site stats
बाह्रखरी :: Baahrakhari
देश
दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर, हुन सक्छ पाँच वर्ष कैद !
फाइल तस्बिर ।

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार सजाय मागदाबी गर्दै मुद्दा दायर गरेको हो ।

मुद्दा आजै दर्ता भइसकेकाले भोलि (मंगलबार) अदालतले बयान लिने र पुर्पक्षका लागि थुनामा पठाउने वा अन्य आदेश गर्ने जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख सन्देश श्रेष्ठले जानकारी दिए ।

Argakhachi Cement Island Ad

प्रसाईंले महिलामाथि गरेका अभद्र टिप्पणी युटुब च्यानलसहित सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उनीविरुद्ध विद्युतीय कारोबार ऐनको उल्लंघन गरेको भन्दै उजुरी परेपछि उनी पक्राउ परेका थिए ।

नेपाल प्रहरीको साइबर ब्युरोले अनुसन्धान गरी बुझाइको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलले मुद्दा दायर गरेको हो । मागदाबी ठहर भए अदालतबाट प्रसाईंलाई पाँच वर्षसम्म कैद वा एक लाखसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ । 

“...महिलालाई जिस्क्याउने, हैरानी गर्ने, अपमान गर्ने वा यस्तै अन्य कुनै किसिमको अमर्यादित कार्य गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने छ,” विद्युतीय कारोबार ऐनको दफा ४७ (१) मा भनिएको छ ।
 

प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  १७:४२
प्रतिक्रिया दिनुहोस्