site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
चितवनको तेस्रो जित, सुदूरपश्चिमको पहिलो हार
फाइल तस्बिर ।

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सविरुद्ध ३३ रनको जित निकालेको छ ।

आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा चितवनले प्रस्तुत गरेको १६५ रनको लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिमले १८.२ ओभरमा सबै विकेट गुमाएर १३१ रनमात्र बनाउन सक्यो । प्रतियोगितामा चितवनको यो तेस्रो जित हो ।

चितवनले यसअघि पहिलो र दोस्रो खेलमा क्रमशः काठमाडौंविरुद्ध पाँच विकेटको र पोखरा एभेन्जर्सविरुद्ध ८७ रनको जित निकालेको थियो । तेस्रो खेलमा भने चितवनले कर्णाली याक्सविरुद्ध ६ विकेटको हार बेहोरेको थियो ।

सुदूरपश्चिमका इशान पाण्डेले सर्वाधिक ३५ रन बनाए । इशानले २८ बलमा चार चौका र एक छक्का प्रहार गरेका थिए । ओपनर सैब जैब र विनोद भण्डारीले क्रमशः १८ र १० रन जोडे ।

ब्रान्डन म्याकमुलमले १३ रन थप्दा दीलप्रित बज्वाले १२ रन जोडे । स्कट कुग्गेलेनले १६ रन थप्दा नरेन साउदले १० रन बनाए । 

सुदूरपश्चिमविरुद्ध लुम्बिनीका रिजन ढकाल, जान निकोल लोफ्टी इटोन, अमरसिंह रौटेला र कप्तान कुशल मल्लले समान दुई विकेट लिए । रजनले सैब जैब र नरेश साउदको विकेट लिए ।

इटोनले सुदूरपश्चिमका बज्वा र कप्तान दीपेन्द्रसिंह ऐरीको विकेट लिए । अमरसिंहले नरेश बुढाएर र इशान पाण्डेलाई पभेलियन फर्काए । यस्तै, कप्तान कुशलले विनोद भण्डारी र ब्रान्डन म्याकमुलमको विकेट लिएका थिए । 

यसबाहेक, रञ्जित कुमार र सोहेल तान्विरको नाममा एक विकेट रह्यो । रञ्जितले आरिफ सेखको विकेट लिँदा तान्विरले कुग्गेलेनलाई पभेलियन फर्काए ।

पहिलो इनिङ : एसाखिलको उत्कृष्ट ब्याटिङ

त्यसअघि टस जितेर ब्याटिङमा आएको चितवनले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १६४ रनको योगफल खडा गरेको थियो ।

चितवनका ओपनर हसन एसाखिलले ६५ रन बनाए । उनले ५२ बलमा ६ चौका र तीन छक्का प्रहार गरे । एसाखिललाई १६औँ ओभरको पहिलो बलमा स्कट कुग्गेलेनले नरेश बुढाएरबाट क्याच गराएका थिए ।

रवि बोपाराले ३६ रन थपे । उनले आक्रामक रुपमा प्रस्तुत भएका बोपाराले १८ बलमा दुई चौका र दुई छक्का प्रहार गरे । बोपारालाई २०औँ ओभरको तेस्रो बलमा दीपेन्द्रसिंह ऐरीले नरेश बुढाऐरबाट क्याच गराए ।

विपीन रावलले २० बलमा दुई चौकासहित १७ रन थपे । विपीनलाई ११औँ ओभरको तेस्रो बलमा सैब जैबले कुग्गेलेनबाट क्याच गराए । कप्तान कुशल मल्लले १६ बलमा एक चौकासहित १३ रन थपे । कुशललाई १८औँ ओभरको दोस्रो बलमा कुग्गेलेनले बोल्ड गरे । ओपनर सन्तोष कार्की भने नौ रन बनाएर पभेलियन फर्किए । सन्तोषलाई ब्रान्डन म्याकमुलमले चौथो ओभरको पहिलो बलमा नरेश बुढाऐरबाट क्याच गराएका थिए ।

अविजित रहेका जान निकोल लोफ्टी इटोल र अमर सिंह रौटेलाले क्रमशः दुई र ६ रन बनाए ।

सुदूरपश्चिमका स्कट कुग्गेलेनले दुई विकेट लिए । चार ओभर बलिङ गरेका कुग्गेलेनले २९ रन खर्चिए । ब्रान्डन म्याकमुलम, कप्तान दीपेन्द्रसिंह ऐरी र सैब जैबले समान एक विकेट लिए ।

प्रतियोगितामा सुदूरपश्चिम यो पहिलो हार हो । सुदूरपश्चिमले यसअघि विराटनगर किंग्सविरुद्ध ९० रनको, काठमाडौं गुर्खाजविरुद्ध ७३ रनको र लुम्बिनी लायन्सविरुद्ध ४५ रनको जित निकालेको थियो । 

यसअघि, आजै भएको पहिलो खेलमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सविरुद्ध एक रनको साँघुरो जित निकालेको थियो ।

प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१  १६:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro