site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इरानसँग हारेपछि लिग चरणको विजेता बन्ने नेपालको लक्ष्यमा धक्का

काठमाडौं । रोमाञ्चक खेलमा घरेलु टिम नेपाललाई ३–२ को सेटमा निराश बनाउँदै इरानले काभा महिला नेसन्स लिगको लिग चरण टुंग्यायो

आइतबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिसरमा भएको यस खेलले घरेलु समर्थकलाई रोमाञ्च, उत्साह र तनाव गजबैले दियो । शनिबार भारतविरुद्ध ऐतिहासिक जित निकालेर सनसनी मच्चाएको नेपालले आइतबार भने त्यो लयअनुसारको प्रदर्शन देखाउन सकेन ।

सानो कभर्ड हलमा भरिभराउ दर्शकमाझ नेपाललाई इरानले पहिलो सेटमा २५–१६ ले हरायो ।

Nepal-vs-Nepal-(25)-1722781326.jpg
 

पहिलो सेटमा नेपाली टोली डिफेन्समा निकै फितलो देखियो । पहिलो सेटमा नेपालविरुद्ध पूरा हाबी बनेको इरानले नै सेटको पहिलो अंक लिएको थियो । पहिलो सेटमा इरानले सुरुआतमै ३–० को अग्रता बनाउँदा नेपालका प्रशिक्षक जगदीश भट्टले पहिलो टाइमआउट लिँदै इरानको यो लय ब्रेक गर्ने प्रयास गरे । तर, प्रशिक्षक भट्ट यो रणनीतिमा सफल बन्न सकेनन् । पुनः इरानले लगातार अंक खोसेपछि भट्टले ५–१२ को स्थितिमा दोस्रोपटक टाइमआउट लिएका थिए ।

पहिलो सेटमा इरानले एकपटक मात्र टाइमआउटको प्रयोग गर्‍यो । इरानले नेपालविरुद्ध १९–११ को स्थितिमा टाइमआउट लिएको थियो ।

पहिलो सेटमा नेपाल तीनपटक सर्भिसमा चुक्यो । नेपालकी सुमित्रा रेग्मीले दुई र निरुता ठगुन्नाले समान एक अंक सर्भिसबाट इरानलाई दिए । पहिलो सेटमा इरानबाट भएको सर्भिस गल्तीमा नेपालले पनि तीन अंक नै पाएको थियो ।

Nepal-vs-Nepal-(21)-1722781323.jpg
 

पहिलो सेटमा जसरी पराजित भएको थियो, नेपालले दोस्रो सेटमा इरानलाई त्यसैगरी पराजित गर्‍यो । यस सेटमा नेपालले इरानविरुद्ध २५–१६ कै स्कोरमा जित निकाल्यो । दोस्रो सेटको सुरुआती अंक जोडेको नेपालले लगातार इरानमाथि दबाब बनाउन सफल रह्यो । 

सुरुआतमै नेपालले ४–० को अग्रता बनाउँदा इरानी प्रशिक्षकले पहिलो टाइमआउट लिँदै नेपालको लय ब्रेक गर्ने प्रयास गरेका थिए । यो सेटको सुरुआतमा नेपालले ७ अंक जोड्दासम्म इरानले अंकको खाता खोल्न सकेको थिएन ।

पहिलो सेटको तुलनामा यो सेटमा सर्भिसमा सुधारिएको प्रदर्शन गरेको नेपालले १५–८ को स्कोर हुँदा पहिलो टाइमआउटको उपयोग गरेको थियो । यसपछि दुवै टिमले समान तीन अंक जोड्दै स्कोर नेपालले १८–११ को स्थितिमा राख्दा इरानी प्रशिक्षकले दोस्रोपटक टाइमआउट लिएका थिए ।   दोस्रो सेटमा निरुता र सरस्वती चौधरीले समान एक गरी दुई अंक इरानले नेपाली टिमको सर्भिस गल्तिबाट पाएको थियो । दोस्रो सेटमा इरानबाट पनि नेपालले दुई अंक नै सर्भिस गल्तीबाट पाएको थियो ।

