ढोरपाटन । तमानखोला गाउँपालिकाले तमान गाउँमा रहेको पञ्चायत घर १० लाख रुपैयाँ खर्चेर जीर्णोद्धार गरेको छ । स्थानीय स्रोत प्रयोग गरी जीर्णोद्धार भएको यो घरलाई संग्रहालय र पुस्तकालयका रूपमा विकास गरिने भएको हो ।
तमानखोला गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ मा विनियोजन गरेको रु दश लाख र स्थानीयको श्रमदानबाट जीर्णोद्धार भएको यो घरलाई तमानखोला गाउँपालिका वडा नम्बर–३ ले कार्यालयका रूपमा सञ्चालन गरेको छ ।
वडा कार्यालयको भवन निर्माणाधीन रहेकाले त्यो पूरा हुनेवित्तिकै नयाँ घरमा कार्यालय सारिने तथा पञ्चायतघरलाई पुस्तकालयमा परिणत गरिने वडाध्यक्ष झकबहादुर बुढामगरले बताए ।
पञ्चायतकालमा उक्त घरमा गाउँ पञ्चायतका प्रमुख, उपप्रमुखलगायत पदाधिकारीको कार्यालय थियो । तत्कालीन तमान गाउँ पञ्चायत कार्यालयबाट लुकुरबन, खुङ्गा, नर्जा, खुङ्खानी, तमान, लाम्मेलाका स्थानीयलाई सेवा प्रवाह गरिन्थ्यो । रासस