
काठमाडौं । पोखरामा सम्पन्न भइरहेको एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिबलमा बाह्रखरी मिडियाद्वारा प्रस्तुत सत्र ‘कथाखरी बाह्रखरी २०८१’ सम्पन्न भएको छ ।
आइतबार पोखरामा सम्पन्न उक्त सत्रमा बाह्रखरी कथा २०८१ कि निर्णायक समूहकी संयोजक प्रा.डा. ज्ञानु पाण्डेले बाह्रखरी कथा प्रतियोगिताले कथा साहित्यमा रुचि राख्ने कलमजीवीलाई साहित्यकार बन्न उत्साह दिएको बताएकी छन् ।
डा. पाण्डेले कथाकारहरूका लागि यो राम्रो प्लेटफर्म भएको उल्लेख गर्दै नेपाली कथाको भोलि भनेको आजका कथाकार नै भएको बताइन् ।
उनले प्रतियोगितामा आएका कथाको चर्चा गर्दै भनिन्, “हामीलाई ५२ वटा कथा पढ्न दिइएको थियो । त्यसमा नाम र शीर्षक दुवै थिएन । त्यसले हामीलाई कथा छान्न झनै सहज गर्यो । यसो हुँदा कसैप्रति बायस हुन सक्ने सम्भावना नै रहेन ।”
कथा लेखनमा लाग्नेहरूका विषयमा बोल्दै डा. पाण्डेले उपन्यास अलिक विस्तृत हुने तर कथामा संक्षेपमा पूर्ण अभिव्यक्ति व्यक्त गर्न सकिने बताइन् ।
उनले भनिन्, “कथा त्यस्तो विधा हो जसमा अनुभूतिको डेप्थमा जान पाइन्छ । र, पाठकलाई समाउने गरी लेख्न पाइन्छ ।” डा. पाण्डेले भोलिको कथा लेखनप्रति आशावादी रहेको उल्लेख गरिन् ।
बाह्रखरी कथा प्रतियोगिता २०८१ मा प्रथम उपाधि हासिल गर्ने कथाकार विष्णु पादुकाले आफूले डोल्पाको विद्यालयमा लामो समय अध्यापन गराएको स्मरण गर्दै त्यहाँ देखिएका समस्याहरूमाथि केन्द्रित रहेर कथा लेखेको बताए ।
सहजकर्ता पाण्डेले सोधेको प्रश्नको जवाफ दिँदै पादुकाले भने, “डोल्पामा लामो समय पढाएँ । त्यहाँ विद्यार्थी भर्ना गर्ने विषयमा पनि समस्या । त्यसको कारण हो जन्मदर्ताको अभाव । यिनै समस्याहरूबारे बुझ्दै जाँदा नै मैले यो कथा लेखेँ ।”
कथाकार पादुकाले आफूले कथा कविता नियमित लेखिरहने बताउँदै बाह्रखरी कथाको सूचना देखेपछि आठ हजार शब्दको आफ्नो कथालाई पुनर्लेखन गरेर शब्द सीमाभित्र लेखेर पठाएको बताए ।
बाह्रखरी कथा २०८१ मा तृतीय स्थान प्राप्त कथाकार विवेक धिमालले आफू शिक्षक भएको र विद्यालयका विद्यार्थीहरूका ससाना समस्याहरूले छुने गरेको स्मरण गर्दै विद्यालय र विद्यार्थीलाई नै कथाको विषय बनाएर कथा लेखेको बताए ।
धिमालले भने, “म विद्यार्थीलाई पढाउने मात्रै होइन कि विद्यार्थीका कतिपय कुरालाई पनि नियाल्थेँ । कतिपय विषयले मलाई छुन्थ्यो । र, त्यसैलाई पछि गएर कथामा उन्दै गएँ ।”
आफूले कविता लेख्दा पनि सरल भाषामा लेख्न रुचाउने भन्दै विद्यार्थी भाइबहिनीले पनि सजिलो गरी बुझुन भनेरै आफूले कथा कविता सरल भाषामा लेख्दै आएको उल्लेख गरे । धिमालले आफूले यस कथालाई दर्जन पटक मिलाएको बताए ।
सत्रका सहजकर्ता बाह्रखरी कथा २०८१ का सम्पादक आख्यानकार नयनराज पाण्डेले कथाको स्तर, महिला सहभागितामा कमी र भाषिक शुद्धताबारे पनि सवाल उठाए ।
डा. पाण्डेले भावना र अनुभूति सबैसँग हुने तर सबै साहित्यकार हुन नसक्ने बताउँदै कुनै पनि विधामा लेख्ने मान्छेमा प्रस्तुतिको शैली हुनुपर्नेमा जोड दिइन् । उनले कथामा भाषा प्रयोग गर्दा पात्रको अवस्थाअनुसार सुहाउने भाषा हुुनुपर्ने बताइन् ।
उनले कथाकार गोविन्दबहादुर मल्ल गोठालेको कथा ‘म जुजुमान’को उदाहरण दिँदै त्यसले दिएको सन्देशको चर्चा गर्दै कथा लेखनको शिल्पबारे बोलिन् ।
डा. पाण्डेले कथा लेखनमा महिला सहभागिताको प्रसंगमा हाम्रो समाजमा अहिले पनि परिवर्तन हुन नसकिरहेको बताउँदै महिला कथाकार तुलनात्मक रूपमा कम आउने गरेको बताइन् ।
उनले अनुभूतिमा पनि अंकुश लगाउन सक्ने अत्याचार हुँदै आएको उल्लेख गर्दै पुरातनपन्थी सोच अझै रहेकोले त्यसका लागि व्यावहारिक परिवर्तन आवश्यक भएको उल्लेख गरिन् ।
उनले महिला कथाकारहरूका समस्याका केही उदाहरण पनि सुनाइन् ।