site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
चार वर्षअघि चुनाव हारेका ट्रम्पले अहिले कसरी निकाले ऐतिहासिक जित ? जानौँ पाँच कारण

काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पले ऐतिहासिक जित दर्ता गरेका छन् । मतगणना अघि ट्रम्प र कमला ह्यारिसबीच कडा प्रतिस्पर्धा हुने चर्चा थियो । तर, नतिजा आएपछि ट्रम्प सहजै जित निकाले । ह्यारिसले धेरै राज्यमा जो बाइडेनको प्रदर्शन नै दोहोर्‍याउन सकिनन् ।

सन् २०२० मा भएको राष्ट्रपति निर्वाचनमा पनि ट्रम्प रिपब्लिकन पार्टीबाट उमेदवार बनेका थिए । उनी त्यतिबेला डेमोक्रेटिक पार्टीका उमेदवार तथा हालका राष्ट्रपति जो बाइडेनसँग पराजित भएका थिए ।

अहिले ट्रम्पले ५०.९ प्रतिशत मत पाएका छन् । ह्यारिसले ४७.६ प्रतिशत मत प्राप्त गरिन् । इलेक्टोरल कलेजमा ट्रम्पले २९५ र कमला ह्यारिसले २२६ सिट पाएकी छन् । अमेरिकामा राष्ट्रपतिका लागि २७० इलेक्ट्रोल भोट भए पुग्छ ।

Dabur Nepal
NIC Asia

चुनावी अभियानका क्रममा ट्रम्पले अवैध शरणार्थी, व्यापार, मुद्रास्फीति र अर्थतन्त्रको मुद्दा उठाएका थिए । सुरुमा ट्रम्पले जो बाडेनको नीति र उमेरलाई पनि हतियारको रूपमा प्रयोग गरेका थिए । चौतर्फी दबाब र आलोचनापछि बाइडेन पछि हटे । विपक्षी डेमोक्रेटिक पार्टीले ह्यारिसलाई राष्ट्रपतिको उमेदवार बनायो ।

ह्यारिसले वातावरण, गर्भपतन र एलजीबीटीक्यूका विषयलाई जोड दिएकी छन् । तर, अधिकांश मतदाताले ह्यारिसले उठाएका मुद्दामा ध्यान दिएनन् । 

ट्रम्पले उठाएका मुद्दाहरू सार्वजनिक चिन्ताका विषय थिए । त्यसैको फाइदा उनले चुनावमा पाएको विश्लेषकहरूको तर्क छ । हेरौँ, चार वर्षपछि ट्रम्पले कसरी चुनाव जिते ? 

१. अश्वेत र ल्याटिनोको साथ

ट्रम्पलाई अश्वेत र ल्याटिनो मतदाताको समर्थन पनि प्राप्त भएको छ । यसले उनको जितको बाटो सहज बनायो । एपी भोटकास्टले १.२० लाखभन्दा बढी मानिसमा सर्वेक्षण गरेको थियो । जसले अघिल्लो चुनावमा बाइडेनलाई अश्वेत र ल्याटिनो मतदाताले बढी सहयोग गरेको खुलासा गरेको छ । तर, यसपटक ह्यारिसले बाइडेनभन्दा कम मत पाएकी छन् । यी मतदाताहरूले ट्रम्पलाई मत दिए । ट्रम्पले फ्लोरिडाको मियामी डेड काउन्टी कब्जा जमाए । यो काउन्टी डेमोक्रेटिक पार्टीको गढ मानिन्छ । यहाँ करिब ६८ प्रतिशत मतदाता ल्याटिनो हुन् । सन् २०२० को तुलनामा पनि ट्रम्पले युवामाझ राम्रो प्रदर्शन गरेका छन् ।

२. अर्थतन्त्रको मुद्दा

ट्रम्पले चुनावको समयमा अर्थव्यवस्थालाई आफ्नो सबैभन्दा ठूलो मुद्दा बनाए । उनले बाइडेन प्रशासन अर्थतन्त्रको हिसाबले अयोग्य रहेको बताएका थिए । बढ्दो मुद्रास्फीतिका कारण अमेरिकाका मतदाता वर्तमान प्रशासनसँग असन्तुष्ट छन् । मुद्रास्फीति उत्कर्षमा थियो । चारैतिर बेरोजगारी थियो । अर्थतन्त्रमा आएको ठूलो गिरावटले ह्यारिसलाई कठिन बनायो । ट्रम्पले अर्थतन्त्रको मुद्दामा बाइडेनलाई गिराउन कुनै कसर छाडेनन् ।

३. आयकर घटाउने घोषणा

ट्रम्पले चुनावमा आफूले आयकर हटाउने वा धेरै हदसम्म घटाउने वाचा गरेका थिए, जसलाई उनको जितमा पनि महत्त्वपूर्ण मानिएको छ । ट्रम्पले अमेरिकी जनताबाट आयकर लिनुको सट्टा चीनजस्ता देशबाट आउने सामानमा भारी कर लगाएर क्षतिपूर्ति भर्ने बताउँदै आएका छन् । यदि ट्रम्पले यसो गरे भने अमेरिकी जनताले पक्कै राहत पाउने छन् । तर, चीन र भारतजस्ता देशहरूले नयाँ संकट सामना गर्न सक्छन् ।

४. आप्रवासनको मुद्दा

ट्रम्पले आफ्नो चुनावी अभियानमा अध्यागमन कानुनलाई कडा बनाउने वाचा गरेका थिए । शरणार्थीको समस्या अमेरिकाको सबैभन्दा ठूलो चुनौती हो । अवैध शरणार्थीका कारण स्रोतसाधनको बाँडफाँडमा समस्या आउने अमेरिकी जनताको विश्वास छ । शरणार्थीहरूकै कारण रोजगारीको अवसरमा कमी आएको उनीहरूको विश्वास छ । यस मुद्दालाई ट्रम्पले विगतदेखि नै जोड दिएर उठाउँदै आएका थिए । उनी बाइडेन प्रशासनले यस विषयलाई सम्बोधन गर्न नसकेको बताउँदै आएका थिए । अमेरिकामा भइरहेको द्रुत जनसांख्यिकीय परिवर्तनलाई पनि ट्रम्पले निकै महत्त्व दिएका थिए ।

५. विदेश नीति

विदेश नीतिमा ट्रमको आक्रामक नीति छ । यसले पनि मतदातालाई आकर्षित गर्‍यो ।  ट्रम्पको 'अमेरिका फर्स्ट' नीति र 'पुरानो गौरव फिर्ता ल्याउने' वाचाले पनि काम गर्‍यो । रुस–युक्रेन युद्धमा युक्रेनलाई आर्थिक सहायता उपलब्ध गराउन नहुने ट्रम्पको तर्क छ । यसलाई लिएर उनले विगतदेखि नै बाइडेन प्रशासनको विरोध गर्दै आएका छन् । उनले अहिले देखिएको विश्व संकटका लागि बाइडेन प्रशासनलाई दोष दिए । ट्रम्पले नाटोका सदस्य राष्ट्रहरूले सैन्य खर्च नतिरेको विरुद्ध आवाज उठाइरहेका छन् । उनको स्पष्ट भनाइ छ– पैसा नतिर्ने देशको सुरक्षाको जिम्मा अमेरिकाले किन लिने ?

एजेन्सीहरूको सहयोगमा ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २२, २०८१  १७:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro