काठमाडौं । कोभिड–१९ को महामारीमा आमनागरिक ढोका थुनेर घरभित्र रहे । जनावर बाहिर एक्लै । नागरिकले त जसोतासो गुजारा चलाएका थिए, जनावर सडकमा भोकभोकै भए ।
जनावर न खानाको जोहो आफैँ गर्न सक्छन् न कसैले दिन्छ । त्यही बेला घाइते भए, बिरामी परे अवस्था कस्तो होला ? यसबारे इरफान खानलाई जति थाहा छ, अरूलाई सायदै होला ।
कसरी ?
इरफान उमेरले २४औँ वसन्तमा हिँड्दै छन् । कोरोनाको संकटमा २० थियो उनको उमेर । पढ्दै थिए सोसलवर्क । काठमाडौं लकडाउनमा थियो । मान्छे घरभित्र थिए । जनावर बाहिर । जनावरले केही खान पाइरहेका थिएनन् । कसैले गाडीले ठक्कर दिए उद्धार गर्ने थिएनन् । उद्धार गरिहाले उपचार गर्ने अस्पताल खुला थिएनन् ।
इरफानलाई लाग्यो– पीडा पाए जनावरले, मैले नगरे कसले गर्छ यिनीहरूलाई सहयोग ? त्यसपछि उनी निस्कए सडकमा । साथ दिन थाले अलपत्र परेका जनावरलाई । कुकुर होस् वा बिरालो, गाईबाच्छा हुन् वा बाँदर – जो दुःखमा, बिरामी, घाइते छ उसको उद्धार र उपचार गर्न थाले ।
पहिलो केस : लकडाउन थियो । अत्यावश्यक सेवाका केही सवारी चल्थे । तीमध्ये कुनै गाडीले ललितपुर, लगनखेलमा एउटा कुकुरलाई ठक्कर दियो । कुकुरको शरीरमा चोट लाग्यो । घाउ सानो भए पनि रगत थियो । रगत आएपछि झिँगा बसे । झिँगा बसेपछि फोहोर भयो । फोहोर घाउमा किरा प¥यो । घाउ फैलिएर ठूलो हुन थाल्यो ।
घाइते कुकुरको घाउ पोलिरहेको थियो । इरफानको मन, उद्धार गरेर घरमा ल्याए । घाउ सफा गरे । आफूले जानेको औषधि गरे । दिनदिनै घाउ खाटा बस्दै गयो । एक हप्तामा त घाउ पूरै निको भयो । कुकुर घाउ निको भएर पुरानै लयमा फर्कियो । इरफानको मनबलको पारो चढ्यो ।
कुकुरको उद्धार र उपचार सम्भव भयो, अरूको पनि त होला ! अरू घरभित्र रहेका बेला इरफान निस्किए सडकमा । भोका जनावरलाई खान दिए । घाइते र बिरामीको उपचार गरे ।
सोसलवर्कको विद्यार्थी भेटेनरीको ज्ञान हुने कुरा भएन । गुगल गर्थे, कसरी उपचार गर्ने भनेर युट्युबका भिडियो हेर्थे । पशु उपचार गर्ने चिकित्सकसँग सल्लाह माग्थे । जसरी हुन्छ उपचार गर्थे ।
उद्धार र उपचार गर्दै जाँदा उनलाई लाग्यो– कतिन्जेल गुगल गर्ने, कहिलेसम्म युट्युबका भिडियो हेर्ने ? हुन पनि हो, काखमा चहर्याइरहेको गहिरो घाउका बिरामी, कसरी उपचार गर्ने भनेर गुगल गर्नुपर्छ ।
इरफानले गरे भेटेनरी ज्वाइन । लामो कोर्स गर्दा सडकका जनवारसँगको सामीप्य टुट्थ्यो । उनीहरूको सेवा छुट्थ्यो । त्यसैले १८ महिनाको भेटेनरी कोर्स ज्वाइन गरे ।
काठमाडौंको मान्छे, कर्णाली पुगे । सल्यानको आरती टेक्निकल इन्स्ट्च्यिुटमा १८ महिनाको भेटेनरी कोर्स पढे ।
अलि अगाडि फर्किए इरफान । पाटनढोकाबाट उनलाई कसैले खबर गरेर भने– यहाँ एउटा कुकुर अलपत्र छ, खोरमा रोइरहेको छ । खबर गरेको ठाउँ पुग्दा पिँजडाजस्तो खोरमा कुकुर थियो ।
गोरखा भूकम्प (०७२ वैशाख १२) ले देश तहसनहस बनायो । आत्तिएको एउटा परिवार आफैँले पालेको कुकुर खोरमै छोडेर अस्टे«लिया लाग्यो । त्यो परिवारले सँगैको होटेल सञ्चालकलाई खान दिन भनेको रहेछ ।
त्यसको सात वर्षपछि इरफान कुकुरको खोरमा पुग्दा थाहा पाए, होटेल साहुले कुटपिट गरेर खोरमा राखेको, राम्रोसँग खान नदिएको । “सुरुमा त मैले उद्धार गर्छु भन्दा साहुले मानेका थिएनन् । जबरजस्ती गरे । तर, मैले पुलिस केस लाग्न सक्छ भनेपछि उनी डराए,” इरफान भन्छन्, “मैले उद्धार गर्दा कुकुरको शरीरभर चोटैचोट थियो । सात वर्षदेखि खोरभित्रै तड्पिरहेको थियो ।”
पिँजडारूपी खोरबाट बाहिर निकालेर इरफानले उपचार गरे । घरमा पालेको कुकुर थियो, बडो मायालु । उनले कसैले एडप्ट गर्न चाहे उपलब्ध गराउने सूचना फेसबुकमा राखे । क्यानडाको एउटा परिवार निस्कियो, एडप्ट गर्ने । सात वर्ष पिँजडाजस्तो खोरमा थुनिएको कुकुरले समुद्रपारको यात्रा तय ग¥यो । इरफानले आजसम्म पनि भुल्न सकेका छैनन्, त्यो अबला कुकुरको मुक्ति र सफलताको यात्रा ।
० ० ०
कलंकीको घटना पनि इरफानको मानसपटलबाट ओझेल परेको छैन । परोस् पनि कसरी, घटनै त्यस्तै थियो ।
कस्तो ?
करिब डेढ वर्षअघि सडक पार गर्दै गरेको कुकुरलाई गाडीले हान्यो । कुकुरका दुवै आँखा बाहिर निस्किए । “जब म फिल्डमा पुगेँ, कुकुरका आँखा बाहिर निस्किएका थिए । आँखाबाट रगत बगिरहेको थियो,” इरफान भन्छन्, “जब म यसको छेउमा पुगेर बसेँ, उसले पुच्छर हल्लाएर मलाई माया गरेजस्तो ग¥यो । त्यो बेला मैले महसुस गरेँ, जनावर त बोल्न नसक्ने मात्र रहेछ, हामीजस्ते भावनात्मक हुनेरहेछन् ।”
बाटोमा उपचार गर्न सम्भव थिएन । बोकेर अस्पताल पुर्याए । तर, आँखा बाहिर निस्किएकाले उपचार सम्भव भएन । चिकित्सकले निकालेर फ्याँके, आँखा नदेख्ने भयो ।
आँखा नदेख्ने भए पनि बाँच्यो । इरफानले श्रीज एनिमल रेस्क्यु नेपाल, गोकर्ण सेल्टरमा लगेर राखे । “अहिले उसले आँखा देख्दैन । तर, सुँघेर मान्छे चिन्छ,” इरफान भन्छन्, “म गएँ भने मलाई पनि चिन्छ, पुच्छर हल्लाउँदै मायालाग्दो तरिकाले आउँछ ।”
मृत्युको मुखबाट बचाएर जीवन दिए । आफूले जीवन दिएको जनवारले नदेखे पनि चिनेर लुटपुटिँदै आउँदा इरफानको मन कटक्क खान्छ । भावुक हुन्छन् ।
० ० ०
इलाममा कुकुरलाई यातना दिएको भिडियो सार्वजनिक भयो । इरफानलाई खबर नपुग्ने कुरै भएन । ‘लौन के गर्ने ?’ उनीसँग गुहार माग्ने धेरै भए ।
