site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सेयर बजारले बियरिस लय लिएको हो ?

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक पछिल्ला दिनमा निरन्तरजस्तै घटेको छ । एक वर्षको न्यूनतम र अधिकतम विन्दु हेर्दा बजार ३००० विन्दु पुगेको थियो ।

तर, बजार अहिले घटेर २५७६.७६ विन्दुमा छ । यो तथ्यांक बुधबारसम्मको हो । बजार एक वर्षको अन्तरालमा १८२६ बाट उकालो लागेर ३००० विन्दुसम्म पुग्दा सबैलाई बजारमा बुलिस ट्रेन्ड सुरु भएको लागेको थियो । यसअघिको उच्च विन्दु पार गर्ने आशले कतिपयले धितोपत्र दोस्रो बजारमा ऋण लिएर पनि लगानी गरेका थिए । हाल बजार ३००० विन्दुबाट फर्किएको छ ।

पछिल्लो २१ कारोबार दिनमा बजार सातदिन मात्र बढेको छ । बाँकी १४ कारोबार दिन बजार घटेको छ । पछिल्लो एक महिनामा बजार घट्ने क्रम बढेको छ । साउन ३१ गते ३००० विन्दुमा पुगेको बजार घटेर २५७६ विन्दुमा झरेको छ । त्यसयता बजार ४२४.०५ अंकले घटेको छ । एक महिनाको अन्तरालमा बजार १४.१३ प्रतिशतले घटेको हो । यही विन्दुबाट बजार बढ्यो भने ३००० विन्दुमा पुग्न १६.४६ प्रतिशत बढ्नुपर्छ ।

हाल कारोबार रकम पनि घट्दै गएको अवस्था छ । साउन ३१ गते २९ अर्ब ९५ करोड रुपैयाँको सेयर कारोबार भएकोमा बुधबारसम्म आइपुग्दा पाँच अर्ब ६६ करोड रुपैयाँमा झरेको छ । साउन ३१ गतेको तुलनामा बजारमा बुधबारसम्म ८१ प्रतिशतभन्दा कम मूल्यको सेयर कारोबार भएको छ ।

यसरी कारोबार रकम कम हुँदा अर्थमन्त्री विष्णुप्रसाद पौडेल अचम्ममा परेको अभिव्यक्ति दिँदै आएका छन् । बुधबार नेप्से परिसरमा पुगेर कारोबार रकम र नेप्से परिसूचक घट्नुको कारण समेत सोधेका थिए । यसको उत्तर नआएसम्म आफूलाई, आफ्ना राजस्व सचिव र नेप्सेको नेतृत्व गरिरहेका कर्मचारीलाई पनि सोधिरहने बताए । उनले यसरी प्रश्न गरेकी बजारको प्राविधिक विषय नै उनलाई थाहा नभए जसरी कर्मचारीलाई प्रश्न सोधे ।

धितोपत्र बजार सधैँ एकनासले उकालो लाग्ने र ओरालो झर्ने हुँदैन । बजारमा केही प्रतिशत मूल्य बढेपछि नाफा बुक गर्नेहरू सक्रिय हुँदा बजार घट्छ । बजारमा माग बढ्दा कम्पनीहरूको सेयर सप्लाई बढेन भने बजार बढ्छ । 

हुन पनि सेयर बजार भनेकै पैसा लगानी गरेर आफ्नो सावाँसहित नाफा बुक गर्ने क्षेत्र हो । यहाँ दीर्घकालीन लगानी गर्नेदेखि सट्टेबाजीको रूपमा कारोबार गर्नेहरू सक्रिय हुन्छन् । तर, पहिलोपटक बजारमा छिर्नेले भने बजारको लय नबुझ्दा उच्च मूल्यमा सेयर किनेर बेच्न नसक्ने स्थिति बन्न सक्छ । उनीहरू घाटा खाएरै बजारबाट बाहिरिन्छन् ।

अहिलेको बजारलाई कतिपयले बुलिस र कतिपयले बियरिस भनिरहेका छन् । तर, यसअघिका तथ्यांक हेर्दा बजार अहिले बुलिस ट्रेन्डमा नै छ । यसको न्यूनतम विन्दु १८२६ हो । २०८० कात्तिक १९ गते बजार १८२६.२३ विन्दुमा बन्द भएको थियो । त्यसयता बजार १९०० विन्दुभन्दा तल झरेको छैन ।

सेयर विश्लेषककै कुरा मान्ने हो भने पनि बजार उच्च विन्दुबाट २० प्रतिशत तल झर्‍यो  भने त्यसलाई बियरिस ट्रेन्ड मान्न सकिन्छ । सेयर विश्लेषक रवीन्द्र भट्टराईले पनि आफ्नो पछिल्लो किताब ‘सेयर सुत्र’मा बजार उच्च विन्दुबाट १०–२० प्रतिशतसम्म तल झरे त्यसलाई करेक्सनका रूपमा लिनुपर्ने उल्लेख गरेका छन् । तर, बजार २० प्रतिशतभन्दा तल झर्‍यो भने लगानीकर्ता पेनिक हुने र आत्तिएर सेयर बेच्न थाल्ने उनको भनाइ छ ।

त्यसले पनि अहिलेको बजारलाई करेक्सनको रूपमा लिनुपर्छ । भट्टराईकै कुरालाई मान्ने हो भने बजार बियरिस ट्रेन्डमा जान ३००० विन्दुको २० प्रतिशत घटेर २४०० विन्दु तल बन्द हुनुपर्छ ।

सेयर विश्लेषक सुभावचन्द्र ढुंगाना पनि अहिलेको बजारलाई करेक्सनका रूपमा लिन्छन् । उनले पनि १६–१७ प्रतिशत घट्नुलाई करेक्सनकै रूपमा लिएका छन् ।

इन्ट्रा डेको उच्च विन्दु र न्यून विन्दुलाई नै हेर्दा पनि बजार उच्च विन्दुबाट १६.२९ प्रतिशत घटेको छ । नेप्से परिसूचकले हालसम्मकै उच्च विन्दु २०७८ भदौ २ गते ३१९८ बनाएको थियो । सो विन्दुलाई पार गर्न सके बजारले नयाँ रेकर्ड कायम गर्नेछ ।

प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  ०८:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro