site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
हमास प्रमुखको मृत्यु भएको इजरायली प्रधानमन्त्री नेतन्याहूद्वारा जानकारी

तेल अभिभ । प्यालेस्टिनी इस्लामिक लडाकु समूह (हमास)का प्रमुख तथा गत वर्ष अक्टोबर ७ मा भएको भयानक आक्रमणका मुख्य योजनाकार याह्या सिनवारको मृत्यु भएको इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बिहीबार राति पुष्टि गरेका छन् ।  

प्रधानमन्त्री नेतन्याहूले आफ्ना सहयोगीलाई हमास प्रमुखको मृत्युबारे इजरायली बन्धकका परिवारलाई जानकारी दिन पनि निर्देशन दिएका छन् ।  

इजरायली रक्षा बल (आईडीएफ)ले गाजामा आफ्नो कारबाहीका क्रममा तीन हमास लडाकु मारिएको पुष्टि गरेको थियो । इजरायली आक्रमणमा मृत्यु भएका तीन लडाकुमध्ये एक हमासका प्रमुख याह्या सिनवार भएको बताइएको छ । 

आईडीएफले एक्समा एक पोस्ट सेयर गर्दै लेखेको छ, “गाजामा आईडीएफ अपरेसनको क्रममा तीनजना मारिएका थिए । आईडीएफ र आईएसएले आतंकवादीमध्ये एक याह्या सिनवार भएको सम्भावनाको वैज्ञानिक पुष्टि गर्न आवश्यक जाँच भइरहेको छ ।” 

मंगलबार आईडीएफ र शिन बेट सुरक्षा निकायले अक्टोबर ७ मा भएको आक्रमणमा सहभागी हमासका तीन ‘आतंककारी’ हालैका दिनमा भएका हवाई आक्रमणमा मारिएको जनाएको छ ।

इजरायलले लेबनानमा गरेको हवाई आक्रमणमा हिजबुल्लाहका अर्का उच्च पदस्थ नेता हसन नसरल्लाहको मृत्यु भएको केही हप्तापछि यो घटना भएको हो ।

यसअघि हमासका अर्का वरिष्ठ नेता इस्माइल हनियाको इरानमा मृत्यु भएको थियो । तेहरान र हमासले हनियाको मृत्यु भएको घटनामा आक्रमणको आरोप इजरायलमाथि लगाए पनि इजरायलले न त यो आरोप स्वीकारेको छ न त अस्वीकार नै गरेको छ ।

हालै आईडीएफले गाजामा हमास सरकारका प्रमुख राउही मुश्ताहा र हमासको राजनीतिक ब्युरोमा सुरक्षा जिम्मेवारी सम्हालेका समेह अल सिराजसहित हमासका उच्च पदस्थ अधिकारीहरूको मृत्यु भएको जनाएको थियो । 

टाइम्स अफ इजरायलका अनुसार मंगलबार आईडीएफले जाबालियामा भएको हवाई आक्रमण र भिडन्तमा हमासका करिब २० लडाकु मारिएको जनाएको छ ।

इजरायली सेनाका अनुसार युद्धका क्रममा सेनाले एउटा हतियार डिपो र अन्य हतियार पनि फेला पारी नष्ट गरेको छ ।

सेनाले भनेको छ, “यो अभियान आवश्यक भएसम्म जारी रहनेछ र योजनाबद्ध रूपमा आक्रमण र त्यस क्षेत्रमा रहेका आतंकवादी संरचनालाई पूर्ण रूपमा नष्ट गरिनेछ।”

सोमबार आईडीएफले उत्तरी गाजाका बेइट हनौन, जबालिया र बेइट लहियाका प्यालेस्टिनीहरूलाई गाजाको दक्षिणमा रहेको इजरायलद्वारा निर्दिष्ट मानवीय क्षेत्रमा स्थानान्तरण गर्न आदेश दिएको टाइम्स अफ इजरायलले जनाएको छ । रासस/एएफपी

प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  १२:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro