
काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा व्यावसायिक सिताके च्याउ खेती सुरु भएको छ । नगरपालिकालाई सिताके च्याउ खेतीको हब बनाउने उदेश्यसहित कागेश्वरी मनोहरा नगरपालिका–४, ब्रम्हखेलमा सिताके च्याउको व्यावसायिक खेती थालिएको नगरपालिकाले जनाएको छ ।
सिहंदेवी कृषि सहकारी संस्थाले चार रोपनी जग्गा भाडामा लिएर सिताके च्याउ खेती थालेको हो । नगरपालिकाले 'मेयरसँग उद्यमशीलता कार्यक्रम'अन्तर्गत च्याउ खेती गर्न चाहने सहकारी तथा कृषकलाई ५० प्रतिशत अनुदान दिने व्यवस्था गरेको छ । सोही अनुसार सिहंदेवी कृषि सहकारीले तीन टनेला निर्माणमा करिब सात लाख रुपैयाँ अनुदान पाएको छ ।
सिहंदेवीले तीनवटा टनेला निर्माण, एकहजार मुडा र अन्य प्राविधिक पक्षको व्यवस्थापनमा गरी करिब १५ लाखको लगानीमा च्याउ खेती सुरु गरेको हो ।
व्यावसायिक सिताके च्याउ खेतीबारे प्राविधिक पक्षको अवस्था बुझ्न आएका वरिष्ठ च्याउविज्ञ हरिशचन्द्र बास्तोलाले कागेश्वरी मनोहरा नगरपालिका सिताके च्याउ खेतीका लागि उपयुक्त क्षेत्र रहेको बताए ।
"सिताके च्याउ खेतीका लागि समुन्द्री सतहदेखि १४ सय मिटरदेखि दुईहजार मिटरसम्मको उचाइ उपयुक्त हुन्छ, यो क्षेत्र १४ सय मिटरको उचाइमा रहेकाले सिताके च्याउ खेतीका लागि उपयुक्त छ,” उनले भने ।