काठमाडौं । नेपाली कथानक चलचित्र ‘एक मुठ्ठी बादलः माई सेयर अफ स्काई’ नेदरल्यान्डको ह्युबर्ट बाल्स फण्ड पोस्ट–प्रोडक्सन अनुदान पाउने भएको छ । चलचित्रले ६० हजार युरो (८७ लाख नेपाली रुपैयाँ) आर्थिक सहयोग प्राप्त गर्ने भएको छ ।
‘एक मुठ्ठी बादल’की निर्देशक साहारा शर्मा ह्युबर्ट बाल्स फण्डको पोस्ट–प्रोडक्सन अनुदान जित्ने पहिलो नेपाली महिला निर्देशक हुन् । गौथली इन्टरटेन्मेन्ट (नेपाल), थर्ड कल्चर किड्स (जर्मनी) र क्रोमोजोम फिल्म (जर्मनी)को सह–निर्माण रहेको यो चलचित्र नेपालकै पहिलो महिलाप्रधान अन्तर्राष्ट्रियस्तरमा सह–निर्मित चलचित्र हो ।
चलचित्रमा नेपालबाट निर्माता ‘मन प्रडक्सन’ र ‘अन्डरग्राउन्ड टकिज’ पनि निर्माणमा सहभागी छन् । चलचित्रका अन्य प्रमुख निर्माताहरूमा नेपालबाट अनुप पौडेल र सामीप्यराज तिमल्सेना रहेका छन् । कार्यकारी निर्माताका रूपमा निकुन श्रेष्ठ छन् । जर्मनीबाट रोक्साना रिचर निर्माताको रूपमा रहेकी छिन् ।
विवाहको पृष्ठभूमिमा बुनिएको ‘एक मुठ्ठी बादल’ले घरभित्रको सीमित दायराभित्र स्वतन्त्रताको सपना देख्ने एक युवतीको कथा प्रस्तुत गर्छ । युवतीमाथि समाजले राखेका अपेक्षा र आफूभित्र निसास्सिरहेको उनको स्वतन्त्रताको चाहनाबीच उत्पन्न द्वन्द्वलाई चलचित्रले उजागर गर्छ । गृहिणी हुनुका साथसाथै पारिवारिक जीवनको पनि केन्द्रमा रहेका नेपाली समाजका कैयौँ महिलाका अनेक अदृश्य त्याग, संघर्षलाई र निःस्वार्थ योगदानलाई चलचित्रले कथानकमा समेटेको निर्माणपक्षले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।
चलचित्रमा निशा शर्मा, शेखर चापागाईं, आँचल शर्मा, उषा रजक, मनीष निरौला, सहयोग अधिकारी, गौरव बिष्ट, अविरल प्रताप अधिकारी, भीमा मैनाली, अश्मिता गौतम आदि कलाकारको अभिनय रहेको छ ।
निर्देशक सहारा शर्माले चलचित्रले पोस्ट प्रोडक्सनका लागि प्रतिष्ठित फन्ड पाएकोमा खुसी व्यक्त गरेकी छन् । “नेपाली नारीहरूका दुःख, सुख, त्याग, तपस्या, वलिदान, यिनका अनेक पक्ष र क्षमतालाई विश्व स्तरमा चिनाउने मेरो सँधै प्रयत्न रहेको छ । यो पुरस्कारले त्यहीतर्फ चलेको हाम्रो यात्रालाई उडान भरेको छ, म अत्यन्तै खुसी छु”, शर्माको भनाइ ।
यस चलचित्रका निर्माता अभिमन्यु दीक्षित महिला–केन्द्रित फिल्म निर्माणका लागि समर्पित अभियन्ता हुनुका साथसाथै गौथली इन्टरटेन्मेन्टका सञ्चालक पनि हुन् । दीक्षित रोटरडम ल्याब तथा कान्स फिल्म फेस्टिभलको प्रडुसर नेट्वर्कका सहभागी पनि हुन् ।
उनको नेतृत्वमा ‘एक मुठ्ठी बादल’ लोकार्नो ओपन डोर्स कन्सल्टेन्सी, इण्डियन फिल्म बजारमा, लगायत ढाकाको वेस्ट मिट्स इस्ट स्क्रिनप्ले ल्याबमा पनि छनोटमा परेको छ । चलचित्रका सह–निर्माता सारा फाजिलात, एक अनुभवी अन्तर्राष्ट्रिय फिल्मकर्मी, साथै प्रतिष्ठित कलाकार पनि हुन् ।
‘निको’ (२०२१) र ‘होली स्पाइडर’ (२०२२) जस्ता प्रख्यात र पुरस्कृत चलचित्रका निर्माता र अभिनेतृ समेत रहेकी फाजिलात चलचित्रद्वारा समानता र विविधता प्रवर्द्धन गर्ने अभियानमा सक्रिय भूमिका खेल्दै आएकी छिन् ।
ह्युबर्ट बाल्स फण्डमा छनोट भएपछि ‘एक मुठ्ठी बादल’को अन्तर्राष्ट्रिय सम्भावना झन् बढेको छ । फिल्म पोस्ट–प्रोडक्सनको अन्तिम चरणमा रहेकोले ह्युबर्ट फन्डको आर्थिक सहयोगले यसलाई उच्च गुणस्तर पुर्याउन महत्वपूर्ण सहयोग पुर्याउनेछ ।