काठमाडौं । नेपाल प्रहरीमा कार्यरत श्रीमान्/ श्रीमती धेरै नै छन् । तर, एउटै संगठनमा काम गरेर उपल्लो तहमा पुग्ने प्रहरी अधिकारी विरलै छन् । यही अपवादको जोडीमध्ये एक हुन्– दुर्गासिंह चन्द र गणेश चन्द । त्यसो त, श्रीमान् गणेश चन्दभन्दा सिनियर हुन्, दुर्गा सिंह ।
२०५१ चैतमा प्रहरी निरीक्षकमा एकै साथ सेवा शुरु गरेका दुर्गा डीएसपी बढुवादेखि श्रीमानलाई पछि पार्दै सिनियर बनेकी थिइन् । उनीहरुको विवाह दुवै प्रहरी निरीक्षक हुँदा २०५६ सालमा भएको हो । डीएसपी बढुवादेखि श्रीमानभन्दा सिनियर बनेकी दुर्गाले डीआईजी बढुवा हुँदासम्म कायम राखिन् ।
एसएसपीबाट डीआईजीमा गणेश चन्द बढुवा हुँदा दुर्गासिंह गण्डकी प्रदेश प्रहरीको कमाण्ड सम्हालिरहेकी छन् ।
उनी एआईजी बढुवाको प्रबल दावेदार समेत हुन् । दुर्गा २०७९ असार १७ मै डीआईजीमा बढुवा भएकी थिइन् । डीआईजीमा बढुवा भएका श्रीमान गणेश चन्दलाई उनले फेस बुकमार्फत नै बधाई साटेकी छन् ।
फेसबुकमार्फत बधाई दिँदै सिंहले भनेकी छन्, ‘बधाई छ, राजा तपाईंले डीआईजी पदोन्नतिको योग्यता पाएकामा । २९ वर्षको लगनशील, कडा परिश्रम अन्ततः सार्थक भएको छ । तपाईंको निडर आत्मा, आशावादी र दृढ संकल्प हामी सबैका लागि प्रेरणा हो ।’
उनले अघि थपेकी छन्, ‘‘म तपाईंलाई हरेक दिन विश्मय र पूर्णगर्वका साथ हेर्छु तपाईं हाम्रो घर र जीवनको तारा हुनुहुन्छ ।’’
डीआईजी दुर्गा सिंह आउँदो चैतमा प्रहरीको ३० वर्षे सेवा हदका कारण अवकाश जानेछिन् । उता चन्द भने डीआईजीको ५६ वर्षे उमेर हदका कारण आउँदो पुसमा अवकाशमा जाँदैछन् ।