काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालले उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई भेटेर ध्यानाकर्षणपत्र बुझाएको छ । आइतबार समूहका अध्यक्ष प्रदीपराज वन्त नेतृत्वको १३ सदस्यीय टोलीले सिंहदरबारमा गएर मन्त्री सिंहलाई नौबुँदे ध्यानाकर्षणपत्र बुझाएको हो ।
ध्यानाकर्षणपत्रमा नेपालमा विभिन्न सञ्चार गृहमा फोटो पत्रकारिता गर्ने फोटो पत्रकारहरूको हकहितका लागि सरकारका तर्फबाट आवश्यक सहयोग र फोटो सङ्ग्रहालयका लागि आवश्यक पहल गरिदिन आग्रह गरिएको छ ।
त्यस्तै, ‘फोटो पत्रकारिताको माध्यमबाट जीविकोपार्जन गर्ने फोटो पत्रकारहरूको बिमा तथा स्वास्थ सुरक्षा, फोटो पत्रकारहरूलाई व्यावसायिक तालिम दिन वार्षिकरूपमा बजेट नियमित र समयअनुसार अपडेट रहन फोटो पत्रकारहरूलाई आवश्यक क्यामेरा खरिद गर्न सहुलियत दरमा ऋण उपलब्ध गराउन पहल गरिदिन पनि ध्यानाकर्षण गराइएको छ ।
नवनिर्वाचित राष्ट्रिय फोटो पत्रकार समूहको कार्यसमितिलाई सम्मान गर्दै मन्त्री सिंहले पत्रकारितामा फोटोको महत्त्व धेरै नै रहेको र फोटो पत्रकारहरूका लागि आफ्नो तर्फबाट सक्दो सहयोगका लागि पहल गर्ने आश्वान दिए ।