गोमिनो पेलिकोटकी श्रीमती गिसले पेलिकोट हुन् भनेर ।
त्यसपछि प्रहरीले गिसलेलाई बोलाएर ती भिडियो देखायो । आफू अचेत भएको, आफ्नो बलात्कार भइरहेको देखेपछि गिसले छाँगाबाट खसेझैँ भइन् । उनले आफू अचेत भएको, आफूमाथि बलात्कार भएको ‘थाहै छैन’ भनिन् । आफूले यसरी यौनसम्बन्ध राख्दै नराखेको भनेर जिद्दी गरिन् ।
प्रहरीले गिसलेका श्रीमानसँग पनि सोधपुछ गर्यो । त्यसक्रममा उनले आफूले नै श्रीमतीलाई ड्रग्स खुवाएर विभिन्न मान्छेबाट बलात्कार गराएको स्विकारे । त्यसयता गिसलेका श्रीमान् हिरासतमा छन् ।
प्रहरीले भिडियोमा देखिएका गिसलेलाई बलात्कार गर्ने ५० जनालाई पक्राउ गर्यो । पक्राउ परेकाहरू २६ देखि ७२ वर्षसम्मका छन् ।
माया गरेको श्रीमानले नै आफूमाथि यत्रो जघन्य अपराध गरेको थाहा पाएपछि गिसलेले श्रीमानसँग सम्बन्धविच्छेद गरिन् । बीबीसीका अनुसार उनले यो मुद्दाका लागि मात्र श्रीमानको थर प्रयोग गरिरहेकी छिन् ।
सन् २०११ देखि सन् २०२० सम्म लगातार उनी बलात्कारको सिकार भइन् । श्रीमान् गिसलेले थाहा नपाउने गरी निद्राको औषधि र ड्रग्स खुवाउँथे । गिसले बेहोस भएपछि उनले अनलाइनमार्फत विभिन्न मान्छेलाई बोलाएर बलात्कार गर्न लगाउँथे । श्रीमती बलात्कृत भइरहेको भिडियो खिचेर उनी आनन्द लिन्थे ।
गोमिनोले श्रीमतीलाई बलात्कार गर्न मान्छे बोलाउनकै निम्ति भनेर एउटा च्याट ग्रुप बनाएका थिए । प्रहरीका अनुसार उक्त च्याट ग्रुपको नाम उनले “विदाउट हर नलेज” राखेका थिए ।
प्रहरीले श्रीमानलाई पक्राउ गरेर मुद्दा चलाएपछि गिसलेले ऐतिहासिक निर्णय गरिन् । फ्रान्समा बलात्कारपीडितको अनुमतिविना उसको नाम र तस्बिर सार्वजनिक गर्न पाइँदैन । तर उनले आफ्नो नाम र तस्बिर सार्वजनिक गर्ने अनुमति दिइन् । कतिसम्म भने उनले अदालतमा आफू बलात्कृत भएका भिडियो बजाउने अनुमति पनि दिइन् ।
आफ्नो यो कदमले यौनहिंसामा परेकाहरूलाई शक्ति मिल्ने उनको विश्वास छ । यौनहिंसामा परेकाहरूले लज्जित हुन नपरोस् भन्दै आफूले आफ्नो नाम र तस्बिर सार्वजनिक गर्ने अनुमति दिएको उनको भनाइ छ ।
यतिन्जेलसम्म उनी आफ्ना आँखा छोपिनेगरी चस्मा लगाएर मिडिया र सार्वजनिक स्थलमा उपस्थित हुन्थिन् । तर, पछिल्लो दुई सातायता भने उनी चस्मा नलगाईकनै मिडिया र सार्वजनिकस्थलमा देखिन थालेकी छिन् ।
वृद्धावस्थामा पनि उनको हिम्मत र न्यायका लागि समर्पण देखेर फ्रान्सका भित्तामा उनका चित्र बनाइएका छन् । नारीवादीहरूले उनलाई आफ्नो ‘नायक’ मानिरहेका छन् ।
छोरी, बुहारी र नातिनीको पनि नग्न तस्बिर खिच्थे
गिसलेका श्रीमान् गोमिनो पेलिकोटले आफ्नै छोरी, दुईजना बुहारी र एकजना नातिनीको पनि नग्न तस्बिर खिचेको प्रहरीले फेला पारेको छ ।
१८ नोभेम्बरमा अदालतमा उपस्थित भएका गोमिनोका जेठा छोरा डेभिडले आँसु खसाउँदै अदालतमा बयान दिए । अदालतमा उपस्थित आफ्ना बुबासमक्ष भावुक हुँदै जेठा छोरा डेभिडले भनेका थिए, “तिमीसँग अलिकति पनि मानवता बाँकी छ भने सत्य बोल । तिमीले मेरी बहिनीसँग के गर्यौ ?”
त्यसपछि गोमिनोले छोरी र नातिनीलाई केही पनि नगरेको भन्दै छोरासँग माफी मागे । क्रोधले आगो भएका छोराले भने, “तिमीलाई कहिल्यै पनि माफ गर्न सक्दिनँ ।”
आफ्ना बुबाले सम्पूर्ण परिवार ध्वस्त पारेको गुनासो गर्दै डेभिड पेलिकोट भन्छन्, “मेरो पैतलामुनिको जमिनै भासिएजस्तो भएको छ । हामीले यतिका वर्षसम्म आमालाई अल्जाइमर भएको ठान्यौँ ।”
गोमिनोमाथि छोरी, नातिनी र दुईजना बुहारीको नग्न तस्बिर खिचेको अभियोगमा समेत मुद्दा चलिरहेको छ । गोमिनोले छोरी, बुहारीद्वय र नातिनीको नग्न तस्बिर खिच्नका लागि स्नानगृह र शौचालयमा गोप्य क्यामेरा राख्ने गरेको प्रहरीले फेला पारेको छ । उनले आफ्नी जेठी बुहारीको त गर्भावस्थाको समेत नग्न तस्बिर खिचेको प्रहरीले फेला पारेको छ ।
१८ नोभेम्बरमा भएको सुनुवाइका क्रममा गोमिनोका कान्छा छोरा फ्लोरियनले अदालतमा बुबालाई हेर्दै आक्रोश पोखे । उनले भने, “तिमी सधैँ भन्थ्यौ, हाम्री आमा सन्त हुन् भनेर । तर, तिमी त मान्छेका नाममा राक्षस पो रहेछौ ।”
अर्को साताको अन्त्यसम्ममा यो मुद्दाको अन्तिम सुनुवाइ हुनेछ । अभियुक्तहरू दोषी प्रमाणित भएमा उनीहरूले संयुक्त रूपमा ६०० वर्षको जेल सजाय पाउनेछन् ।