site stats
बाह्रखरी :: Baahrakhari
देश
लुम्बिनीलाई खतराको सूचीमा नराख्ने पक्षमा उभिए १९ राष्ट्र

काठमाडौं । बुद्धजन्मस्थल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव सर्वम्मतिले अस्वीकृत भएको छ । भारतको नयाँ दिल्लीमा जुलाई २१ देखि जारी विश्व सम्पदा समिति (युनेस्को वर्ल्ड हेरिटेज कमिटी)को ४६औँ सेसनअन्तर्गत बिहीबार मस्यौदामाथि छलफल गरी लुम्बिनीलाई खतराको सूचीमा नराख्ने निर्णय भएको हो । 

नेपालको तर्फबाट लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा, मन्त्रालयको तर्फबाट सचिव डा. गणेशप्रसाद पाण्डेय सहितको टोली ४६औँ सेसनमा सहभागी हुन नयाँ दिल्ली पुगेको थियो ।

Argakhachi Cement Island Ad

वर्ल्ड हेरिटेज कमिटीका २१ देशमध्ये भारतसहित १९ देशका प्रतिनिधि लुम्बिनी विश्वकै अनुपम महत्त्वको स्थल भएकाले नेपाललाई सुधारका लागि समय दिनुपर्ने तर खतराको सूचीमा राख्न नहुने बताएका थिए ।

बैठकमा लुम्बिनीलाई खतराको सूचीको मस्यौदामा भारतले संशोधन प्रस्ताव राखेको र संशोधन प्रस्तावको पक्षमा २१ मध्ये १९ राष्ट्रहरू उभिएको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए ।

युनेस्कोले विगतदेखि नै लुम्बिनीमा सम्पदा संरक्षणविपरीतका गतिविधि र पूर्वारधार निर्माण भएको भन्दै खतराको सूचीमा राख्ने भन्दै २००२ देखि चेतावनी  दिँदै आएको थियो । सन् २०२२ मा पत्र नै पठाएर सचेत गराइएको थियो ।

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  १९:४६
प्रतिक्रिया दिनुहोस्