काठमाडौं । पोखरा एभेन्जर्सले स्कटल्यान्डका क्रिकेटर माइकल लिस्कलाई टाेलीमा अनुबन्ध गरेकाे छ । नेपाल प्रिमियर लिग (एनपीएल)का लागि पोखरा एभेन्जर्सले विदेशी खेलाडीका रूपमा लिस्कलाई भित्र्याएको हो ।
३४ वर्षीय लास्क अलराउन्डर हुन् । उनी लामो छक्का प्रहारका लागि परिचित छन् । उनले टी–२० मा ८० म्याच खेलेका छन् । जसमा ८५९ रन बनाउँदै ४५ विकेट लिएका छन् ।
"एनपीएल र पोखरा एभेन्जरसँग जोडिन पाउँदा म अत्यन्तै खुसी छु । पोखराको टिम राम्रो बन्दै गइरहेको छ । हामी मैदानमा जोसिलो क्षण तय गर्न तत्पर छौँ," लास्कले भने ।
पोखरा एभेन्जर्सका अध्यक्ष सुवोध त्रिपाठीले लास्ककाे आगमनले पाेखराकाे खेल प्रदर्शन अब्बल हुने बताए ।
टिमका म्यानेजिङ डिरेक्टर मनोबल श्रेष्ठले विदेशी खेलाडीकाे आबद्वताले टिम र एनपीएलको गरिमा बढाउने बताए ।
एनपीएलकै सबैभन्दा महँगो टिम पोखरामा नेपाली राष्ट्रिय टोलीका ओपनर कुशल भुर्तेल मार्की खेलाडीका रूपमा छन् ।
त्यस्तै, टोलीमा नेपालबाट सागर ढकाल, आकाश चन्द, किरणकुमार ठगुन्ना, नारायण जोशी, विपीन खत्री, दिलीप नाथ, तिर्तराज दास, सुनम गौतम, दिनेश खरेल र अमृत गुरुङ अक्सनमार्फत छनोट भएका छन् ।
त्यस्तै, आईपीएलमा चेन्नई सुपरकिङ्सका लागि ब्याटिङ र फिल्डिङ प्रशिक्षक रहेका राजीव कुमारलाई पोखराले मुख्य प्रशिक्षकका रपमा अनुबन्ध गरिसकेको छ ।
एनपीएल आगामी मंसिर १५ देखि पुस ६ सम्म आयोजना हुँदैछ ।