काठमाडौं । चलचित्र ‘ह्रस्व दीर्घ’ को टिजर सार्वजनिक गरिएको छ । बिहीबार फूलपातीको अवसर पारेर सार्वजनिक गरिएको टिजरमा कथावस्तु र चरित्र चित्रणमा सस्पेन्स र रोमान्सको समिश्रण देख्न सकिन्छ ।
कात्तिक ३० गते रिलिज हुने चलचित्रको टिजरमा नक्षत्र, ग्रह र भाग्य भएका प्रेममा रहेका जोडीको सम्बन्ध र उनीहरूको जीवनमा आउने उतारचढावलाई देखाइएको छ ।
टिजरमा मुख्य पात्रबाहेक अन्य कलाकारको संवाद छैन ।
‘ह्रस्व दीर्घ’मा अभिनेता हरिहर अधिकारी, अभिनेत्री नीता ढुंगाना, विपना थापा, साउथका कलाकार ब्रह्मानन्दम, अली, सुनिल वर्मा, प्रदीप रावत र कबीर दुहनको अभिनय छ ।
चन्द्र पन्तको डेब्यु निर्देशनमा बनेको यस चलचित्रमा सञ्चिता लुइँटेल, सरोज खनाल, किरण केसी, बुद्धि तामाङ, रवीन्द्र झालगायत कलाकारको पनि अभिनय रहेको छ ।
सिनेमामा हरिहर अधिकारीको कथा, प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको छ । बलिउड छायांकार कवीरलालले खिचेको यो चलचित्र नेपाली, तेलुगु र हिन्दी गरी तीन भाषामा रिलिज हुने निर्माण पक्षले जनाएको छ ।