site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
आठवटा सम्झौतापत्रमा हस्ताक्षर हुने, चीनले ८ अर्ब ३१ करोड अनुदान सहयोग दिने तयारी 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सोमबार बिहान चीन प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओलीको चार दिने औपचारिक चीन भ्रमणमा नेपाल र चीनबीच कम्तीमा ८ वटा समझदारीपत्र (एमओयू) तथा सम्झौतापत्रमा हस्ताक्षर हुने भएको छ । 

“प्रधानमन्त्रीज्यूको भ्रमणमा ८ देखि १० वटा एमओयू तथा सम्झौतापत्रमा दुई देशबीच हस्क्षाक्षर गर्ने तयारी छ,” परराष्ट्र मन्त्रालय उच्च स्रोतले बाह्रखरीसँग भन्यो, “केही विषय बेइजिङ्मा नै टुङ्ग्याइने छ ।” 

प्रधानमन्त्री ओली र चिनियाँ समकक्षीबीच मंगलबार हुने प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय बैठकपछि एमओयू तथा सम्झौतापत्रमा हस्ताक्षर हुनेछ । दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा सम्बन्धित अधिकारीले एमओयू तथा सम्झौतापत्रमा हस्ताक्षर गर्नेछन् । 

“टोखा–छहरे सुरुङ्मार्ग निर्माणसम्बन्धी लेटर अफ एक्सचेन्जमा नेपालका चीनका अधिकारीले हस्ताक्षर गर्नेछन्,” परराष्ट्र मन्त्रालय स्रोतले भन्यो ।

मंगलबार नेपाल र चीनबीच व्यापार प्रवद्र्धन, भैँसीको मासु निर्यात, दुई देशका टेलिभिजनबीच सहकार्य, राष्ट्रिय समाचार समिति (रासस) र चिनियाँ न्यूज एजेन्सी सिन्ह्वाबीच सहकार्यलगायतका विषयमा समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर हुनेछ । 

“चीन दुईथरी अनुदान सहायता नेपाललाई उपलब्ध गराउन सहमत भएको छ । पहिलो, दुई करोड अमेरिकी डलर (२ अर्ब ७१ करोड रुपैयाँभन्दा बढी) र दोस्रो, ३० करोड चिनियाँ आरएमबी (५ अर्ब ६० करोड रुपैयाँभन्दा बढी) नेपाललाई उपलब्ध गराउनेछ,” परराष्ट्र स्रोतले भन्यो ।

स्रोतका अनुसार, प्रधानमन्त्री ओलीको चीन भ्रमणमा नेपाललाई चीनले ८ अर्ब ३१ करोड रुपैयाँभन्दा बढी अनुदान सहायता उपलब्ध गर्ने सम्बन्धमा सहमति हुनेछ ।

प्रधानमन्त्री ओलीको चीन भ्रमणका समयमा जारी गरिने संयुक्त विज्ञप्तिमा ४०० केभीको गल्छी–रसुवागढी–केरुङ विद्युत् प्रसारण लाइन र अर्को २०० केभी क्षमताको किमाथान्का–छेन्ताङ विद्युत् प्रसारण लाइन निर्माणको विषय समेटिने स्रोतले जनायो । 

अरनिको राजमार्जको मर्मत र स्याफ्रुबेसी–रसुवागढी सडक विस्तार गर्ने सम्बन्धमा दुई देशबीच सहमति हुने स्रोतको दाबी छ । 

बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) कार्यान्वयन योजना सम्झौताका सम्बन्धमा नेपालले आफ्नो धारणा चीनलाई पठाइसकेको छ । “बीआरआईसम्बन्धी सम्झौतामा हस्ताक्षर हुने प्रवल सम्भावना छ । नेपालले सम्झौताका विषयमा आफ्नो धारणा पठाइसकेको छ । बेइजिङ् यस विषयमा आन्तरिक छलफलमा हुँदैछ,” परराष्ट्र मन्त्रालय स्रोतले भन्यो ।

बीआरआईका सम्बन्धमा सत्तारुढ दुई ठूला दल नेकपा एमाले र नेपाली कांग्रेसबीचको संयन्त्रले साझा धारणा बनाएको हो । सोही धारणालाई लिखित रुपमा चीनलाई पठाएको छ । 

“हाम्रो मात्र स्रोत–साधनले नेपालको विकास गर्न सकिँदैन । यसका लागि आवश्यकता हेरी बीआरआईअन्तर्गत ऋण र अनुदान सहयोग दुवै लिने सहमति दुई ठूला दलहरुबीच भएको छ । तत्काल अनुदानमा जोड दिने पक्षमा हामी छौं,” परराष्ट्र मन्त्रालय स्रोतले भन्यो ।
 

प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  १६:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro