काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपीएल)ले नेपालको पर्यटन प्रवर्द्धन र युवा प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्न प्रत्यक्ष सहयोग पुग्ने बताएका छन् ।
सोमबार (आज) ऐतिहासिक धरहरा परिसरबाट एनपीएलको ट्रफी अनावरण गर्दै प्रधानमन्त्री ओलीले लिगका लागि सरकारले सक्दो सहयोग र प्रोत्साहन गर्ने विश्वास दिलाए ।
खेल क्षेत्रको विकासका लागि सरकार सधैँ खेलाडीको साथमा रहेको बताए । एनपीएलले नेपाली क्रिकेटमा नयाँ आयाम थप्ने अपेक्षा व्यक्त गरे । “क्रिकेट हाम्रो पुस्ताको सपना र गौरवको विषय पनि हो । यस लिगको माध्यमबाट नेपाली क्रिकेटमा नयाँ आयाम थप्न सकियोस्,” प्रधानमन्त्री ओलीले भने,“सरकार यहाँहरूकै साथमा छ । व्यक्तिगत रूपमा म सरकारमा हुँदा वा नहुँदा जहिल्यै पनि मेरो रुचि र अपनत्व रहनेछ । सहभागी खेलाडी सबैलाई जितको शुभकामना दिन चाहन्छु ।”
उनले यस खेलमार्फत युवा प्रतिभाको उजागर र नेपालीले अवसर पाएमा केही गर्छ भन्ने मान्यतालाई स्थापित होस् भन्ने कामना समेत गरे । रासस