सिड्नी अष्ट्रेलिया । जीवनलाई किस्तामा ढाल्नुपर्दा प्रवासी जीवन समयको घडीसँगै हुइँकिने गर्छ । विहानै घडीको सुईंसँगै दौड्न नसक्दा धेरैले विदेशी जीवनलाई सरापेका कयैन घट्नाक्रम छन् ।
अर्थ आर्जन निम्ति गतिलो गव्तब्य मानिने अष्ट्रेलियामा बस्ने नेपालीहरूको जीवनशैली पनि घडीको सुईंभन्दा कम छैन, अपवादबाहेक । गतिलो आम्दानीका कारण पनि अष्ट्रेलिया सबैको आकर्षण बनेको छ ।
भौतिक सुखसुविधा, सामाजिक सुरक्षा भएपनि विद्यार्थी र साधारणका निम्ति भने जीवनशैली सहज छैन । फुर्सद निकालेर समुन्द्र किनारमा खिँचिएका सुन्दर तस्वीर अनि गगनचुम्बी भवनमुनिका पोष्टिएका फेसबुक फोटोहरूले स्वदेशमा फूर्ति बढाएपनि मनैदेखि खुसी भएकाहरूको प्रतिसत मापन गर्न भने कठीन छ ।
योग्यता र दाम कमाएर मुलुक फर्कन्छु भन्दै विद्यार्थी भीसामा छिरेका प्रायः नेपाली अष्ट्रेलिया जस्ता विकसित देशमा यस्तो मायाजालमा फँस्छन कि उनीहरू न त निक्लन सक्छन् न त उम्कन नै ।
प्रारम्भमा निकै कठिन विद्यार्थी जीवनपछि आवासीय भिसाको चक्करमै उनीहरूको लामो समय गुज्रिसकेको हुन्छ । केही बचाऊ वा केही गरौँ भन्ने बेलामा युनिर्भसिटीको शुल्क तिर्दै सकिन्छ । जब आवासीय भिसा प्राप्त हुन्छ तब उनीहरू पारिवारिक र किस्तामा फँसिसकेका हुन्छन् । मातृभूमिको न्यास्रोका त्यान्द्रोले छोपेपछि प्रवासको जीवन एनआरएनको नाममा अलमलमा पर्ने गर्छ ।
प्रारम्भमा पैसा कमाएर स्वदेश फिर्छु भन्दै फूर्ति लगाउने कयैन नेपालीहरू यस्तै यस्तै चक्करमा रुमल्लिएर विदेशी भएको हामीले थुप्रै देखेका छौँ । तर प्रवासी जीवनमा रमाउने पनि उत्तिकै छन् र धिकार्नेको पनि कमी छैन ।
‘‘सामाजिक र अर्थिक सुरक्षा अनि काम गर्ने वातावरणका कारण पनि मानिसहरू स्वदेश फर्कन डराउँछन्’’, प्रवासी जीवनबारेमा यसरी आफ्नो धारणा राख्छन् ग्रानभिलस्थित फ्लेभर्स अफ नेपालका सञ्चालक राजेस केसी ।
नेपालमा बस्नेभन्दा प्रवासमा बस्नेहरूलाई मुलुक प्राणभन्दा प्यारो हुन्छ । मानिस मुलुकको डाँडाकाडाँ पाखा–पखेरा अनि संस्कार र संस्कृतिमा लालायित हुन्छन् । तर फर्कन सक्दैनन् । यहाँ एउटा यस्तो जीवनमा दौडिसकेका हुन्छन् कि जहाँ पूर्णविरामले जीवन ओरालो लाग्न सक्छ, डेढ दशकभन्दा बढी अष्ट्रेलिया बसाईंको भोगाइ सुनाए व्यबसायी केसीले ।
उमेर र शरीरले यहाँको जीवनशैली जित्न सक्नुपर्छ, जुन दिन कामलाई जिँतिदैन त्यो दिन हारेको सिपाही झैँ मुन्टो निहारिउनुबाहेक केही हँुदैन यहाँ । यी कुराहरू केही नगन्य प्रतिशतमा लागू नहुन सक्छ । तर लगभग शतप्रतिशतको भोगाई यही नै हो अष्ट्रेलियामा । राजेस भन्छन्, ‘‘अलिक सम्पत्ति भएपछि त्यसमा जोड्न मन लाग्छ अनि बच्चाबच्चीको पढाई त्यसपछि दायित्वबोधले छपक्कै छोपीहाल्छ । फर्कने त कुरै बेग्लै वर्षमा एक पटक स्वदेस फिर्न पनि मुस्किल हुन्छ ।’’
नगद झिकेर घर किन्न सकिँदैन, किस्तामा सहजै पाइन्छ यहाँ । सुविधा थुप्रै छन्, यहाँ नागरिकलाई । घर, गाडी, फर्निचर अनि आवश्यक सबै सबै बस्तु किस्तामा सहजै पाइन्छ । तर किस्तामा बितेको जीवनले भने स्वतन्त्रता गुमाउँदो रहेछ सिड्नीवासी भीम बस्नेतले आफ्नो अनुभव साटे ।
समग्रमा भीम यसलाई वाध्यताका हाँसो भन्न रुचाउँछन् । उनको अनुभवमा, ‘‘अब सबै जीवन किस्तामा चलेपछि त्यही अनुरुपको कमाउनुपर्यो । तिर्नुपर्र्यो । त्यसका लागि अनुरुप काम गर्नुपर्यो अनि जुरुक्क उठेर कहीँ जाउँ, स्वदेश फर्किऊ भन्ने सोचको अवसान त्यही हुँदो रहेछ ।’’
उता मुनलाइट ग्रोसरीका सञ्चालक तोया भट्टराई यसरी भावना पोख्छन्, ‘‘जीवनशैली हेर्दा गज्जब छ, भौतिक तथा आर्थिक सुरक्षाको ग्यारेन्टी छ तर सबै चिज हुँदाहुँदै पनि एउटा चिज नभएको जस्तो हुन्छ, त्यो हो आफ्नोपन ।’’ उनी तास्मानिया नेपाली समाजका निवर्तमान अध्यक्ष हुन् ।
उता एनआरएनका उपाध्यक्ष विनोद कुँवर केहीभित्रै वर्षमै नेपाल फर्कने योजनामा छन् । उनले भैरहवामा निजी लगानीमा क्रिकेट रगंशाला बनाइरहेका छन् । उनी भन्छन्, ‘‘मुलुकको राजनीति अस्थिरता र आर्थिक सुरक्षाका कारण पनि कैयन मानिसहरू नेपाल फर्कन डराइरहेको अवस्था छ । अष्ट्रेलिया जस्तो मुलुकमा करिअर र व्यवसायिक दक्षताका आधारमा दश प्रतिशत नेपाली सुखी र खुसी देखिए पनि ९० प्रतिशत मानिस पैसा कमाए पनि सन्तुष्ट छैनन् ।’’
कुनै मानिसलाई कसैले धकेलेर वा जर्बजस्ती विदेश पठाएको हुँदैन । मानिसहरू रहर वा वाध्यता या मौकाको खोजीमा विदेसिन्छन् । त्यसैले यसका लाभ र हानीका पक्षमा आ–आफ्नै तर्क हुन्छ । तर प्रवासी जीवन सोचेजस्तो सहज र भने जस्तो कमाऊ छैन भन्ने कुराको हेक्का भन्ने सबैले राख्नुपर्ने धारणा एनआरएनका केन्द्रीय सचिव डा. ज्ञानेन्द्र रेग्मी राख्छन् । जे होस् जसो होस् विदेसिँदै गर्दा पढेर र कमाएर स्वदेस फर्कन्छु भन्नेहरू औलामा गन्ने मात्र छन् ।