site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सर्पले एक वर्षमा १४ हजारलाई डस्यो 
SkywellSkywell

काठमाडौं । सर्पले पछिल्लो एक वर्षमा १४ हजार जनालाई टोकेको छ । यो संख्या नेपाली सेनाद्वारा विभिन्न स्थानमा सञ्चालित सर्पदंश उपचार केन्द्रमा उपचार गर्न आउनेको मात्र हो ।

नेपाली सेनाका अनुसार, उक्त तथ्याङ्क २०८० भदौ १० गतेदेखि २०८१ भदौ १० गतेसम्मको हो । उक्त अवधिमा सेनाले सञ्चालन गरेको २२ वटा सर्पदंश उपचार केन्द्रमा उनीहरूको उपचार भएको थियो । 

“हाल १७ जिल्लाका २२ स्थानहरूमा रहेका सर्पदंश केन्द्रमध्ये ५ वटा नेपाली सेनाको पूर्ण स्वामित्वमा संचालित छन् । ४ वटा स्थानीय र नेपाली सेनाको सहकार्यमा र १३ वटा नेपाली सेना, स्थानीय निकाय र जनस्वास्थ्य कार्यालयको संयुक्त सहकार्यमा संचालित छन्,” नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केसीले बाह्रखरीसँग भने । 

Dabur Nepal
NIC Asia

झापा र कपिलवस्तु जिल्लामा २०६० सालमा स्थापित सर्पदंश केन्द्रबाट नेपाली सेनाले उपचार सुरु गरेको हो । त्यसपछि सेनाले यो सेवालाई विस्तार गर्दै आएको छ ।  नेपालका सर्पदंश उपचार केन्द्रमा भारतीय नागरिकले समेत सेवा लिने गरेका छन् । केन्द्र नजिक रहेका भारतीय वस्तीका वासिन्दा सर्पले टोकेमा उपचारका लागि यिनै केन्द्र आउने गर्छन् ।

२०६० सालदेखि २०८१ भदौ १० गतेसम्म सेनाले सञ्चालन गरेका सर्पदंश केन्द्रमा सर्पले टोकेपछि उपचारको लागि १ लाख ३० हजार जना आएको सेनाको तथ्याङ्कले देखाउँछ ।  “सबैभन्दा धेरै महोत्तरीको बर्दिवास नगरपालिका–३ गौरीडाँडामा सञ्चालित केन्द्रबाट हालसम्म ३० हजार ९ सय ७८ जनाले उपचार पाएका छन्,” नेपाली सेनाका प्रवक्ता केसीले जानकारी दिए । 

सेनाको तथ्याङ्कले सर्पदंशका घटनाबाट सबैभन्दा बढी प्रभावित तराई र भित्री मधेशलाई देखाउँछ । गर्मी र वर्षायाममा सर्पको बिगबिगी बढी हुने गरेको भनाई सेनाको छ । सेनाका अनुसार नेपालमा जेठदेखि असोजसम्म बढी सर्प देखिने र सोही समयमा धेरै जनालाई टोक्ने गर्छ ।

“सर्पदंश हुने स्थानमा नेपाली सेना र स्थानीय समुदायहरूले सहकार्य गरी सर्पदंश उपचार केन्द्रहरू स्थापना गरेका छन्,” सैनिक प्रवक्ता केसी भन्छन्, “उपचार केन्द्रहरूमा तालिम प्राप्त जनशक्तिबाट उपचार हुन्छ ।”

यस्ता उपचार केन्द्रहरूले प्रदान गरेको सेवा प्रभावकारी बनेको दाबी नेपाली सेनाको छ । यस्ता केन्द्रले वर्षको ३६५ नै दिन र चौबिसै घण्टा सेवा प्रदान गर्दै आएको भनाई सेनाको छ । 

सर्पदंशबाट बढी प्रभावित महोत्तरी, सर्लाही, सप्तरी, धनुषा, सिराहा र बारामा ८ वटा सर्पदंश उपचार केन्द्र छन् । यो नेपाली सेनाको मध्यपूर्वी पृतनाको जिम्मेवारी क्षेत्रमा पर्छ । हालसम्म सर्लाहीमा सञ्चालित केन्द्रमा ७ हजार २९६, महोत्तरीमा सञ्चालित केन्द्रमा ३० हजार ९७८, सप्तरीमा सञ्चालित केन्द्रमा १ हजार ४२२ र पर्सामा सञ्चालित केन्द्रमा ६१३ जनाको उपचार गरिएको छ ।

सुदूर पश्चिम पृतनाअन्तर्गत कञ्चनपुर र कैलाली सर्पदंश प्रभावित जिल्लाहरू हुन् । हालसम्म कञ्चनपुरमा सञ्चालित  उपचार केन्द्रमा १ हजार ७७९ र कैलालीमा सञ्चालित केन्द्रबाट २ हजार २९ जनाले उपचार लिएका छन् ।

उत्तर–पश्चिम पृतनाअन्तर्गत बाँके जिल्लामा रहेका २ वटा सर्पदंश उपचार केन्द्रबाट हालसम्म ८६१ जनाले उपचार लिएका छन् । 

मध्य पश्चिम पृतनाअन्तर्गत प्युठान, दाङ, कपिलवस्तु र नवलपरासी बर्दघाट सुस्ता पश्चिमका ४ जिल्लामा सर्पदंश उपचार केन्द्र छन् । हालसम्म प्युठानको केन्द्रबाट ८२, दाङको केन्द्रबाट ८१५, नवलपरासीको केन्द्रबाट ६ हजार ७३७ र कपिलवस्तुको केन्द्रबाट १८ हजार जनाले उपचार लिएको सेनाले जनाएको छ ।
 
पूर्वी पृतनाअन्तर्गतका सुनसरीको इटहरीमा रहेको केन्द्रबाट हालसम्म १६ हजार २०७ र झापाको चारआलीमा रहेको केन्द्रबाट २० हजार ४६२ जनाले उपचार लिएको सेनाको तथ्याङ्कले देखाउँछ ।

मध्यपूर्वी पृतनाअन्तर्गत धनुषाको महेन्द्रनगर केन्द्रमा हालसम्म ९५१ र धारापानी केन्द्रबाट १५५ जनाले उपचार सेवा लिएका छन् । यस्तै, सिराहा जिल्लामा रहेका दुईवटा केन्द्रमार्फत हालसम्म ९ हजार ३९० जनाको उपचार गरिएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  ०९:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu