काठमाडौं । अबका तीन दिन देशका केही नदीमा जलसतह उल्लेख्य बढ्ने अनुमान छ । नारायणी, कर्णाली र यसका प्रमुख सहायक नदीहरू, बबई तथा पश्चिम राप्ती नदीको जलसतह उल्लेख्य बढ्ने बाढी पूर्वानुमान महाशाखाले अनुमान गरेको छ ।
त्यस्तै, महाकाली र पश्चिम सेती नदीको जलसतह सतर्कता तहभन्दा तलै रहे पनि उल्लेख्य बढ्ने पूर्वानुमान गरिएको छ । नदी तटीय क्षेत्रका क्रियाकलापमा उच्च सावधानी अपनाउन अनुरोध गरिएको छ ।
आज सिन्धुपाल्चोक, दोलखा, बाजुरा, अछाम, डोटी, डडेल्धुरा, बैतडी, दर्चुला, इलाम, झापा, संखुवासभा, सोलुखुम्बु, गोरखा, लमजुङ, कास्की, पर्वत, स्याङ्जा, बझाङ, रुकुम पश्चिम, रुकुम पूर्व, सुर्खेत र आसपासका जिल्ला भई बहने अधिकांश स–साना नदीमा बहाव बढ्ने तथा केही स–साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम रहने पूर्वानुमान गरिएको महाशाखाले जनाएको छ । यी स्थानमा उच्च सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।