काठमाडौं । रुसकी एकातोरिना जुभियागिनसिभाले गण्डकी थन्डर्सबाट वात्साल्य एभरेस्ट वुमन्स भलिबल लिग खेल्ने भएकी छन् । गण्डकीले आफ्नो तेस्रो विदेशी खेलाडीको रूपमा एकातोरिनालाई अनुबन्ध गरेको हो ।
एकातोरिना रुसको घरेलु लिगमा परिचित अनुहार हुन् । उनले रुस तथा मंगोलियामा हुने घरेलु प्रतियोगिता खेलेकी छन् । एकातोरिनाले नेपालमा भलिबल खेल्न आउन पाउनु आफ्ना लागि खुसिको कुरा भएको बताएकी छन् ।
“नेपाल जस्तो सुन्दर देशमा भलिबल खेल्न आउन पाउँदा मलाई खुसी लागेको छ । छिट्टै कोर्टमा भेट हुने छ,” सम्झौतापछि उनले भनिन् ।
एकातोरिनाले दुई सिजन सन् २०१७ र २०१८ मा यू–२० रसियन लिग खेलेकी छन् । त्यस्तै, उनले सन् २०२३–२४ मा मंगोलियन प्रिमियर लिग खेलेकी छन् ।
गण्डकीले यसअघि भारतकी शिल्पा सिन्धु र रुसकी एलिसा रुबियकलाई अनुबन्ध गरेको थियो । अझै एक खेलाडी अनुबन्ध गर्ने गण्डकीको योजना छ ।
आफ्नो तेस्रो विदेशी खेलाडी अनुबन्ध गरेपछि टिमका प्रबन्धक विकास खेतानले तीन जना विदेशी खेलाडी टिममा रहँदा गण्डकी बलियो भएको बताए ।