site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
जिम्मेवारीमा रहेपछि जोधाहा प्रवृत्ति आउँदो रहेछ

(लामो समय निजामती सेवामा बिताएको अनुभव समेट्दै पूर्वसचिव खेमराज रेग्मीले संस्मरणात्मककृति बजारमा ल्याएका छन्, ‘जोधाहा राष्ट्रसेवक’ । स्याङ्जाको भीरकोट नगरपालिकाको लुब्दीखोलाका रेग्मी सरकारी सेवा प्रवेश गर्दै सचिवबाट सेवानिवृत्त भए । माध्यमिक विद्यालय निरीक्षक, जिल्ला शिक्षा अधिकारी, सहअञ्चलाधीश, प्रमुख जिल्ला अधिकारी हुँदै उनले विभिन्न मन्त्रालयमा सचिवको जिम्मेवारी निर्वाह गरेका थिए । पूर्वगृहसचिव समेत रहेका रेग्मीले किताबमा आफ्ना प्रशासकीय भोगाइ पस्केका छन् । प्रस्तुत छ, लेखक रेग्मीसँग बाह्रखरीका राजेश खनालले गरेको कुराकानीको सम्पादित अंश ।)

‘जोधाहा राष्ट्रसेवक’ कसरी जन्मियो ?
वास्तवमा मेरो हाकिम दामोदर गौतम हुनुहुन्थ्यो । उहाँ मुख्यसचिव पनि हुनुभयो । अवकाशपछि ट्रान्सपरेन्सी इन्टरनेसनलमा उहाँ र म सँगै रह्यौँ । उहाँ अध्यक्ष, म सदस्य थिएँ । यसरी काम गर्दा जागिरे जीवनका प्रसंगहरू बेलाबखत उठ्थ्यो । कहिले गिरिजाप्रसाद कोइराला त कहिले अर्जुननरसिंह केसी, कहिले गोविन्दराज जोशी त कहिले अरू कसैका कुरा चल्थ्यो । यस्ता कथाहरू हामीबीचमा भेटमा भइरहन्थे ।

म शिक्षा अधिकारी भएदेखि नै शिक्षामा कसरी गुणस्तर कायम गर्ने भन्ने विषयमा मेरो मानसपटलमा अनेक कुरा चलिरहन्थ्यो । सुरुमा मैले तीन कुरामा ध्यान दिएँ । एउटा, विद्यालयहरू सुचारु रूपले नचल्ने, त्यो चल्नुपर्छ भन्ने मान्यता थियो । र, मैले त्यसैअनुरूप काम गरेँ । म कपिलवस्तुमा शिक्षा अधिकारी हुँदाको कुरा हो यो ।

एसएलसी परीक्षामा औधी चिट चोरी हुन्थ्यो । चोरी नहोस्, एसएलसी मर्यादित होस् र शिक्षक, विद्यार्थी दुवैले राम्रो गरून् भन्ने मेरो सोच थियो । मैले त्यतातिर पनि काम गरेँ । तेस्रो कुरो के भने, शिक्षाको गुणस्तर अभिवृद्धिका लागि शिक्षक नै महत्त्वपूर्ण हुने भएकाले शिक्षकको छनोटमा कुनै किसिमको सम्झौता हुनु हुँदैन भन्ने मेरो दृष्टिकोण थियो । खुला प्रतिस्पर्धाबाट योग्य शिक्षकको छनोट हुनुपर्छ भन्ने सोचका साथ मैले काम थालेँ । यसरी मेरो कामको सुरुआत भयो । म जहाँजहाँ शिक्षा अधिकारी भएर गएँ, त्यहाँत्यहाँ त्यो लागु गरेँ ।

ताप्लेजुङको एउटा प्रसंग सुनाऊँ, म शिक्षा अधिकारी हुँदा त्यहाँका सीडीओले आफ्ना मान्छेलाई चिट चोराएर शिक्षकको जाँच पास गराउन खोजेका थिए । पञ्चायतकालीन त्यस समयमा सीडीओसँग शिक्षा अधिकारीले भिड्ने भन्ने कुरा सामान्य थिएन । तर, म भिडेँ । मैले गलत काम गर्न दिइनँ ।

झापामा अञ्चलाधीश कार्यालयमा काम गर्दा अञ्चलाधीशसँग पनि भिड्नुपर्ने अवस्था सिर्जना भयो । यसरी जहाँजहाँ गएँ, जोधाहा प्रवृत्तिबाटै काम गर्दै गएँ । ठाउँठाउँमा म लड्दै लड्दै अगाडि बढेको हुँ ।

मैले कतै शिक्षा अधिकारी कतै प्रमुख जिल्ला अधिकारी भएर काम गरेँ । र, हरेक ठाउँमा केही न केही घटना भएकै हुन् । विराटनगरको सीडीओ हुँदा उमेश गिरीलाई समात्नुपर्ने अवस्था आयो । उनी कोइराला परिवारनिकटका मानिस थिए । गृहमन्त्रीसँग कुरा गर्दा समात्न त समात्नुस्, तर एकफेर प्रधानमन्त्रीलाई सोध्नुस् भन्ने जवाफ आयो । तर, मैले जागिर थाती राखेरै उमेश गिरीलाई समातेँ, जे परे पर्ला भन्दै ।

यस्ता अनगिन्ती भोगाइहरू थिए मेरा । दामोदरजीसँग कुरा हुँदा यी प्रसंगहरू उठिरहन्थे । अनि, उहाँले यस्ता भोगाइ लिपिबद्ध गरिनुपर्छ भन्दै मलाई अभिप्रेरित गरिरहनुभयो । गौतमले बारम्बार तपाईंले जीवनी लेख्नुस् त भनिरहनुभयो । तर, मलाई लेख्ने जाँगर कहिल्यै भएन । मनमा भने लाग्थ्यो, यस्ता कुरा त लेखिनुपर्छ । यद्यपि, म साहित्यकार वा लेखक नभएकाले लेख्ने काममा हात हाल्न सकिरहेको थिइनँ । यस विषयमा म सधैँ अलमल अलमलमै रहेँ ।

साहित्यकार खेम कोइराला बन्धु मकहाँ आइरहनुहुन्थ्यो । उहाँले पनि मलाई आत्मकथा लेख्नलाई हौस्याइरहनुभयो । उहाँले एकजना लेखकसँग चिनापर्ची गराइदिन्छु, तपाईं बोल्नुस्, उनले लेख्छन् भनेर सुझाउनुभयो । अनि त, लेख्न त म आफैँ पनि सक्छु भनेर मैले यो किताबको श्रीगणेश गरेँ ।

मूलतः कुन कुराले प्रेरित गर्‍यो किताब लेख्न ?
मलाई लाग्यो, मैले जीवनमा धेरै संघर्ष गरेको छु – इमानदारीको पक्षमा, कर्तव्यनिष्ठताको पक्षमा । मुलुककै हितका लागि गरिने काममा मैले कहिल्यै सम्झौता गरिनँ । बरु, लडेँ । अडान लिएँ । मैले गरेका यिनै कामहरूले भावी पिँढीलाई प्रेरित गर्छ भन्ने लाग्यो । यो जिम्मेवारी मेरो पनि हो, मैले अहिलेका युवा प्रशासकहरूलाई अभिप्रेरित गर्नुपर्छ र किताबले त्यो काम गर्छ भन्ने लाग्यो । यस किताबले आजका प्रशासकलाई केही सन्देश पनि दिन्छ भन्ने सोचेँ पनि ।

सायद यही नै मेरो उद्देश्य रह्यो । त्यसका लागि म आफैँ पनि प्रेरित भएँ र कुनै घोस्ट राइटर नराखेर लेख्न थालेँ । लेख्दै जाँदा धेरै कुरा सम्झिँदै पनि गएँ । अनि, सररर अगाडि बढ्दै गयो । मैले नाम र घटना बिर्सिएँ कि भन्ने लागेको थियो, तर त्यसो भएन । धेरै कुरा सम्झिएको रहेछु ।

तपाईं जनकपुरमा पनि प्रजिअ भएर बस्नुभयो, होइन ?
हो, २०४६ सालमा । त्यस क्षेत्रमा ‘शेरे धनुषा’ भनेर चिनिने हेमबहादुर मल्लसँगका केही प्रसंग पनि मैले किताबमा लेखेको छु । त्यसै बेला ४६ सालको आन्दोलन पनि सुरु भएको थियो ।

कति कठिन थियो त्यहाँको काम गराइ ?
वास्तवमा मलाई त्यो दुइटाका बीचमा सन्तुलन मिलाउन कति गाह्रो भएको होला तपाईं अनुमान गर्न सक्नुहुन्छ । अहिले आएर म सम्झिन्छु, नेपाली कांग्रेसका नेताहरू महेन्द्रनारायण निधि र लीला कोइरालालाई पक्राउ गर्न जाँदाको प्रसंग । निधिजीलाई त कार्यक्रमबाटै समात्यौँ, तर कोइरालाजीलाई घरमै गएर आग्रह गर्‍यौँ । उहाँले केही समय माग्नुभयो ।

हामी उहाँकै सोफामा केही बेर बस्यौँ । यदि, उहाँले फोन गरेर कार्यकर्ताहरू बोलाउनुभएको भए के हुन्थ्यो ? जबकि, हामीसँग कुनै फौज थिएन । डीएसपी र मसँग एकएकजना पीएसओ मात्रै थिए । यदि, त्यहाँ भीड जम्मा भएको भए त जे पनि हुनसक्थ्यो । निकै जोखिम थियो ।

त्यस्तो परिस्थितिमा पनि निश्चिन्त हुने आत्मविश्वास ममा कताकताबाट आयो । म विश्वस्त थिएँ, किनभने म पनि प्रजातन्त्रप्रति आस्थावान् व्यक्ति थिएँ । मलाई लाग्छ, उनीहरूको प्रजातान्त्रिक सोचसँग मेरो सोच पनि मिल्यो । त्यही दृष्टिकोणले पनि काम गरेको होला ।

अब हेर्नुस्, हामी यता आन्दोलन कसरी नियन्त्रण गर्न सकिन्छ भनेर लागेका थियौँ, उता हेमबहादुर मल्ल र तिनका आफन्त मिलेर काठ तस्करी गर्न लागेका रहेछन् । बिजनेस त त्यस्तो पो रहेछ ! पछि काठ पक्रिनुका साथै मल्ललाई पनि समात्यौँ । यस्ता धेरै घटनाहरू यस किताबमा मैले लेखेको छु ।

एकातिर पञ्चायती व्यवस्थाको सरकारी जागिरे, अर्कोतिर प्रजातान्त्रिक सोच । यस्तो द्वैध मानसिकतामा काम गरियो । जनकपुर म पहिलोपटक सीडीओ भएर गएको थिएँ र त्यहीँ यस्ता काम गर्नुपर्‍यो । म त्यहाँ तीन महिना मात्रै बसेँ । प्रजातन्त्र आएपछि मेरो सरुवा भैरहवा भयो । यद्यपि, म जहाँजहाँ सरुवा भएर गएँ, त्यहाँत्यहाँको काम गराइ संघर्षपूर्ण रह्यो ।

तपाईंमा जोधाहा प्रवृत्ति शाखा अधिकृत हुँदादेखि नै थियो कि विशेष जिम्मेवारी सम्हालेपछि मात्र त्यसरी सोच्नुभयो ?
मलाई लाग्छ, विशेष जिम्मेवारी पाएपछि मानिसमा जोधाहा प्रवृत्ति आउँदो रहेछ । तर, म अफिसर भएर जाँदा पनि मेरो प्रवृत्ति त्यस्तै थियो । पञ्चायतकाल होस् या प्रजातान्त्रिककाल, मेरो प्रवृत्ति सधैँ त्यस्तै रह्यो । मैले आफ्नो कर्तव्यपथ छोडिनँ ।

शाखा अधिकृत हुँदा र त्यसभन्दा माथिको पदको जिम्मेवारीमा हुँदा धेरै कुरामा ध्यान दिनुपर्ने रहेछ । त्यसैले मैले आजका पुस्तालाई यस्ता अनेक विषयहरूमा जानकारी होस् भनेरै यो किताब लेखेको हुँ । चाहे शिक्षा प्रशासन होस् वा गृह प्रशासन, अथवा अरू नै कुनै प्रशासकीय जिम्मेवारीको काममा कोही रहोस्, तिनलाई प्रेरणा मिलोस् भन्ने नै मेरो उद्देश्य हो ।

किताबको थालनी कपिलवस्तुबाट गर्नुभएको रहेछ, जबकि यसलाई स्याङ्जा जहाँ तपाईंको जन्म भयो, त्यहाँदेखिका कुरा राख्दै जीवनीको स्वरूप पनि दिन सकिन्थ्यो होला !
केही फरक होस् भनेरै मैले निजामती सेवामा रहँदाबस्दा गरेका कामहरूलाई मात्रै किताबमा राखेको हुँ । मेरो बाल्यकाल, अध्ययन वा अन्य कुराभन्दा पनि मैले जिम्मेवारीमा रहँदा गरेका काम, संघर्ष र मेरा भोगाइ नै अहिलेका नयाँ पिँढीका प्रशासकहरूका लागि प्रेरणादायी हुनसक्छ भन्ने मलाई लागेको हो । प्रथमतः खेमराज रेग्मी को हो भन्ने बुझ्न त मैले गरेको कामलाई नै हेर्नुपर्‍यो नि ! त्यसपछि मात्रै मेरो जीवनका अरूअरू पक्ष आउलान् ।

२५ शीर्षकमा जोधाहा प्रवृत्तिबारे लेख्नुको खास कारण केही छ कि ?
मैले २५ वटा शीर्षक नै पुर्‍याउँछु भन्ने सोचेर लेखेको होइन । लेख्दै गएँ र २५ वटा शीर्षक बोकेर किताब तयार भयो । मैले जति जिल्लामा काम गरेँ, ती जिल्लामा गरेका काम र घटना परिघटनाहरूलाई मात्रै यसमा राखेको छु । यसमा कतिपय प्रसंग केन्द्रका पनि छन् ।

तपाईंले ०५५ सालमा जागिर छाड्नुभयो, करिब २५ वर्षपछि ०८१ मा मात्र किताब ल्याउनुभयो नि !
धन्न पुराना कुरा बिर्सेको रहेनछु । मैले गएको दुई वर्षअघिदेखि मात्रै किताब लेख्न थालेको हुँ । न मैले जागिर खाँदा कुनै डायरी बनाएँ न कुनै टिपोट नै गरेर राखेँ । तर पनि लेख्दै जाँदा धेरै कुराको सम्झना हुँदै गयो र लेख्दै गएँ । र, आज किताब पाठकको हातमा पुगेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  ११:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro