site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
एमालेलाई जरिवाना पत्र बुझाउन जाँदै महानगर

काठमाडौं । एमालेले गएको शुक्रबार काठमाडौंको दरबारमार्गमा जागरणसभा गर्‍यो । उक्त सभापछि त्यस क्षेत्रमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई एक लाख रुपैयाँ जरिवाना तिर्न भन्दै लेखिएको पत्र सामाजिक सञ्जालमा भाइरल भयो । 

फोहोरमैला व्यवस्थापन ऐन २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन २०८१ अनुसार जरिवाना तिराउन पत्र लेखेको हो । 

महानगरले एमालेको ‘जागरणसभा’ सकिएपछि काटेको जरिवाना पत्र एमाले पार्टी कार्यालय च्यासलमा अझै पुगेको छैन । एमाले केन्द्रीय कार्यालयका कार्यालय सचिव भीष्म अधिकारीका अनुसार महानगरको जरिवाना पत्र कार्यालयमा आइपुगेको छैन । 

Dabur Nepal
NIC Asia

बाह्रखरीसँग उनले भने, “हामीले त्यो पत्र फेसबुकमा मात्र देखेका छौँ । हाम्रो पार्टी कार्यालयमा आइपुगेको छैन । हामीले कार्यक्रमपछि सरसफाइ गरिसकेका थियौँ त्यसपछि पनि किन पत्र काटियो थाहा छैन ?”

शुक्रबार लेखिएको जरिवाना तिराउने पत्र बोकेर महानगर आइतबार अपराह्न एमाले मुख्यालय च्यासल जाँदै छ । महानगरका प्रतिनिधिहरू शुक्रबारको पत्र बोकेर एमाले कार्यालय जान लागेको महानगरले बताएको छ ।

तर, एमालेले भने आफूले फोहोर सफा गरिनसक्दै महानगरले जरिवाना तिराएको आरोप लगाएको छ । जरिवाना तिराउने पत्र सार्वजनिक भएको केहीबेरमै एमाले कार्यकर्ताले दरबारमार्ग क्षेत्रको फोहोर संकलन गरेको एमाले महासचिव शंकर पोखरेलको दाबी छ ।

पोखरेलले शुक्रबार राति १० बजेर ५९ मिनेटमा फेसबुकमा महानगरका मेयर बालेन एमालेविरुद्ध परिचालित भएको आरोप लगाए । एमाले कार्यकर्ताले फोहोर संकलन गरिसकेर महानगरलाई गाडी पठाइदिन अनुरोध गरेको थियो । तर, महानगरले गाडी नपठाएकोे एमालेको आरोप छ ।

एमाले महासचिव पोखरेलले फेसबुकमा लेखेका छन्, “काठमाडौं महानगरका मेयर बालेन नेकपा (एमाले)विरुद्ध परिचालित छन् भन्ने कुरा आजको सभापछि सार्वजनिक गरिएको जरिवाना पर्चाबाट बुझ्न सकिन्छ । कार्यक्रम समापन भएपछि त्यहाँको सरसफाइ आयोजकतर्फबाटै भइरहेको थियो । संकलन गरिएको फोहोर उठाउन महानगरलाई गाडी पठाइदिन अनुरोध गरिएको थियो । अनुरोधलाई स्वीकार गरेर सहयोग गर्नुको साटो मेयरको निर्देशनमा फोहोर गरेको भनेर जरिवानाको प्रचार गरियो ।”

महानगरले जरिवानाको पत्र सार्वजनिक गर्दा एमाले स्वंयसेवकहरू फोहोर संकलन गरिरहेको पोखरेलको दाबी छ । उनी लेख्छन्, “जतिबेला महानगरका नाममा जरिवाना पर्चा सार्वजनिक गरियो, त्यतिबेला स्वयंसेवकहरू कार्यक्रम थलोमै फोहोर संकलन गरेर गाडीमा राख्दै थिए । मञ्च र मञ्चमा प्रयोग गरिएका सामग्री हटाउने काम सँगसँगै जारी नै थियो । तर, मेयरको ध्यान सरसफाइमा होइन जरिवानाको स्टनटबाजीमा थियो । जुन समयअगावै सार्वजनिक गरियो ।”

महानगर क्षेत्रमा सभा गरेर फोहोर गरेको भन्दै जरिवाना तिराएको यो पहिलोपटक होइन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले २७ चैतमा गरेको आभसभापछि फोहोर भएको र ट्राफिक आइल्यान्डमा क्षति पुगेको भन्दै महानगरले पाँच हजार २२२ रुपैयाँ जरिवाना तिराएको थियो । महानगरका मेयर बालेन्द्र शाह (बालेन)का मिडिया सहजकर्ता सुरेन्द्र बजगाईंका अनुसार राप्रपाले जरिवाना तिरिसकेको छ ।

शुक्रबारको दिन कार्यालय समय समाप्त भइसकेपछि महानगरले कसरी जरिवाना पत्र काट्यो भनेर पनि प्रश्न उठेको छ । तर, महानगर भने आफ्नो नगरप्रहरी रातिसम्म पनि ड्युटीमा हुने बताउँछ । एमालेलाई जरिवाना तिराउन लेखेको पत्रमा महानगरका नगरप्रहरी निरीक्षक लीलाराज गाछाको हस्ताक्षर छ । महानगरका अनुसार नगरप्रहरी बिदाको समयमा पनि ड्युटीमा हुन्छ ।

मेयर बालेनको मिडिया सहजकर्ता बजगाईं भन्छन्, “महानगर प्रहरी कार्यालय समयमा मात्र नभई अरु समयमा पनि ड्युटीमा हुन्छ । नगर प्रहरी बिदाको दिन र राति पनि ड्युटीमा हुन्छन् ।” एमालेलाई जरिवाना तिराउने निर्णय गरेर नगरप्रहरीले आफ्नो ड्युटी गरेको महानगरको भनाइ छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर ९, २०८१  १४:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro