site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सेयर बजार ‘बुलिस ट्रेन्ड’मा गएको हो ?

काठमाडौं । सेयर बजारले २०७८ भदौ २ गते बनाएको उच्च विन्दुको रेकर्ड तोड्न अब ३०० अंक बढे पुग्छ ।  हाल २९ सयको विन्दु छुन लागेको बजारलाई उच्च विन्दु तोड्न केही महिना लाग्न सक्छ । 

तर, गत बिहीबार र आइतबारको जस्तै परिसूचक बढे धेरै दिन लाग्दैन । तर, त्यसभन्दा पहिले यसअघि साउन ३१ गते बनाएको तीन हजारको विन्दु पार गर्नुपर्ने हुन्छ ।  बजारले उच्च विन्दु बनाउन राजनीतिक, आर्थिक र नीतिगत व्यवस्थाले असर पार्छ । 

पछिल्ला दिनमा बढेको बजारले मौद्रिक नीतिको समीक्षालाई पर्खिएको हुन सक्ने विश्लेषकको टिप्पणी छ । मौद्रिक नीतिको अर्थवार्षिक समीक्षा हुनुभन्दा अघिका सात कारोबार दिन बजार लगातार बढ्यो ।  मौद्रिक नीति समीक्षापछि खुलेको पहिलो कारोबार दिन बिहीबार बजार ४९.१५ अंकले बढ्यो । 

त्यसपछिको दोस्रो कारोबार दिन आइतबार नेप्से परिसूचक ७५.२४ अंकले बढ्यो ।  मौद्रिक नीतिको अर्धवार्षिक समीक्षापछिका दुई कारोबार दिनमा बजार १२४ अंकले बढ्यो ।  हुन त यसअघिका मौद्रिक नीति सार्वजनिक हुनुभन्दा अघिका ६–७ कारोबार बढ्ने र मौद्रिक नीति सार्वजनिक भएपछिका केही दिन बढेर उच्च अंकले घट्ने पनि गरेको छ । 

उदाहरणका लागि २०७८÷७९ को मौद्रिक नीति सार्वजनिक हुनुभन्दाअघि र पछिका केही कारोबार हेर्न सकिन्छ ।  २०७८ भदौ २ गते बजारले उच्च विन्दु बनाउँदा मौद्रिक नीति त्यसको चार दिन अगाडि सार्वजनिक भएको थियो । 

सो वर्षको मौद्रिक नीति साउन २९ गते सार्वजनिक हुनुभन्दा अगाडि साउन २६ गते बजार ५१ अंक बढेको थियो । त्यसपछिका दिनमा बजारमा केही उतारचढाव देखिएको भए पनि कारोबार रकमले नयाँ–नयाँ रेकर्ड बनाएको थियो । त्यो समय दैनिक एक÷दुई अर्ब रुपैयाँको कारोबार हुँदै आएकोमा उच्च विन्दु कायम गर्ने बेला दैनिक १० अर्बभन्दा माथिको कारोबार भएको थियो । त्यसै समयमा २१ अर्ब बढीको कारोबार पनि भएको थियो । 

तर, २०७८ सालको मौद्रिक नीति सार्वजनिक भएपछिका तीन कारोबार पछि बजारले नयाँ रेकर्ड बनायो । त्यो रेकर्ड तोड्न बजार अहिले अग्रसर छ । 

किनभने प्रत्येक दुई वर्षलाई बुलिस र बियरिस ट्रेन्डमा बजार जाने विश्लेषकहरु बताउँछन् । 

२०७८ भदौदेखि २०८१ फागुनसम्म आइपुग्दा बजारले २०७९ असोज ९ गते हालसम्मकै न्यून विन्दु बनाएको छ । असोज ९ गते बजार १८१५ विन्दुसम्म झरेको थियो । 

त्यसयताका कारोबार दिनमा उतरचढाव देखिएको भए पनि बजार ‘बुलिस ट्रेन्ड’मा नै रहेको बजारका जानकार बताउँछन् ।  पछिल्लो एक वर्षको तथ्यांक र सेयर बजारका जानकारहरूका कुराले पनि त्यही देखाउँछ । 

सेयर बजारमा लामो समयदेखि कारोबार गर्दै आएका एक अनुभवी सेयर लगानीकर्ता पनि अहिले बजार बुलिस ट्रेन्डमा रहेको बताउँछन् । उनका अनुसार बुलिस र बियरिस ट्रेन्ड प्रत्येक दुई वर्षको हुन्छ । 

२०७८ को भदौ २ गतेको ३२ सय विन्दु पार गर्न केही समय लाग्न सक्छ ।  अहिले कारोबारमा रहेका प्रत्येक कम्पनीको सेयर मूल्य एक वर्षभित्रको न्यूनतम विन्दुभन्दा माथि छ ।  कतिपय कम्पनीको सेयर मूल्य अहिले पनि चारगुणा बढी छ । 

धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक २९ सयको विन्दु नजिक छ ।  अबका कारोबार दिनमा बजार २८ सय विन्दुभन्दा तल नझरी १० अर्बभन्दा बढीको दैनिक कारोबार भए बुलिस ट्रेन्डको सपोर्ट अझ बलियो हुने ती लगानीकर्ता बताउँछन् । 

“पछिल्ला तीन/चार कारोबारलाई हेर्दा मौद्रिक नीतिको समीक्षा लक्षित हो कि भन्ने देखिन्छ, तर अहिले बजार बुलिस ट्रेण्डमा छ,” ती लगानीकर्ताले भने, “मौद्रिक नीतिको समीक्षा पछिको पहिलो कारोबारमा वाणिज्य बैंकहरूसँगै हाइ क्याप हाइड्रो पनि चले, वाणिज्य बैंकमा मात्र आकर्षित देखिएको भए बजार झन मजबुद हुन्थ्यो । हाइक्याप हाइड्रोमा पनि आकर्षण देखिएकाले केही अन्योल सृजना गराएको थियो । किनभने हाइड्रोको मूल्य धेरै नै बढेको छ ।” 

अहिले हाइड्रो र विकास बैंकको सेयर मूल्य अत्याधिक बढेको छ ।  एक वर्षको अवधिमा विकास बैंकहरूको सेयर मूल्य चार गुणासम्म बढेको छ ।  वर्षाैँदेखि लाभांश नै नदिएका कम्पनीको सेयर मूल्य उच्च छ ।  सेयर कित्ता कम भएका कम्पनीहरूमा लगानीकर्ता झुम्मिँदा यस्ता कम्पनीको सेयर मूल्य अत्यधिक बढ्दै गएको देखिन्छ । 

तर, लगानीकर्ता कम्पनीको सेयर मूल्य, कम्पनीले दिँदै आएको लाभांशदर, कम्पनीको नाफा र नेटवर्थलाई ध्यान दिनुपर्ने ती लगानीकर्ता बताउँछन् । बढी मूल्य भएका कम्पनीमा लगानी गर्दा बुलिस ट्रेन्डमै पनि फस्न सक्ने सम्भावना हुने ती लगानीकर्ता बताउँछन् । 

वाणिज्य बैंक समूहका कम्पनीको चुक्तापुँजी बढी हुने भएकाले यी कम्पनीको सेयर मूल्य खासै बढेको देखिँदैन ।  तर, मौद्रिक नीतिको समीक्षापछि यी समूहका कम्पनीको मूल्य पनि बढेको छ ।  यसअघि तीन हजारको विन्दु पुगेर बजार २५ सयको विन्दुमा फर्किएको थियो । 

अहिलेको दैनिक कारोबार रकमले पनि बजार बुलिस ट्रेन्डमा नै अगाडि बढेको सेयर बजारको बारेमा अध्ययन तथा प्राविधिक विश्लेषण गर्दै आएका सुवासचन्द्र ढुंगाना बताउँछन् । 

बढेको बजारमा नाफा बुक गर्नेहरू सक्रिय भएर केही करेक्सन आए पनि बजार २६–२७ सयको विन्दुभन्दा तल नझर्ने उनको विश्लेषण छ ।

“बजार कहाँबाट करेक्सन हुन्छ थाहा छैन, त्यो भयो भने पनि एउटा प्रफिट बुकको रूपमा र किन्ने अवसरको रूपमा लिन सकिने देखिन्छ,” ढुंगानाले बाह्रखरीसित भने, “मौद्रिक नीतिको समीक्षा अगाडिदेखि नै बजारले एउटा ट्रेन्ड देखाएको थियो । मौद्रिक नीतिको समीक्षामा बैंकको असल कर्जाको प्रोभिजन घटाइएको छ । यो भनेको बजारका लागि लङट्रम प्रभाव हो ।” 

अहिले बजारको बुलिस ट्रेन्डमा नै रहेकोले केही तलमाथि हुनुलाई करेक्सनको रूपमा लिनुपर्ने ढुंगानाले बताए । 

“यो वर्ष तीन हजारको विन्दुसम्म पुगेर २४ सयको विन्दुमा झर्दा पनि बजार बुलिस ट्रेन्डमा नै थियो । तीन हजारबाट २४ सयको लाइनलाई ठूलो करेक्सनका रूपमा लिन सकिन्छ,” ढुंगानाले बाह्रखरीसित भने, “टेक्निकल्ली हेर्दा पनि हाइ र लो बनिरहेको छ । मार्केट २३५० हुँदासम्म बुलिस नै छ भनेर बुझ्नुपर्छ ।” 

तीन हजारको विन्दुलाई ब्रेक गर्न केही समय लाग्ने भए पनि ३२ सयको विन्दु पार गरेर नयाँ विन्दु कायमको लयमा बजार रहेको ढुंगाना बताउँछन् । 

नयाँ उच्च विन्दु बनाउन हाइ क्याप र बजारमा राम्रा मानिएका कम्पनी चल्न आवश्यक रहेको उनी बताउँछन् । अहिलेको बुलिस ट्रेन्ड कहिले सकिन्छ भनेर अहिले नै भन्न नसकिने बजारका जानकार बताउँछन् । 

तर, बजारमा जोखिम भएकाले कम्पनी छनोट गर्दा अरूको सल्लाहमा लाग्न नहुने पनि जानकार बताउँछन् । 

लगानीका सुत्रहरू बनाएर बजारमा पस्ने र निष्किने गर्नु उचित हुने सेयर बजारसम्बन्धी प्रशिक्षण दिँदै आएका प्रशिक्षक तथा लगानीकर्ता सुवासचन्द्र भट्टराई बताउँछन् । 

बजारले नयाँ उचाइ बनाउनेमा आफू विश्वस्त भएको भन्दै लामो यात्रामा केही कठिनाइ हुने उनले बताए ।  लगानीकर्ताले कम्पनी छनोट र लाभलाई ध्यान दिनुपर्ने उनको भनाइ छ । 

“बजार अहिले बुलिस ट्रेन्डमा छ, तर लगानीर्ताले कम्पनी छनोटमा ध्यान दिनुपर्छ । कतिपय कम्पनी अहिले पनि बढी मूल्यका छन्,” उनले भने, “कम्पनी छनोटमा ध्यान दिएर आफूले कति नाफा राख्ने ध्यान दिनुपर्छ । नाफा बढी राख्न खोज्दा बजारमा उल्टै घाटा व्यहोर्नुपर्ने अवस्था पनि आउन सक्छ ।”

पछिल्ला कारोबार दिनमा पनि बजारले नयाँ उचाइ बनाउने संकेत देखाइरहेको छ । 

दैनिक कारोबार रकम पनि बढ्दै गएको छ । गएको बिहीबार र यो साताको आइतबारको कारोबार रकमले पनि बजारले उच्च विन्दु कायम गर्ने संकेत दिएको छ । 

तर, एक महिना तथा दुइ महिनामा नै यो सम्भव नहुने जानकार बताउँछन् ।  पछिल्लो एक महिनाको कारोबार अवधिमा बजार समग्रमा ३१६.८९ अंक बढेको छ ।  २१ कारोबार दिनमा बजार सात कारोबार दिन मात्र घटेको छ । बाँकी १४ कारोबार दिन बजार बढेको छ । 

सात कारोबार दिनमा बजार ७०.५६ अंक मात्र घटेको छ । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: सोमबार, फागुन १९, २०८१  ०९:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro