
काठमाडौं । कोसी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलावल्लभ अधिकारीले जापान मानव तस्करी गरेको आशंकापछि टोकियो विमानस्थलबाटै फिर्ता गरिएको पाइएको छ ।
उनलाई मानव तस्करीको आरोप लागेको छ । प्रदेश मन्त्रीको विदेश भ्रमण पनि संघीय मन्त्रिपरिषद्ले स्वीकृत गर्नुपर्ने भए पनि उनी आफूखुसी जापान गएको पाइएको छ । उनीसँगै तीन जना सोही मन्त्रालयको नक्कली कार्ड बनाएर जापान उडेको खुलेको छ ।
संघीय र प्रदेश सरकारको अनुमतिबेगरै उनी कात्तिक १३ गते जापान उडेका थिए । टोकियो विमानस्थलमा उनलाई ४८ घण्टा राखेर फिर्ता गरेको पाइएको छ । उनी नेपाल फर्किनासाथ मन्त्रीबाट राजीनामा दिएका छन् ।
मन्त्रालयको नक्कली कागजात बनाएर जापान गएका तीनसमेत मन्त्री अधिकारीलाई जापानको विमानस्थलबाटै डिपोट गरिएको थियो । नक्कली कागजात बनाएका तीन जनालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिसकेको छ ।
उनीहरुको बयानका आधारमा अन्य थप तीन जनालाई पनि पक्राउ गरिएको प्रहरीले जानकारी दियो । काठमाडौं प्रहरी परिसरका एसपी नवराज अधिकारीका अनुसार पक्राउ परेकामाथि अनुसन्धान सुरू भएको छ ।
“अहिले अनुसन्धान हुँदैछ । प्रारम्भिक अनुसन्धानमै छौँ । नयाँ तथ्य आएको छैन,”एसपी अधिकारीले भने ।
विवादपछि मन्त्री अधिकारीले बुधबार नै मुख्यमन्त्री हिक्मत कार्की समक्ष राजीनामा बुझाइसकेका छन् । तर राजीनामाले मात्रै नहुने भन्दै पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने माग उठेको छ ।
जापान जाने क्रममा आफूसँगै तीनजना नेपालीले नक्कली ‘डकुमेन्ट’ बनाएर उतै भाग्ने योजना बनाएको पाएपछि आफू फिर्ता भएको मन्त्री अधिकारीले दाबी गरे पनि नक्कली कागजात मन्त्रीको स्वीकृतिबेगर नभएको एमालेकै एक प्रदेश सभा सदस्यले बताए ।
अधिकारीले बुधबार पत्रकार सम्मेलन गर्दै भने, “टोकियो महानगरपालिकामा हुने कार्यक्रमका म एक्लै गएको हो । तर, हङ्कङमा तीन जना नेपाली भेटिए । उतै लुक्ने योजनामा रहेछन् । उनीहरू उतै बस्ने खुलेपछि देशप्रति गद्दारी गर्नु हुँदैन भनेर फिर्ता हुन खोज्दा ट्रान्जिटबाट फिर्ता हुन मिलेन ।”
उनले त्यसपछि जापान विमानस्थलबाट आफू फिर्ता भएको बताए । जनक राई, दावा शेर्पा, अनिता तिमल्सिना र कञ्चन देवकोटालाई मन्त्रीले सँगै लिएर गएका थिए । ती व्यक्तिले आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कर्मचारीको नक्कली परिचय पत्र बोकेको स्रोतको भनाइ छ ।
यसबारे पनि प्रहरीले अनुसन्धान सुरू गरेको छ । टोकियो महानगरपालिकाले कार्यक्रममा मन्त्रीलाई निमन्त्रणा गरेकोबारे कुनै जानकारी नआएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय स्रोतले बताएको छ ।
मन्त्री अधिकारी जापानको विमानस्थलमा रोकिएपछि त्यहीँबाट गलत ठाउँमा आइपुगेको भन्दै केही सांसद तथा मुख्यमन्त्रीलाई म्यासेज लेखेको स्रोत बताउँछ ।
अक्टोबर २९ देखि नोभेम्बर ३ तारिकसम्मको कार्यक्रममा निमन्त्रणा आएको मन्त्री अधिकारीको दाबी छ । मुख्यन्त्रीको निर्देशनपछि राजीनामा गरेका मन्त्री अधिकारीले आफैंले गल्ती गरेको फिल गरेर नैतिकताको हिसाबले राजीनामा दिएको बताए ।
उनले भने, “केही टिका टिप्पणीहरु बाहिर आए । यो आइसकेपछि आज हाम्रो देशमा एक खाले राजनीतिक नैतिक खडेरीको चर्चा, परिचर्चा भएको समाजमा नकारात्मक चर्चा बढ्दै गएको बेला यस्तो टिप्पणी सुनी–सुनी पदमा बसिरहन मलाई उचित लागेन ।”
मन्त्री अधिकारी मोरङको क्षेत्र नम्बर २ (२) बाट दोस्रो कार्यकालको लागि निर्वाचित एमाले सांसद हुन् ।
पहिलो कार्यकालमा पनि सुन तस्करी र सनम शाक्यको हत्या प्रकरणमा संलग्न प्रहरी अधिकृतको पक्षमा अदालतमा बहस गरेपछि उनलाई सभामुखले तीन महिनासम्म सभाका बैठकमा धारणा राख्न रोक लगाएका थिए ।
यता नेकपा एमालेले भने प्रहरी अनुसन्धानका क्रममा मन्त्री अधिकारीको पनि संलग्नता पुष्टि भए सांसद पदबाट हटाएर अनुसन्धान गर्ने बताएको छ ।
एमालेका एक नेताले बाह्रखरीसँग कुरा गर्दै भने, “अहिले सँगै गएकाहरूलाई पक्राउ गरेर अनुसन्धान सुरू गरिएको छ । उनीहरुको बयान के आउँछ । मन्त्रीको संलग्नता कस्तो खालको हो त्यसपछि मात्रै उहाँलाई के कारबाही गर्ने भन्ने निर्णय हुनेछ ।”