site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
'बाफियाबाट बैंकर र व्यवसायी छुट्याइए आर्थिक गतिविधि नै प्रभावित बन्छ'

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) संशोधनले नेपालको आर्थिक गतिविधि नै प्रभावित पार्ने बताएका छन् । काठमाडौंमा आयोजित तेस्रो संस्करणको नेसनल बैंकिङ डिस्कोर्स, २०२५ को उद्घाटन सत्रमा ढकालले संसद्‌मा विचाराधीन ऐनमा संशोधनको प्रस्तावअनुसार हुबहु पारित भए आर्थिक गतिविधि नै प्रभावित बन्ने बताएका हुन् ।

बाफियासँग सम्बन्धी ऐन संशोधन गर्न संसद्‌मा प्रस्तावित विधेयकमा बैंकर र उद्योगी छुट्याउने प्रस्ताव गरिएको अवस्थामा यस विषयलाई गम्भीररूपमा लिनुपर्ने उनको तर्क थियो ।

Argakhachi Cement Island Ad

“व्यवसायी र बैंकर छुट्याउने भन्ने जुन विषय छ । यसले अर्थतन्त्रमा समस्या पार्न सक्छ । एकातिर प्रमोटरलाई उत्तरदायी बनाउने भन्दै ५१ प्रतिशत सेयर संस्थापकलाई दिने भनिएको छ । यसबाहेक, सम्बद्ध पक्ष भनेर परिभाषित गरिएको छ । यो व्यवस्थाअनुसार १ प्रतिशतभन्दा बढी सेयर भएका लगानीकर्ताले कर्जा लिन नपाउने हो भने सबैजसो उद्योगधन्दा व्यवसाय बन्द हुने जोखिम छन्,” अध्यक्ष ढकालले भने ।

उनले बजेट कार्यान्वयन गर्न सके नेपालले लिएको आर्थिक विकासको लक्ष्य पूरा गर्न सकिनेसमेत बताए । 

यस्तै, अध्यक्ष ढकालले वातावरणलाई असर नपर्ने गरी खनिजजन्य पदार्थको आन्तरिक प्रयोग र निर्यात गर्न सकिने बजेटको व्यवस्था सकारात्मक भएको बताए । मध्यपूर्वको उदाहरण दिँदै अध्यक्ष ढकालले भने, “यदि मध्यपूर्वका देशलाई आफूसँग भएको पेट्रोलियम पदार्थको निर्यात नगरेको भए वा निर्यात गर्न नदिइएको भए मध्यपूर्वका देश आजको अवस्थामा रहने थिएनन् । तसर्थ हामीले पनि वातावरणमा नकारात्मक असर नपर्ने गरी नेपालमा भएको प्राकृतिक स्रोतको प्रयोग र निर्यातलाई सहजीकरण गर्नुपर्छ,” उनले भने ।

प्रकाशित मिति: बिहीबार, जेठ २२, २०८२  १३:३४
प्रतिक्रिया दिनुहोस्