काठमाडौं । नेपाल एडभेन्चर रनिङ महासंघले चीनमा भएको दुई अन्तर्राष्ट्रिय ट्रेल रेसमा स्वर्ण पदक जित्न सफल धाविका सुनमाया बुढालाई बिहीबार स्वागत गरेको छ । सुनमाया बिहीबारै स्वदेश फर्केकी हुन् ।
राष्ट्रिय खेलकुद परिषद् कार्यकारी समितिका पूर्वसदस्यसमेत रहेका महासंघका अध्यक्ष एकेन्द्र कुँवर, वरिष्ठ उपाध्यक्ष राजन खत्रीलगायत पदाधिकारीले सुनमायालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।
सुनमायाले अक्टोबर १९ तारिखमा भएको अल्ट्रा ट्रेल निन्घाईंमा स्वर्ण जितेकी थिइन् । ६० किलोमिटर दुरीको रेस सुनमायाले पाँच घण्टा ४० मिनेट ०३ सेकेन्डमा पूरा गरेकी थिइन् ।
अर्को स्वर्ण सुनमायाले नोभेम्बर २ मा भएको साइगु १०० केमा जितिन् । सुनमायाले निर्धारित १०५ किलोमिटर दुरी ९ घण्टा ३२ मिनेट ४७ सेकेन्डमा तय गरेकी थिइन् । दुवै रेसमा सुनमायाले कोर्स रेकर्ड पनि कायम गरेको महासंघकी सदस्य एवं अन्तर्राष्ट्रिय समन्वयकर्ता प्रीति खत्रीले जनाएकी छन् ।
दुई प्रतियोगितासहित सुनमायाले यो वर्ष ९ अन्तर्राष्ट्रिय रेसमा सहभागिता जनाएकी छन् । बाँकी सात रेसमध्ये सुनमाया तीनमा पहिलो तथा एकमा तेस्रो स्थानमा रहिन् ।
अध्यक्ष कुँवरले सुनमायाको सफलता र साहसको प्रशंसा गर्दै चाँडै नगद पुरस्कारसहित सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरे ।