site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
एन्जल डी मारिया : मेसीका सहायक पात्र कि अर्जेन्टिनाका मुख्य ‘नायक’ 

काठमाडौं । कोपा अमेरिका–२०२४ फाइनल खेलको ११७औँ मिनेट, अमेरिकाको हार्ड रक रंगशालामा हजारौँ अर्जेन्टिनी समर्थकको आवाज चर्को थियो । तर, त्यसबेला अर्जेन्टिनाले गोल गरेको भने थिएन । 

मैदानबाहिर रहेका सहायक रेफ्रीले खेलाडी परिवर्तनका निम्ति जर्सी नम्बर इंकित ‘बोर्ड’ उठाए । त्यसमा रातो अक्षरमा ११ नम्बर जर्सी पनि थियो । अन्जल डी मारिया विस्तारै टचलाइनतर्फ अघि बढे । त्यसबेला उनको दुवै हात माथि उठेको थियो । धन्यवादको इसारासहित । यो राष्ट्रिय टिममा डी मारियाको अन्तिमका केही सेकेन्ड थिए ।

सेतो र निलो रंगको जर्सीमा डी मारिया सधैँ आशाका केन्द्र रहे । एक यस्ता व्यक्ति जसलाई सधैँ सहायक पात्रको रूपमा चित्रित गरिन्थ्यो । तर, वास्तवमा डी मारियको जन्म नै चर्चाको केन्द्रमा भएको थियो । 

Dabur Nepal
NIC Asia

451088679_7300632420036683_2872013078013510260_n-1721125855.jpg
 

एक सकारात्मक सुरुआत
अर्जेन्टिना र डी मारियाले सन् २००७ देखि सहयात्रा सुरु गरेका हुन् । त्यसबेला डी मारिया दक्षिण अमेरिकी यू–२० च्याम्पियनसिपका निम्ति अर्जेन्टिनी टिममा छनोट भएका थिए ।

उनले युवा अवस्थामै सफलता चुमे । उनले २००७ मा भएको यू–२० विश्वकप जिते । लगत्तै चीनको बेइजिङमा २००८ मा भएको ओलम्पिकमा फुटबलतर्फ स्वर्ण जिते । नाइजेरियाविरुद्धको फाइनलमा अर्जेन्टिनाबाट निर्णायक गोल डी मारियाकै थिए । 

354779037_1340896113156985_3046663166011764248_n-1721125854.jpg
 

डी मारियाले सिनियर राष्ट्रिय टिमबाट भने उमेरसमूह जस्तै सहजै सफलता पाउन सकेनन् । सन् २०१० को विश्वकपमा जर्मनीसँग ४–० को लज्जास्पद हार बेहोर्दै अर्जेन्टिना बाहिरिएको थियो । २०११ मा भएको कोपा अमेरिका पनि अर्जेन्टिना र डी मारियालाई स्मरणयोग्य बनेन । 

२०१४ मा डी मारियासँग राष्ट्रिय टिमबाट उपाधि जित्ने सुनौलो अवसर थियो । तर, ब्राजिलमा भएको विश्वकप फाइनलमा जर्मनीसँग १–० ले पराजित भएपछि अर्जेन्टिना उपविजेतामै सीमित रह्यो । प्रतियोगिताको क्वार्टरफाइनलमा बेल्जियमविरुद्ध घाइते भएका डी मारियाले सेमी र फाइनल गुमाए । फाइनलमा डी मारियासँग मारिया गोट्जेले गरेको निर्णायक गोल टचलाइन बाहिरबाट हेर्नुबाहेक अर्को विकल्प थिएन ।

२०१५ र २०१६ मा आयोजित कोपा अमेरिकामा पनि डी मारियाको कथा विश्वकप जस्तै रह्यो । दुवै संस्करणको फाइनलमा चिलीसँग पराजित हुँदा डी मारियाले टिमको हार टचलाइन बाहिरबाट नियालेका थिए । 

२०१८ को विश्वकपमा पनि अर्जेन्टिनाको लयविहीन प्रदर्शन कायम रह्यो । रुसमा भएको विश्वकपमा उक्त संस्करणमा अर्जेन्टिना र डी मारियाले अन्तिम–१६ पार गर्न सकेनन् ।

451091006_997719118349579_5190398509297081161_n-1721125855.jpg
 

सिनियर टिमबाट विश्वकपको उपाधि जित्ने धोको बाँकी नै रहे पनि उमेरले भने डी मारियाको साथ छोड्दै थियो ।

पुनरागमन
२०१८ मा अर्जेन्टिनी एफएले प्रशिक्षकमा लियोनल स्कालोनीलाई नियुक्त गरेपछि भने अर्जेन्टिनाको फुटबलले पछि फर्केर हेर्नु परेको छैन । स्कालोनी नियुक्ति भएपछि डी मारिया र लियोनल मेसीजस्ता सिनियर खेलाडीलाई २०२१ को कोपा अमेरिका र २०२२ को फिफा विश्वकप जित्ने अवसर थियो । 

२०२१ मा आयोजित कोपा अमेरिका साविक विजेता ब्राजिलको भूमिमा हुँदै थियो । अर्जेन्टिनाले प्रतियोगिताको फाइनलसम्मको यात्रा तय गर्दा अन्तिम–४ मा कोलम्बियाको चुनौती पन्छायो । तर, फाइनलमा साविक विजेताविरुद्ध उसैको मैदान हराउनु अर्जेन्टिनाका निम्ति ‘फलामको च्युरा’ भन्दा कम थिएन । 

तर, उनै डी मारिया फाइनलमा अर्जेन्टिनाको ‘संकटमोचक’ बने । साविक विजेताविरुद्ध पेनाल्टी बक्सभित्रबाट उत्कृष्ट गोल गरेपछि अर्जेन्टिना च्याम्पिनय बन्यो । यो अर्जेन्टिनाले २८ वर्षपछि जितेको पहिलो अन्तर्राष्ट्रिय उपाधि थियो ।

राष्ट्रिय टिमबाट पहिलो उपाधि जितेपछि पनि अर्जेन्टिनालाई सबैभन्दा चाहिएको बेला डी मारिया अघि हुन्थे । कोपाको उपाधिपछि अर्जेन्टिनाले फाइनालिसिमामा तत्कालीन युरो विजेता इटालीविरुद्ध वेम्बलीमा ३–० को सहज जित दर्ता गर्‍यो । यसमा पनि डी मारियाले दुई गोल गरे । 

334310292_875518123546699_3038570107427896376_n-1721125854.jpg
 

२०१४ मा फाइनल पुगे पनि डी मारियाले त्यस खेलको अनुभव गर्न पाएनन् । तर, २०२२ मा भने उनले फाइनलमा साविक विजेता फ्रान्सविरुद्ध उत्कृष्ट गोल गरे । यो अर्जेन्टिनाबाट डी मारियाले विश्वकप फाइनलमा गरेको पहिलो गोल थियो । कतारमा आयोजित उक्त फाइनल पेनाल्टी सुटआउटमा जित्दा अर्जेन्टिना ३६ वर्षपछि विश्वकप च्याम्पियन बन्यो ।

यो उपाधिपछि अर्जेन्टिनाबाट मेसीसँगै डी मारियाले पनि महान् खेलाडी बन्न आवश्यक फुटबलका सबै उपाधि जिते । 

डी मारियाले विश्वकपपछि नै सन्न्यासको संकेत गरेका थिए । तर, कप्तान मेसीले व्यक्तिगत आग्रह गरेपछि उनले आफूलाई २०२४ को कोपा अमेरिकासम्म उपलब्ध राखे । सोमबार अर्जेन्टिनाले कोलम्बियालाई हराउँदै कोपा अमेरिकाको उपाधि जितेपछि डी मारियाले च्याम्पियन रहँदै अन्तर्राष्ट्रिय फुटबलबाट बुट झुन्ड्याउने निर्णय लिए ।

“डी मारियाले केही उत्कृष्ट खेलहरू खेलेका छन् । तर, आज उनको सबैभन्दा उत्कृष्टमध्येको थियो । थकाइले खुट्टा नचल्ने हुँदा पनि दबाब दिनुपर्छ भन्ने मानसिकता उसमा देखिन्छ र २५ वर्षीय युवा खेलाडीजस्तै दौडिन्छन्,” फाइनलपछि प्रशिक्षक स्कालोनीले डी मारियाको यसरी तारिफ गरे । 

“मैलै यस्तै सपना बोकेको थिए । मैले यसरी नै सन्न्यास लिन्छु भन्ने सोचेको थिए,” कोपा अमेरिकाको उपाधिपछि डी मारियाले भने ।

448921107_1009032950934896_2554894092447175266_n-1721125855.jpg
 

डी मारियाले कोपा अमेरिका–२०२४ सँगै सन्न्यास लिने घोषणा गरे पनि समर्थकले अन्तिम पटक उनलाई अर्जेन्टिनाको सेतो र निलो जर्सीमा देख्न सक्ने सम्भावना कायमै छ ।

“उनी महान् खेलाडी हुन् । डी मारियालाई टिममा बस्न कसैगरी पनि सहमत गराउन सकिँदैन । तर, एक अन्तिम खेल खेल्दै समर्थकबाट बिदा हुन डी मारिया योग्य छन् । जसरी उनले करियरको अन्त्य गरे, यो कुनै चलचित्रभन्दा कम छैन,” प्रशिक्षक स्कालोनीले भने ।

अर्जेन्टिनाबाट डी मारियाको चलचित्र समाप्त भइसकेको छ । तर, स्कालोनीले भनेजस्तै अझै सेतो र निलो जर्सीमा डी मारियालाई देख्न पाउँछन् त समर्थकले ? यसको जवाफ भने आउने समयले नै दिनेछ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  १६:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro