site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
परिसंघ र बेलायती राजदूतबीच द्विपक्षीय आर्थिक सम्बन्धबारे छलफल

काठमाडौं । नेपाल उद्योग परिसंघ र नेपालका लागि बेलायती राजदूत रब फेनबीच द्विपक्षीय व्यवसाय तथा आर्थिक सम्बन्ध अभिवृद्धि गर्ने विषयमा छलफल भएको छ।

परिसंघ सचिवालयमा भएको छलफलमा परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले बेलायती दूतावासले नेपालमा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यले 'नेपाल इन बिजनेस'लगायत नयाँ कार्यक्रमहरू सुरु गरेकोमा धन्यवाद दिए । यसबाट नेपालले महत्त्वपूर्ण उपलब्धि हासिल गर्ने उनले विश्वास व्यक्त गरे ।

Argakhachi Cement Island Ad

परिसंघले सरकारसँगको सहकार्यमा ‘मेक इन नेपाल स्वदेशी’ अभियान सञ्चालन गरिरहेको जानकारी दिँदै उनले बेलायती दूतावाससँग सहकार्यका लागि परिसंघ तयार रहेको बताए ।

अध्यक्ष अग्रवालले बेलायतसँग नेपालको अन्तर्राष्ट्रिय व्यापार घाटामा रहेको उल्लेख गर्दै नेपाली वस्तुहरूलाई बेलायती बजारमा प्रतिस्पर्धा गर्न आवश्यक सहयोग गर्न राजदूतलाई आग्रह गरे । उनले नेपालको पूर्वाधार, विद्युत् तथा नवीकरणीय ऊर्जा, सूचना प्रविधिलगायतका क्षेत्रमा बेलायती लगानीकर्ता भित्र्याउन भूमिका खेल्न आग्रह पनि गरे । उनले बेलायतसँग दोहोरो कर उन्मुक्ति सम्झौतामा जोड दिए ।

छलफलमा राजदूत फेनले नेपालमा आर्थिक गतिविधिहरू सञ्चालन गर्न, रोजगारीका अवसरहरू सिर्जना गर्न र दुई देशबीचको नवप्रवर्तन र प्रविधि हस्तान्तरणलाई प्रोत्साहन गर्न बिजुली उत्पादन, ऊर्जा, प्रविधि, पर्यटन र कृषि व्यवसाय क्षेत्रलाई प्राथमिकतामा राखेको बताए । 

प्रकाशित मिति: बुधबार, असार १२, २०८१  २३:२७
प्रतिक्रिया दिनुहोस्