काठमाडौं । कर्णाली याक्समा अनुबन्ध भएका हङकङका बाबर हायत नेपाल आइपुगेका छन् । मंगलबार अन्तर्राष्ट्रिय विमानस्थलमा झरेका उनलाई हिमालयन बिल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सका मालिक झनक दत्त खनाल, सहमालिक गृहेन्द्र घिमिरे र प्रशिक्षक ज्ञानेन्द्र मल्लले स्वागत गरे ।
३२ वर्षीय बाबरले हङकङका लागि ७९ टी–२० आई खेलमा एक हजार ९१० रन बनाएका छन् । उनको स्ट्राइक रेट १३२.२७ छ । हङकङका लागि उनले दुई शतक र १० अर्धशतक बनाएका छन् । उनले सन् २०२४ मै नेपालविरुद्ध नै ११० रन बनाएका थिए ।
मल्ल प्रशिक्षक तथा सोमपाल कामी मार्की रहेको कर्णाली याक्सले चार विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ । कर्णाली याक्सले गत साता विश्व क्रिकेटकै चर्चित खेलाडी शिखर धवनलाई टोलीमा अनुबन्ध गरिसकेको छ । उनी एनपीएल खेल्ने सबैभन्दा ठूलो नाम हुन् ।
त्यस्तै, टोलीमा वेस्टइन्डिजबाट टेस्ट खेलिसकेका वाल्टन, हङकङबाट अन्तर्राष्ट्रिय खेल खेलिरहेका अनुभवी खेलाडी बाबर हायात र ओमानका पूर्वकप्तान जिसन मक्सूदलाई अनुबन्ध गरेको छ ।
टोलीमा नेपाल राष्ट्रिय टोलीबाट खेलिरहेका गुल्सन झा, देव खनालसहित नन्दन यादव छन् । ‘बी’ श्रेणीबाट अर्जुन घर्तीसहित रित गौतम, मौसम ढकाल र भुवन कार्की छन् । ‘सी’ श्रेणीबाट दीपेन्द्र रावत र युनिसविक्रमसिंह ठकुरीसँगै दीपक डुम्रे छन् । ट्यालेन्ट हन्टबाट विपिनप्रसाद शर्मालाई आइकोनिक प्लेयर्सका रूपमा छनोट गरिसकेको छ ।
यसअघि कर्णाली याक्सले कलाकार स्वस्तिमा खड्कालाई ‘फेस अफ कर्णाली याक्स’ नियुक्त गरेको थियो । युथ एम्बेस्डरमा सिसन बानियाँ छन् ।
प्रतियोगिता मंसिर १५ देखि पुस ६ सम्म हुँदै छ । कर्णाली याक्सले आफ्नो पहिलो खेलमा जनकपुरसँग खेल्ने छ ।