तेस्रो सेटमा पुनः इरानले नेपालविरुद्ध २५–२३ को जित निकाल्दै खेलमा २–१ को अग्रता बनायो । 

यस सेटको पहिलो अंक नेपालले जोडेको थियो । नेपालले ७–५ को स्थितिमा तेस्रो सेटको पहिलो टाइमआउट लियो । सुरुआतमा इरानविरुद्ध लगातार अंक खोस्न सफल रहे पनि अन्त्यमा पाहुना टिम नेपालविरुद्ध हाबी रह्यो । 

Nepal-vs-Nepal-(18)-1722781321.jpg
 

तेस्रो सेटमा ८–१० ले पछि पर्दा नेपालले लगातार ६ अंक जोड्दै स्कोर १४–१० मा ल्याएको थियो । तर, यसपछि इरानले पुनः पाँच अंक जोड्दै स्कोर १५–१४ मा ल्याएपछि नेपालका प्रशिक्षकले दोस्रो पटक टाइमआउट प्रयोग गरे ।

स्कोर २१–२१ हुँदा इरानी टिमले टाइमआउट लियो । यो टाइमआउटपछि नेपालले दुई अंक जोड्दा इरानले चार अंक जोड्दै सेट आफ्नो पक्षमा राखेको थियो ।

तेस्रो सेटमा नेपालले सर्भिस गल्तीबाट एक अंक इरानलाई दियो । नेपालकी सुमित्रा तेस्रो सेटमा सर्भिस ‘मिस्टेक’ गर्ने एकमात्र खेलाडी बनिन् । यो सेटमा इरानबाट नेपालले भने सर्भिस ‘मिस्टेक’बाट चार अंक पाएको थियो ।

चौथो सेट नेपालले २५–१५ ले सहजै जितेपछि खेल पाँचौँ सेटसम्म लम्बिएको हो । यो सेटमा दुई पटक टाइमआउट लिँदै नेपालको लय तोड्ने रणनीतिमा इरान सफल बन्न सकेन । इरानले स्कोर १–३ हुँदा पहिलोपटक र ११–१७ हुँदा दोस्रोपटक टाइमआउट लिएको थियो ।

Nepal-vs-Nepal-(14)-1722781319.jpg
 

चौथो सेटमा इरानी टिमको सर्भिस खेलभरकै सबैभन्दा धेरै रह्यो । यो सेटमा इरानबाट नेपालले सर्भिस ‘मिस्टेक’ हुँदा पाँच अंक पाएको थियो । सोही गल्तीबाट नेपालले भने एक अंकमात्र इरानी टिमलाई दियो । साफिया पुन मगर चौथो सेटमा सर्भिस ‘मिस्टेक’ गर्ने नेपालकी एकमात्र सर्भर बनिन् ।

सबैभन्दा रोमाञ्चक बनेको पाँचौँ सेटको पहिलो अंक पनि इरानले नै जोड्यो । सुरुआतमा नेपालले ४–२ को अग्रता बनाए पनि यसपछि इरानले लगातार तीन अंक जोड्दै स्कोर ५–४ मा पुर्‍याएपछि नेपालले पहिलोपटक टाइमआउट लियो । 

यसपछि स्कोर इरानले ७–५ को स्थितिमा राख्दा नेपाली टिमका प्रशिक्षक भट्टले दोस्रो पटक टाइमआउटको प्रयोग गरे । यसपछि नेपालले यो सेटभर इरानी टिमविरुद्ध अग्रता बनाउन सकेन ।

अन्तिम सेटमा १२–९ ले अघि रहँदा इरानले पहिलो टाइमआउट लियो । यसपछि नेपालले पुनः लगातार दुई अंक जोड्दै स्कोर १२–११ को स्थितिमा ल्याएपछि इरानी टिमले दोस्रो पटक टाइमआउट लिएको थियो ।

Nepal-vs-Nepal-(13)-1722781317.jpg
 

स्कोर इरानतर्फ १२–११ हुँदा कप्तान अरूणा शाहीबाट सर्भिसमा भएको ‘मिस्टेक’ नेपाली टिमलाई सबैभन्दा महँगो बन्यो । यो सेटमा इरानी टिम १५–१३ ले विजयी भएपछि प्रतियोगितामा नेपालको अपराजित यात्रामा पूर्णविराम लाग्यो ।

खेलभर नेपालले सर्भिस ‘मिस्टेक’बाट नौ अंक गुमायो । जसमा सुमित्रा सबैभन्दा सर्भिस ‘मिस्टेक’ गर्ने खेलाडी रहिन् । उनले चार अंक सर्भिसबाट गुमाइन् । यस्तै, निरुताले दुई अंक सर्भिसबाट गुमाइन् । कप्तान अरूणा, सरस्वती र सोफियाले समान एक अंक सर्भिसबाट गुमाए ।

“रणनीतिअनुसार खेललाई अघि लैजान सकिएन । पहिलो सेटमा रिसिभ मिस्टेक हुँदा टिमलाई लयमा फर्किनै गाह्रो भयो । सेकेन्ड सेटमा राम्रो कमब्याक गरेका थियौँ । तर, त्यसलाई निरन्तरता दिन नसक्दा हार्न पुग्यौँ,” खेलपछि नेपाली टिमकी कप्तान अरूणाको प्रतिक्रिया थियो, “आजको हार नतिजाको कारण सेमिफाइनलमा सम्भवतः हामी इरानसँग नै खेल्नेछौँ होला । त्यस खेलमा भने आज देखिएका कमजोरी सुधारेर आउने छौँ ।”

नेपालले अघिल्लो दिनमात्रै भारतलाई ३–२ को सेटमा हराएर इतिहास बनाएको थियो । नेपाली भलिबलको इतिहासमा यो नै भारतविरुद्धको पहिलो र अहिलेसम्मको एकमात्र जित हो ।

नेपाली टिमका प्रशिक्षक भट्टले भने भारतसँग पाँच सेटको खेल हुँदा खेलाडीमाथि शारीरिक दबाब थपिएको बताए ।

“भारतसँग पाँच सेटमा खेल जित्दा आजको खेलका लागि खेलाडीमा ओभरलोड भयो । भारतलाई जितेपछि लिग चरणको च्याम्पियन बन्ने लक्ष्य थियो । हाम्रो यो पहिलो हार हो । यसैकारण लिगको म्याच हाम्रो लागि खासै महत्त्व राख्दैन । अब सेमिफाइनलको तयारी गर्न अघि बढ्छौँ,” खेलपछि प्रशिक्षक भट्टले भने, “डिफेन्समा कमजोर नै भयौँ । भनेको ठाउँमा सर्भिस पनि हान्न सकेनौँ । तेस्रो सेटमा कमब्याक गर्न नसक्नु नै हाम्रो हार भयो ।”

Nepal-vs-Nepal-(15)-1722781319.jpg
नेपालमाथि जित निकालेसँगै चार खेलबाट सात अंक जोडेको इरान तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । तीन खेलबाट ६  अंक जोडेको नेपाल तालिकाको तेस्रो स्थानमा छ ।

तालिकाको दोस्रो स्थानमा भारत छ । भारतले तीन खेलबाट सात अंक जोडेको छ । समान खेलबाट चार अंक जोडेको श्रीलंका तालिकाको चौथो स्थानमा छ ।

पुछारको माल्दिभ्स प्रतियोगितामा अझैसम्म जितविहीन छ । नेपालले अब भोलि (सोमबार) लिग चरणको अन्तिम खेलमा माल्दिभ्सविरुद्ध खेल्ने तालिका छ । यस्तै, अन्तिम खेलमा भारतले श्रीलंकाविरुद्ध खेल्ने तालिका छ ।

तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  २१:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro