काठमाडौं । ‘पूर्ण बहादुरको सारङ्गी’बाट नेपाली चलचित्र उद्योगमा ऐतिहासिक ग्रसकलेक्सन गरेको कम्पनी सेभेन सिज सिनेमाभित्र विवाद देखिएको छ । सेभेन सिज सिनेमा र सेभेन सिज इन्टरटेनमेन्टबीच विवाद देखिएको हो ।
एउटा कम्पनीबाट चलचित्र निर्माण भएको तर भुक्तानी अर्कैका नाममा गरिँदा किचलो भएको छ । ‘पूर्ण बहादुरको सारङ्गी’ सेभेन सिज इन्टरटेनमेन्टबाट निर्माण गरिएको हो । तर, प्रदर्शनबाट संकलित रकम सेभेन सिज सिनेमाको नाममा भुक्तानी भइरहेको भन्दै निर्माताले नै वितरकलाई पत्र लेखेका छन् ।
“हाम्रो जानकारीमा आएअनुसार, हाल उक्त चलचित्रको सेयर रकम भुक्तानी सेभेन सिज सिनेमाको नाममा जम्मा भइरहेको जानकारीमा आएको छ,” निर्माताद्वय प्रतीक सुवेदी र रमेश ढकालले वितरकलाई पत्र लेख्दै भनेका छन्, “हालसम्म भएको भुक्तानीको जानकारी गराएर बाँकी भुक्तानी रोक्का गरी यस कम्पनीको हामी सञ्चालकहरूको रोहबरमा फाइनल हिसाबकिताब गरी सम्बन्धित हाम्रो संयुक्त बैंक खाता रहेको कम्पनीमा मात्र भुक्तानी गर्नुहुन अनुरोध छ ।”
निर्माताद्वय ढकाल र सुवेदीले यसबारे सेभेन सिज सिनेमा, बाँसुरी फिल्मस्, नेपाल मोसन पिक्चर्स, नेपाल चलचित्र संघ र चलचित्र विकास बोर्डलाई जानकारी गराएका छन् ।
सेभेन सिज इन्टरटेनमेन्टका सञ्चालक ढकाल, सुवेदी र विनोद पौडेल हुन् । सेभेन सिज सिनेमा भने विनोद पौडेल एक्लैको हो ।
ढकाल र सुवेदीले वितरक टी फल्क फिल्मस् र ब्यांकेटस इन्टरटेनमेन्टलाई पत्र लेखेर संयुक्त खातामा मात्र पैसा पठाउन आग्रह गरे पनि टिममा विवाद नभएको पौडेल जिकिर गर्छन् । “एउटा कम्पनीबाट प्रोडक्सनको काम गरौँ र अर्कोबाट वितरण गरौँ भनेर पछि हामीले सेभेन सिज सिनेमा दर्ता गरायौँ,” उनले भने, “तर, सिनेमा निर्माण र प्रदर्शनमा व्यस्त भएकाले मेरो नाममा सेभेन सिज सिनेमा दर्ता भएको हो । वास्तवमा यी दुईवटै कम्पनी हामी तीनजनाकै हो ।”
सिनेमा प्रदर्शनका क्रममा सबै व्यस्त भएकाले प्राविधिक रूपमा एउटा कम्पनीबाट कर तिर्नुपर्नेमा अर्कैबाट भएको उनी बताउँछन् । वितरकलाई पत्र काटिनु सामान्य भएको उनको भनाइ छ ।
गएको कात्तिक १५ गते रिलिज भएको ‘पूर्ण बहादुरको सारङ्गी’ले नेपाली बक्सअफिसमा ऐतिहासिक ग्रसकलेक्सन गरिसकेको छ । सरोज पौडेलले निर्देशन गरेको चलचित्रमा विजय बराल मुख्य भूमिकामा छन् ।
चलचित्र संघसँग पनि विवाद
चलचित्र सेभेन सिज/सेभेन सिज इन्टरटेनमेन्ट र चलचित्र संघबीच पनि विवाद भइरहेको छ । बक्सअफिसको पारदर्शिता र शोका विषयमा संघ र सेभेन सिजबीच विवाद भएको हो ।
चलचित्रले राम्रो व्यापार गरेपछि दर्शकलाई धन्यवाद दिन भन्दै कलाकारसहित निर्माता मोफसल टुरमा निस्किएका थिए । त्यसक्रममा केही हलमा बक्सअफिस रिपोर्टमा पारदर्शिता नदेखिएको भन्दै सेभेन सिजले २० हलको नाम नै सार्वजनिक गर्यो । पारदर्शी रिपोर्ट दिने भन्दै सेभेन सिजले यी सिनेमा हलको नाम उल्लेख गरेको थियो–
१. अरुण हल, विराटनगर
२. निलम सिनेमाज्, जनकपुर
३. विना हल, लालबन्दी
४. गोरखा हल, गोरखा
५, बर्दिबास हल, बर्दिबास
६. विराटचोक हल, मोरङ
७. सीबी हल, इनरुवा
८. दीपक हल, बरहथवा
९. द्वारिका हल
१०. हिमालय हल, विराटनगर
११. चरिकोट हल, दोलखा
१२. एभरेस्ट हल, राजगढ
१३. धनकुटा हल, धनकुटा
१४. फिदिम हल, पाँचथर
१५. त्रिशूली हल, नुवाकोट
१६. इलाम हल, इलाम
१७. लभ कुश हल, महेन्द्रनगर
१८. त्रिमूर्ति हल
१९. गिरिराज हल, जनकपुर
२०. पाथीभारा हल, दमक
सेभेन सिजले हलको नाम नै सार्वजनिक गरेपछि चलचित्र संघले प्रतिकारमा विज्ञप्ति जारी गर्यो । संघले सेभेन सिजलाई बिनाप्रमाण आफ्ना सदस्यको मानमर्दन गरेको भन्दै आपत्ति जनायो । प्रमाण लिएर संघमा उपस्थित हुन आग्रह गरिएको थियो । बक्सअफिस रिपोर्ट माग्ने अधिकार निर्मातालाई नभएर वितरकसँग मात्र रहेको भन्दै संघले सेभेन सिजलाई सचेत गराएको थियो ।
तर, चलचित्र विकास बोर्डले सेभेन सिजले नाम सार्वजनिक गरेका सिनेमा हलले नवीकरण नगरी चलचित्र प्रदर्शन गरिरहेको भन्दै विज्ञप्ति जारी गर्यो । गैरकानुनी रूपमा सिनेमा प्रदर्शन गरिरहेको भन्दै ती हललाई कारबाही गर्ने प्रतिबद्धता जनायो ।
सेभेन सिजले गएको शनिबार विज्ञप्ति जारी गर्दै हिन्दी चलचित्र पुष्पा–२’ आएपछि ‘पूर्ण बहादुरको सारङ्गी’लाई नजरअन्दाज गरिएको भन्दै देशभरका हलबाट सोमबारदेखि आफ्नो सिनेमा उतार्ने निर्णय गर्यो । प्रतिउत्तरमा फेरि चलचित्र संघले विज्ञप्ति जारी गर्दै भन्यो– सिनेमा उतार्ने वा नउतार्ने अधिकार निर्माता होइन वितरकसँग हुन्छ ।
सेभेन सिजले चलचित्र संघको मानमर्दन गरेको, वितरकसँग रहेको अधिकार क्षेत्रभन्दा बाहिर गएर सिनेमा उतार्छु भनेको जस्ता गैरकानुनी काम गरेको भन्दै यसबारे स्पष्ट नपारे सेभेन सिजले निर्माण र वितरण गरेका चलचित्र प्रदर्शन नगर्ने संघको चेतावनी दियो ।
चलचित्र उतार्ने निर्णयबाट भने सेभेन सिज पछि हट्यो । सोमबारदेखि हालबाट चलचित्र निकाल्ने भनिएको थियो । तर, विद्यार्थीलाई सिनेमा देखाउन विद्यालयबाट आग्रह आएको भन्दै सेभेन सिजले प्रदर्शनलाई निरन्तरता दियो ।
विभिन्न निर्णय, विवाद र पत्राचारबीच सेभेन सिज सिनेमाले अर्को चलचित्र निर्माणको तयारी गरेको छ ।