प्रहरीलाई खबर गरे, सहयोग पाएनन् । इरफान आफैँले कुकुर मार्नेको परिवार पत्ता लगाए । नम्बर लिए । कुन स्कुलमा पढ्थे ती व्यक्ति, सोधखोज गरे । शिक्षकको नम्बर लिएर कुरा गरे । स्थानीयसँग सहयोग मागे ।
इरफान काठमाडौंवासी । घटना थियो इलामको । प्रहरीमा केस गर्न स्थानीयले जाहेरी दिनुपर्थ्यो । उनले जाहेरीका निम्ति आग्रह गरे । स्थानीयले प्रहरीकामा गएर जाहेरी दिन खोजे पनि । इरफानका अनुसार, प्रहरीले ‘आफ्नै ठाउँको घटना हो, भोलि यही ठाउँमा बस्नुपर्छ’ भन्दै उल्टै डर देखायो । प्रहरीको कुरा सुनेर स्थानीय पछि हटे ।
इरफान काठमाडौंको साइबर ब्युरो पुगे । ब्युरोले रेस्पोन्स गर्यो । उनी स्वयंले जिल्ला प्रहरी कार्यालय इलाममा घटनाबारे जानकारी गराए । सांसदहरूसँग कुरा गरे । त्यसको भोलिपल्टै प्रहरीले आरोपितलाई पक्राउ ग¥यो । अहिले उनीहरू प्रहरी कस्टडीमा छन् । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।
० ० ०
इरफानले ‘संकल्प’ नामक टिम बनाउने प्रयास गरेका छन् । तर, एक्लै छन् । बिहान उठेर घरका केही काम गर्छन्, कहीँबाट फोन आए त्यतै दौडिन्छन् । होइन भने सम्भावित ठाउँतिर लाग्छन् । “काठमाडौं, भक्तपुर र ललितपुर तीनै जिल्ला एक्लैले भ्याउनुपर्छ,” उनी भन्छन्, “त्यसैले बिहान चाँडै घरबाट निस्किन्छु, घर फर्किने ठेगान हुँदैन ।”
० ० ०
इरफान चित्रकार हुन्, चित्र बनाउँछन् । चित्र बनाएर बेच्छन् । त्यसबाट आएको पैसा पशुकल्याणमा लगाउँछन् । “मेरो आम्दानीको स्रोत नै चित्रकला हो । चित्र बनाएर बेच्छु । कसैले मैले तोकेको मूल्यभन्दा पनि धेरै दिनुहुन्छ,” उनी अगाडि थप्छन्, “मैले गरेको काम थाहा पाएर कतिले दोब्बर मूल्य दिनुहुन्छ । यसबाट आएको सबै रकम म जनावरको उद्धार र उपचारमा लगाइरहेको छु ।”
यो काम गर्न उनको मुख्य स्रोत यही हो । यसबाहेक काम गर्न भ्याउँदैनन् । त्यसैले अरू आयस्रोत छैन ।
अहिलेसम्म कति पशुको उद्धार र उपचार गरे, इरफानसँग तथ्यांक छैन । यसमा कति खर्च गरे, लेखाजोखा पनि छैन । तर, उनी महिनाको एकदेखि डेढ लाख रुपैयाँ पशुकल्याणमा खर्च गरिरहेका छन् ।
“कुनै समय सेवामूलक काम भनेर डोनेट पनि गर्नुहुन्छ । तर, यसकै भर पर्नु हुँदैन भनेर म चित्र बनाएर बेच्छु,” उनी भन्छन्, “कुनै समय डोनेट नआउला, त्यस्तो समय जनावर उपचार नपाएर मर्ला । त्यस्तो अवस्था नआओस् र सधैँ निरन्तरता दिन सकियोस् भनेर चित्र बनाएर बेच्छु ।”
० ० ०
सबैले मानून् वा नमानून्, इरफानले गरेको काम सेवा नै हो । त्यही भएर र त हो कतिले डोनेट गरेको । कतिपयले तोकेको मूल्यको दोब्बर पैसा तिरेको ।
विडम्बना ! उनकै आफन्तले भने स्वीकार्न सकेनन् । इरफान मुस्लिम समुदायका व्यक्ति । मुस्लिम समुदायमा कुकुर, सुँगुर छुन हुँदैन भन्ने छ । उनी त्यही कुकुरको उपचार गर्दै हिँड्छन् । “सुरुसुरुमा मेरै कम्युनिटीको मान्छेहरू यसले कुकुर छुन्छ भनेर मसँग हात पनि मिलाउँदैन थिए,” उनी भन्छन्, “अरू मान्छेले मेरो कामको तारिफ गर्थे, तर आफन्तले हेला ।”
इरफानलाई हेर्ने उनीहरूका नजर परिवर्तन भइसकेको छ । तिनै पहिला कुकुर छुन्छ भनेर हात समेत नमिलाउनेहरू केही परे इरफानलाई बोलाइहाल्छन् ।
० ० ०
सायद सोसलवर्क इरफानको रगतमै थियो । अक्सर सन्तानको लक्जरीलाइफ चाहने अभिभावकले इरफानले सडकसडकमा ढलेका कुकुर, बाच्छा, बिराला र बाँदर उठाउँदै हिँड्दा त्यसमै गर्व ग¥यो । परिवारको साथले होला, यसअघि इरफानले सेनेटरी प्याड बनाएर महिलालाई वितरण गरेका थिए । परिवार पनि त्यसमै खुसी थियो ।
उनको यो अभियान सफल भयो । अभियान सफल भएको देखेर फ्रान्सका एक संस्थाका सञ्चालकले अफर गरे– तपाईं यहाँ आएर हाम्रो संस्था चलाउनुस् । तपार्ईंजस्तो व्यक्तिको हामीलाई खाँचो छ । तपाईं जति भन्नुहुन्छ त्यति पैसा पे गर्न तयार छौँ ।
“मैले नेपालमा भर्खर जनावरको काम सुरु गरेको थिएँ । मलाई त्यो बेला लाग्यो– म दुई/चार पैसा कम कमाउँला, तर नेपालकै जनावरका लागि काम गर्छु,” उनी भन्छन्, “त्यसैले मैले आउँदिनँ भन्दिएँ । मैले अहिले जे गरिरहेको छु, यसमा रिभोलुएसन नल्याएसम्म केही गर्दिनँ । कहीँ जाँदिनँ भनेर सबै अवसर त्यागेर बसेको हुँ ।”
० ० ०
इरफान सडकका बेसहाराका निम्ति जे जति गरिरहेका छन्, आफ्नै बलबुतामा गरिरहेका छन् । उनले आजसम्म कसैको मुख ताकेका छैनन्, आशा गरेका छैनन् । सरकारी निकायबाट पैसा, जग्गा, भवन उनको केही अपेक्षा छैन । पहल पनि गरेका छैनन् ।
तर, जनावरको हत्या र दुर्व्यवहार गर्नेमाथि पाँच हजार जरिवाना वा तीन महिनाको जेल सजायलाई राज्यले बढाइदिए हुन्थ्यो भन्ने उनलाई लाग्छ । यत्तिको सजायको व्यवस्थालाई गम्भीर रूपमा नलिइने र हत्या र पशुमाथिको दुर्व्यवहार झनै बढ्ने उनी बताउँछन् ।
“सजाय बढाउनुपर्छ । तर, त्यो नबढ्दासम्म अहिले भइरहेको कानुन पनि कडाइका साथ कार्यान्वयन गरे हुन्थ्यो भन्ने लाग्छ,” इरफान भन्छन्, “मेरो यति मात्रै कामना हो । जनावर पनि समाजको एउटा अंग हो भनेर बुझिदिए हुन्थ्यो भन्ने लाग्छ ।”
जनावरलाई दुःख दिन नहुनेमा उनी जोड दिन्छन् । जनावरलाई धेरैथोरै सहयोग गर्न सकिने उनको भनाइ छ ।
“सक्छौँ, जनावरलाई पनि माया गरौँ । सक्दैनौँ, दुःख पनि नदिऊँ । जनावरले के नै आशा गर्छ र ? एउटा बिस्कुट र एक मुठी पानी त हो,” अन्त्यमा इरफान भन्छन्, “सक्छौँ, यति गरौँ । सक्दैनौँ भने उनीहरूलाई उनीहरूको संसारमै रमाउन दिऊँ ।”