site stats
बाह्रखरी :: Baahrakhari
विदेश
कोलम्बिया विश्वविद्यालयको ‘एक्रेडिटेसन’ रद्द गर्ने योजनामा ट्रम्प प्रशासन

काठमाडौं । अमेरिकी शिक्षा सचिव लिन्डा म्याकमाहनले न्यूयोर्कस्थित कोलम्बिया विश्वविद्यालयले यहुदी विद्यार्थीको नागरिक अधिकार उल्लंघन गरेको आरोपमा ‘एक्रेडिटेसन’ रद्द गर्ने योजना बनाइरहेको बताएकी छन् । 
 
उनले अमेरिकाको ‘मिडल स्टेट्स कमिशन अन हायर एजुकेशन’लाई पठाइएको पत्रमा विश्वविद्यालयले यहुदी विद्यार्थीप्रति भेदभावपूर्ण व्यवहार गर्दै संघीय विभेदविरोधी कानुन उल्लंघन गरेको उल्लेख गरेकी छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा युद्ध र अमेरिकी क्याम्पसहरूमा भएको विरोध प्रदर्शनको बेलामा यहुदी विद्यार्थीलाई सुरक्षा दिन असफल भएको आरोप लगाउँदै कोलम्बिया र अन्य विश्वविद्यालयहरूको निन्दा गरेका छन् ।

Argakhachi Cement Island Ad

अमेरिकी ‘एक्रेडिटेसन’ निकायहरूले विश्वविद्यालयहरूलाई संघीय फन्डको अरबौँ डलर प्राप्त गराउने निर्णयमा प्रमुख भूमिका खेल्छन् । 

‘मिडल स्टेट्स कमिसन अन हायर एजुकेसन’लाई पठाइएको पत्रमा विश्वविद्यालयले ‘एक्रेडिटेसन’को मापदण्ड पूरा गर्न नसक्ने देखिएको उल्लेख छ । पत्रमा कोलम्बियाको नेतृत्वले यहुदी विद्यार्थीलाई क्याम्पसभित्र गम्भीर उत्पीडनबाट सुरक्षा दिन असफल भएकोले उनीहरूले कानुनअनुसार पाउने शैक्षिक अवसरबाट वञ्चित भएको दाबी गरिएको छ ।

मिडल स्टेट्स संस्था सरकारले शिक्षा विभागको रकम वितरण गर्ने निर्णय गर्दा सहयोगी भूमिका खेल्ने धेरै स्वतन्त्र निकायहरूमध्ये एक हो ।

कोलम्बिया विश्वविद्यालयले यो पछिल्लो विकासक्रमबारे कुनै प्रतिक्रिया दिएको छैन । बीबीसी

प्रकाशित मिति: बिहीबार, जेठ २२, २०८२  ०७:५९
प्रतिक्रिया दिनुहोस्