site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
दिल्लीको दुईतर्फी भाडा एक लाख २० हजार बढी ! निरीह सरकार, अटेरी प्राधिकरण 

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ट्याक्सी वे निर्माणमा नेपाल नागरिक उड्डयन प्राधिकरणको जिद्धिपनले मुलुकको अर्थतन्त्रलाई नराम्रोसँग प्रभावित पार्ने देखिएको छ ।

यसको सिधा असर नेपालको पर्यटन क्षेत्र, सरकारको कर प्रणाली र नागरिकमा पर्ने देखिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले कात्तिक २३ गतेदेखि राति १० बजेदेखि बिहान ८ बजेसम्म विमानस्थलका सम्पूर्ण उडान बन्द गरेर ट्याक्सी वे निर्माण गर्ने बताएको छ ।

Dabur Nepal
NIC Asia

भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न सहज होस् भन्ने भित्री मनसाय रहेको भए पनि पूर्वाधार तयार नभएको र केही झन्झटिला प्रक्रिया बाँकी रहेकाले निजी विमान कम्पनीहरू ती विमानस्थलमा जान मानेका छैनन् ।

त्यसले गर्दा अबको ६ महिनामा नेपाल भित्रिने र बाहिरिने यात्रुले अत्यधिक रकम टिकटमा खर्च गर्नुपर्ने देखिएको छ ।

अब एक महिनापछि नयाँ दिल्लीको दुईतर्फी भाडा कम्तिमा पनि एकलाख २० हजारसम्म पर्ने विमान कम्पनीहरु बताउँछन् ।

नेपाल आएका पर्यटक कसरी फर्किने ? यात्रुको यसरी ‘ढाड सेकिँदैछ’ अन्तर्राष्ट्रिय उडानमा 

उनीहरुको टिकट सूचीअनुसार पनि त्यो देखिन्छ । इन्डिगो एयर, एयर इन्डियालगायत दिल्ली–काठमाडौं रुटमा उडान गर्ने विमान कम्पनीले टिकटको अधिकतम मूल्य कायम गरेका कारण त्यसको प्रत्यक्ष असर यात्रुलाई पर्ने देखिएको छ ।

तर सरोकारवाला निकायका अधिकारीहरू १० घण्टा बन्द गर्नुभन्दा ६ घण्टामात्रै बन्द गरेर काम गर्ने हो भने बिहान हुने माउन्टेन फ्लाइटदेखि रद्द हुने अवस्थामा रहेका विमान कम्पनीहरुले सेवा दिन सक्ने बताउँछन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरण त्यसमा टसको मस नभएपछि समस्या भएको हो ।

कात्तिक २३ गतेदेखि चैत १८ गतेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द गरेर सरकारले मर्मत सम्भार गर्न लागेकाले काठमाडौं ओहोर–दोहोर गर्ने विमान कम्पनीहरूको उडान तालिका कटौती गरिदिएपछि यसको प्रत्यक्ष मार यात्रुले खेप्नुपरेको हो ।

सरकारले थोरै पनि संवेदनशीलता नदेखाएको र रमितेमात्रै बनेको एक निजी कम्पनीका अधिकारी बताउँछन् ।

“हामीले मन्त्रीको पनि ध्यानाकर्षण गराइसकेका छौँ,” उनले भने, “उहाँले हुन्छ भने पनि प्राधिकरणले मानेको छैन । उहाँले प्राधिकरणलाई दबाब दिनै सक्नुभएन । उहाँ नै निरीह बनेको पायौँ ।”

विमानस्थल बन्द हुँदा करिब ६ महिना नेपाल भित्रिने र बाहिरिने यात्रुको हवाई यात्रा अस्तव्यस्त मात्रै होइन निकै महँगो रकम तिर्नुपर्ने अवस्था आएको उनको टिप्पणी छ ।

विमानस्थलले राति १० बजेदेखि भोलिपल्ट बिहान ८ बजेसम्म पूर्णरूपमा बन्द गरेर काम गर्ने जनाएको छ । दैनिक ६ घण्टासम्म बन्द गरेर पनि व्यवस्थित गर्न सकिनेमा त्यसो नगरेर यात्रु र विमान कम्पनीहरूलाई नागरिक उड्डयन प्राधिकरणले अप्ठेरो पार्ने काम गरिरहेको आरोप छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणसँग पटक–पटक अनुरोध गर्दा पनि सुनुवाई नभएको एक विमान कम्पनीका अधिकारीले बताए ।

जस्तो कतार एयरलाइन्सले नेपालमा दैनिक चारवटा उडान गर्छ । कतार एयरजस्तै फ्लाई दुवई, एयर अरेबिया, एयर इन्डिया, इन्डिगोलगायतका विमान कम्पनीले चारभन्दा बढी उडान गर्दै आएका छन् ।

प्राधिकरणले चारभन्दा बढी उडान गर्ने कम्पनीको उडानमा ५० प्रतिशतले कटौती गरिदिएको छ ।

नेपालमा दसैंै–तिहार मनाउन आएका नेपाली र घुम्न आएका विदेशी पर्यटक गरी ३० हजार बढी एक महिनाभित्रै फर्किने यात्रु छन् ।

उनीहरूले बुक गरेको टिकटअनुसार काठमाडौंबाट उडाउन सकिने अवस्था छैन । “यस्तो समस्यामा हामीले के गर्ने के नगर्ने भन्नै सकेका छैनौँ,” ती अधिकारीले भने, “प्राधिकरणसँग हामीले हार–गुहार गरेका छौँ । पर्यटकीय सिजनका बेला भए पनि दैनिक १० घण्टा बन्द नगरेर कम गरिदिनुस् भनेर तर उहाँहरू सुन्न तयार हुनुहुन्न ।”

नेपाली कांग्रेसका सांसद उदय शमशेर जबरा प्राधिकरणको निर्णयले सरकार नै अप्ठेरोमा पर्दा पनि केही गर्न नसकेको बताए ।

“सन् २०१८ मा रन वे नै निर्माण गर्दा पनि ६ घण्टामात्रै बन्द गरिएको थियो,” उनले भने, “अहिले १० घण्टा त्यो पनि ट्याक्सी वे निर्माणका लागि सुहाउँदो विषय हो ?”

उनले माउन्टेन फ्लाइट, होटललगायतका पर्यटकीय क्षेत्रमा यसको सिधा असर पर्ने हुँदा पनि सरकारले पनि निर्णय गर्न नसकेको र प्रतिपक्षको पनि ध्यान नपुगेको बताए ।

“अहिले प्रतिपक्षसहित नयाँ दलका साथीहरु सडक आन्दोलनमा हुनुहुन्छ तर उहाँहरुको पनि यसमा ध्यान गएको छैन,” उनले भने, “सरकारले पनि प्राधिकरणलाई दबाब दिएर १० घण्टा बन्द गर्ने ठाउँमा ६ घण्टा गराउन किन सकिरहेको छैन ?”

उनले दिल्लीको भाडा नै एकलाख पुग्न सक्ने अवस्था आएको बताउँदै कूटनीतिमा पनि यसको सिधा असर पर्ने बताए ।

“नेपालमा आवत जावत गर्ने कतिपय मुलुकका सरकारी कम्पनी पनि रहेका छन्,” उनले भने, “अहिले रद्द गरिदिँदा उनीहरु भोलि आउन मानेनन् भने यसको जिम्मेवारी कसले लिन्छ ?”

प्राधिकरणसँग कोही पनि बोल्न नसक्ने अवस्था आएको बताउँदै भने, “कुनै पनि सरोकारवाला निकाय बोल्यो कि अप्ठेरो पारिदिइहाल्ने प्रचलनका कारण समस्या भएको हो ।”

नेपाल होटल एशोसियसनका प्रवक्ता साजन शाक्यले पनि बाह्रखरीसँग कुरा गर्दै अहिले कोरोना र आर्थिक समस्यापछि उठ्न लागेको पर्यटन क्षेत्र प्राधिकरणको यो निर्णयको मारमा परेको बताए ।

“होटलहरूको बुकिङ क्यान्सिल भइरहेका छन्,” उनले भने, “पर्यटक आउने सिजन पनि यही हो । सरकारले यही बेला बनाउन थालेको छ । पर्यटनमात्रै नभएर नेपाली दाजुभाइ दिदीबहिनीलाई पनि यसको असर पर्ने देखिएको छ ।”
नागरिक उड्डयन प्राधिकरणकाअनुसार कात्तिक २३ गतेबाट काम सुरू भएर चैत १८ गते (२०२४ नोभेम्बर ८ देखि २०२५ मार्च ३१) सक्ने योजना छ । तर विमान कम्पनीहरू सरकारले भैरहवा र पोखरा विमानस्थलमात्रै देखाएको कुनै पूर्वाधार नै नभएको हुँदा जान सक्ने अवस्था नरहेको तर्क गर्छन् ।

“पोखरामा ठूला जहाज जान सक्ने अवस्था छैन, भैरहवा विमानस्थल सञ्चालन गर्ने सरकारको योजना हो भने पहिला नेपाल एयरलाइन्सले दैनिक त्यहाँबाट दुईवटा उडान एक वर्षसम्म गरोस् त !,” उनले भने ।

काठमाडौंदेखि दिल्लीमात्रै होइन युरोप अमेरिका वा मध्यपूर्व जहाँ पुग्न पनि त्यतिकै भाडा चर्को लाग्ने हुँदा त्यसको मारमा नेपाली नै पर्ने अर्का एक अधिकारी बताउँछन् ।

के सुधार गर्न लागिएको हो विमानस्थलमा ? 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वार्षिक क्षमता ८०–८५ लाख हो । करिब ६ वर्षअघि करिब ७० लाख क्षमता रहेको त्रिभुवन विमानस्थल रन–वे स्तरोन्नति गरेपछि १० लाख बढाएको थियो । हाल करिब ८० लाख रहेको ट्क्यासी–वे निर्माणपश्चात १० देखि १५ लाख थपिने हुँदा क्षमता एक करोडको हाराहारी पुग्ने प्राधिकरण बताउँछ ।

एयरपोर्ट रन–वेमा जाने बाटोलाई ट्याक्सी–वे भनिन्छ । हाल त्रिभुवन विमानस्थलमा पाँचवटा ट्याक्सी–वे रहेको र रन–वेको छेउसम्म पुग्न लामो समय लाग्ने भएको हुँदा विमान उडानमा र अवतरणमा समय बढी लाग्ने गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रन–वेसम्म पुग्ने ट्याक्सी–वे नभएका कारण पनि विमान तीन मिनेट जति बढी समय लिइरहेको छ । रन–वेबाट उडानसम्म एक मिनेटमा हुनुपर्ने काम चार मिनेट लागेको छ । यसलाई रन–वे होल्डिङ क्यापासिटी भन्छ ।

एक मिनेटमा एउटा जहाज उड्नुपर्ने तीन मिनेटमा एउटा उड्यो भनेपछि एक घण्टामा २० वटा जहाज उड्छ ।  जबकि ६० वटासम्म जहाज उड्नुपर्ने प्राधिकरणको धारणा छ ।

नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता हंसराज पाण्डेले भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न सकिन्छ कि भनेर प्रयास गरेको बताउँदै अहिलेसम्मको अवस्थाले निर्णयमा पुनरवलोकन गर्नुपर्ने देखिएको बताए ।

“हामीले नोभेम्बर ८ देखि सुरु गरेको हो त्यसकारण हाल तीनवटा आएका छन् । अहिलेसम्मको परिस्थितिले तीनवटा मात्रै आएको साँचो हो । तीनमध्ये पनि एयर एशियाले अस्ति असजिलो काम गर्‍यो । हामीले समानुपातिक हिसाबले कटौती गरेका हौं,” उनले भने, “यही अवस्था रहे रिभ्यू गर्ने कि भन्ने कुरा भएको छ । तर, कुरा के हो भने तीनवटाले बजार पाउने बित्तिकै यहाँ अरु पनि आउँछन् । एउटा मात्रै भरिभराउ बजार पाउनेबित्तिकै अन्य पनि भैरहवा जाउँ भनेर आइहाल्छन् नि । एयरलाइन्सहरु कन्फिडेन्स नभएर मात्रै हुन् ।”

उनले भारतीय विमान कम्पनीहरू सुरूमा हच्किएको बताउँदै भने, “उद्योगी व्यवसायी, भारतसँग सम्र्पक भएका व्यवसायी, पर्यटकहरुको पनि आवात जावत बढेको छ । बौद्ध धर्मालम्बीहरुको पनि बढेका छन् । बौद्ध सर्किटले पनि चासो देखाउँछन् । यसले गर्दा पब्लिक डिमाण्डले पनि एयरलाइन्सहरु आउँछन् । अबको तीन महिना एक्सिपेरिमेन्ट हेरौं कत्तिको हुन्छ । विन्टर सेड्युलको लागि त निर्णय भइसक्यो । विन्टर सेड्युलको टिकट भइसकेको हुनाले त्यसपछिमात्रै मात्रै पुनरवलोकन गर्ने कि नगर्ने निर्णयमा पुग्छौँ ।”
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०८१  १३:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro