site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
पठाओसहित राइड सेयरिङको भाडा सरकारले तोक्ने, कस्ता छन् प्रस्तावित मस्यौदाका प्रावधान ?

काठमाडौं । राइड सेयरिङ कम्पनी नियमनमा आउने भएका छन् ।  सरकारले कानुनी व्यवस्था गर्दै हाल कम्पनीका रूपमा दर्ता भएर आफ्नै तरिकाले सेवा सञ्चालन गरिरहेका कम्पनीहरू नियमनमा ल्याउने तयारी गरेको हो । 

नेपालमा सञ्चालित जुमजुम, टुटल, इड्राइभ, इनड्राइभ, पठाओलगायत राइड हेलिङ कम्पनीले निजी सवारीमा यात्रु बोक्ने सुविधा दिएका छन् ।  सार्वजनिक यातायात व्यवसायीको विरोध र राइड सेयरिङले आमनागरिकलाई सुविधा भएको भन्दै सरकारले सञ्चालन हुन दिएको छ ।

कानुनी व्यवस्था नहुँदा यी कम्पनी आफैँले भाडा र कमिसन तय गर्ने, बेला–बेला लिने चर्काे भाडादेखि यात्रु एवं राइडरको सुरक्षाको विषयमा प्रश्न उठ्ने गरेको छ । यी विषयलाई सम्बोधन गर्न संघ तथा प्रदेश सरकारले कानुनी व्यवस्थाको तयारी गरेको छ । 

Dabur Nepal
NIC Asia

पठाओ र इनड्राइभमा चार गुणासम्म कसरी बढ्छ भाडा ?

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बनाइरहेको नयाँ विधेयकको मस्यौदामा राइड सेयरिङको व्यवस्था समेटेको छ ।  मन्त्रालयका सहसचिव एवम् प्रवक्ता सुशीलबाबु ढकालले राइड सेयरिङलाई आमनागरिकले स्वीकारे पनि हालसम्म कानुनमा नसमेटिएको बताए ।

“मन्त्रालयले सवारी व्यवस्थापन ऐनको मस्यौदा तयार गरिरहेको छ । त्यसमा यो विषयलाई सम्बोधन गरिएको छ,” प्रवक्ता ढकालले भने, “ऐन पारित भएपछि राइड सेयरिङको सुविधालाई एउटा कार्यविधि बनाएर नियमन गरिन्छ ।”

ऐनको मस्यौदा तयार भएर अन्तिम रूपमा पुगेको ढकालले बताए । सरकारले मस्यौदामाथि संशोधन प्रस्ताव पठाउँछ,  यसमाथि छलफल भएपछि प्रतिनिधिसभामा जाने उनको भनाइ छ ।

वाग्मती प्रदेश सरकारले राइड सेयरिङ कम्पनीको व्यवस्थापन गर्न बनाएको कार्यविधि पास गर्न मन्त्रिपरिषद् पठाउने तयारी गरेको छ । 

प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिव बलराम निरौलाले ऐनले दिएको अधिकार प्रयोग गरी मन्त्रिपरिषद्ले पारित गर्ने गरी ‘राइड सेयरिङ सवारी व्यवस्थित गर्नेसम्बन्धी कार्यविधि’को मस्यौदा अन्तिम रूपमा पुगेको बताए ।

मन्त्रिपरिषद्बाट पारित भएर राजपत्रमा प्रकाशित भएपछि कार्यविधि कार्यान्वयनमा आउँछ । 

कार्यविधिको मस्यौदामा यस्ता कम्पनी प्रदेशमा दर्ता हुनुपर्ने, निश्चित सर्तको पालना गर्नुपर्ने, भाडा प्रदेश सरकारले तोक्ने जस्ता प्रावधान राखिएको उनले बताए । यसबाहेक वाग्मती प्रदेशमा सञ्चालनमा आउने राइड सेयर सुविधा प्रदान गर्ने कम्पनीले सुरक्षाका व्यवस्था पालना गर्नुपर्ने, कम्पनीको सफ्टवेयर नेपालकै हुनुपर्ने जस्ता प्रावधान राखिएको छ ।

“पछिल्लो समय बढी भाडा लिने, सुरक्षा जोखिम जस्ता विषय उठेपछि कार्यविधि ल्याउन काम गरिरहेका छौँ । सक्दो चाँडो कार्यविधि कार्यान्वयनमा ल्याउँछौँ,” प्रदेश सचिव निरौलाले भने ।

गण्डकी प्रदेश सरकारले पनि यस्तै कार्यविधि अन्तिम चरणमा पुर्‍याएको छ । 

प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले राइड सेयरिङ सुविधा व्यवस्थित गर्न ल्याउन लागेको कार्यविधिलाई अन्तिम रूप दिन सरोकारवालासँग छलफल गरिरहेको छ ।

मन्त्रालयका उपसचिव प्रदीपकुमार रेग्मीले सोमबार (आज) मात्रै सरोकारवालासँग छलफल भएको जानकारी दिए । “कार्यविधि ल्याउने तयारी अन्तिमतिर पुगेको छ । यसलाई कार्यान्वयनमा ल्याउन सार्वजनिक यातायात व्यवसायीसँग सहमति हुनेगरी छलफल गरेर टुंगो लगाउँछौँ,” उपसचिव रेग्मीले भने ।

संघीय सरकारले नयाँ ऐन यसलाई समेटेर ल्याएको हुँदा प्रदेश सरकारलाई कार्यविधि पारित गरी कार्यान्वयनमा लैजान सजिलो भएको उपसचिव रेग्मीको भनाइ छ । “गण्डकी प्रदेशको ऐनमा यसको व्यवस्था पहिलेदेखि नै छ । केन्द्रका नहुँदा समस्या भएको थियो, अब त्यहाँ पनि समेटिए पछि सहज हुन्छ,” उनले भने ।

गण्डकीले कार्यविधिमा प्रदेश सरकारले भाडा तोक्ने, कम्पनीका रूपमा दर्ता हुुनुपर्ने, अनुमति लिएर यातायात कार्यालयमा एप दर्ता भएर मात्रै सञ्चालन गर्न मिल्ने जस्ता प्रावधान राखेको रेग्मीले बताए । यसबाहेक नेपाली सफ्टवयर हुनुपर्ने, सर्भर नेपालमा हुनुपर्ने, चालक तथा यात्रुको सुरक्षा र बिमालगायत विषय समेटिएका छन् ।

यात्रुको सुरक्षाका लागि ट्र्याकिङ सिस्टम हुनुपर्ने विषय गण्डकी प्रदेशले समेट्ने भएको छ । कार्यविधि कहिलेदेखि सञ्चालनमा आउँछ भनेर यकिन भन्न नसकिए पनि चाँडै नै प्रक्रिया टुंगिने उपसचिव रेग्मीले बताए ।

हाल सञ्चालनमा रहेका कम्पनीका एपबाट राइड सेयर सुविधा लिँदा कुनै समस्या परेमा कहाँ सम्पर्क गर्ने भन्ने स्पष्टता समेत छैन ।  कम्पनीहरूले तोकेको भाडादर, दुर्घटनाको अवस्थामा के कसरी व्यवस्थापन गर्ने, बिमा एवं यात्रु सुरक्षाका विषय कम्पनीले नै तय गरेअनुसार छन् । 

संघ एवं प्रदेश सरकारले कार्यविधि बनाएर यी सबै विषयलाई समेटेपछि राइड सेयरिङ कम्पनी व्यवस्थित तरिकाले नियमनमा रही सञ्चालनमा आउने अपेक्षा गरिएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०८१  १६:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro